कमजोर परराष्ट्र नीति नै नेपालका लागि घातक
‘स्यालको शिकारमा जाने शिकारीले बाघको खजाना पनि बोकेर जानुपर्छ ।’

पछिल्लो समय नेपाल भारत सम्बन्ध जुन गतिले विकसित हुनुपर्ने थियो त्यो गतिले विकसित हुन सकिरहेको छैन । नेपाल सरकारको तर्फबाट बारम्बार कूटनीतिक नोटहरु पठाउँदा पनि भारतले बारम्बार अस्वीकार गर्दै आइरहेको छ । लामो समयदेखि रहँदै आएको संवादहीनता तोड्ने मनसायका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली गत माघमा परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन भारत भ्रमणमा गएका थिए । त्यहाँ लामो समयदेखि विवादमा रहँदै आएको नेपाल भारत सीमा विवादका विषयमा बहस हुने कार्यक्रम थियो तर भारतले यो विषयमा बहस नै गर्न चाहेन । त्यति मात्र होइन मन्त्री ज्ञवालीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाटका लागि समय मागेपनि मोदीले उनलाई समय नै दिएनन् ।
कारण थियो नेपालले गत जेठमा नेपाली भूभाग कालापानी, लिपुलेक, लिम्पियाधुरासहितको भूभाग समेटेर नक्सा जारी गर्नु । जब नेपालले आफ्नो भूभागसहितको नक्सा जारी गर्यो त्यसपछि नेपाल भारत सम्बन्धमा पहिलेभन्दा पनि निकै समस्या आउन थाल्यो । यद्यपि नेपालले यो विषय आफैंले नै पहिले गरेको भने होइन । भारतले सोही भूभाग आफ्नो नक्सामा अंकित गरेपछि नेपालले त्यसको प्रतिउत्तर फर्काएको थियो । त्यसयता नेपाल भारत सम्बन्धमा निरन्तर दरार पैदा हुँदै आएको छ ।
नेपालले चातुर्यतापूर्ण कूटनीति अबलम्बन गर्न नसकेको हो कि ?
भारतले नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको भूभागलाई लिएर नेपालसँग वार्ताका लागि आनाकानी गरिरहेको छ । नेपाल भारतबीच रहँदै आएको संवादहीनता सो भूभाग समेटेर नेपाली नक्सा जारी गरेपछि मात्र आएको होइन योभन्दा पहिले पनि नेपालले वार्ताका लागि पठाएका कूटनीतिक नोटहरु भारतले अस्वीकार गर्दै आइरहेको छ ।
लामो समयदेखि विवादमा रहँदै आएको नेपाल भारत सीमा विवादका विषयमा विशेष कुराकानी गर्ने हेतुले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत भ्रमणमा गएका थिए । तर सीमा विवादको विषयमा त के मन्त्री ज्ञवालीलाई समेत प्रधानमन्त्री मोदीले भेट्न मानेनन् । त्यसपछि नेपालको सीमा विवादबारे वार्ता गर्ने रणनीति पूरा हुन सकेन । मन्त्री ज्ञवाली बैठकमा मात्र सहभागी भएर स्वदेश फर्किए । परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोगको बैठकमा सहभागी भएका मन्त्री ज्ञवालीले यो कुरा सोही बैठकमा नै उठाउनुपर्ने थियो तर उनले यो कुरा त्यहाँ उठाएनन् । वरिष्ठ सीमाविद् बुद्धिनारायण श्रेष्ठका अनुसार नेपालले भारसँग विवादित सीमाका बारेमा वार्ता गरौगरौ भन्ने तर भारत पछिपछि गरौं भन्ने एउटै कारण छ भारतसँग कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा नेपालजस्तो यथेष्ट प्रमाण छैन । सो भूभागको लालपूर्जा नेपालको नाममा छ । यदि भारतसँग यो विषयमा प्रमाण बलियो भएको भए उसले नेपाललाई आउनुहोस् वार्ता गरौं भनेर प्रमाणसहित प्रस्तुत हुने थियो । तर उसँग त्यो प्रमाण छैन । यसको बलियो प्रमाण नेपालसँग भएकै कारणले पनि भारतले वार्ताको समय टारिरहेको श्रेष्ठ बताउँछन् ।
यति भनिरहँदा वार्ताका लागि भारतले चाहेअनुसार नेपालले गृहकार्य पनि गर्न नसकेको पो हो कि ? गृहकार्य अपुग भएकै कारण भारतले वार्ता अस्वीकार गर्दै आएको हो कि ? यो प्रश्न सबैको मानसपटलमा उठ्ने गरेको छ । तर त्यसो पटक्कै होइन । किनभने नेपालले वार्ताका लागि बारम्बार भारतलाई कुटनैतिक पत्रहरु लेखिरहेको छ । यी पत्रहरु भारतले यो या त्यो बहानामा अस्वीकार गर्दै आइरहेको देखिन्छ । कोरोना महामारीकै समयमा नेपाली भूमि अतिक्रमण गर्दै भारतले एकतर्फी रुपमा तिब्बतको कैलाश–मानसरोवरको सडक उद्घाटन गरेको थियो । यो भूमि नेपालको हो भन्ने आधार र प्रमाणहरु यथेष्ट रहेकै कारण नेपाल नरम भएको थियो । यो नितान्त रुपमा कुटनीतिक समस्या भएको हुनाले यसको समाधान पनि कुटनीतिक वार्ताबाटै गर्नुपर्छ भनेर नेपालले भारतलाई कुटनीतिक नोट लेख्यो तर त्यसको जवाफमा भारतले कोरोना महामारी मुख्य समस्या भएको भन्दै झारा टार्यो । सोही समयमा भने उसले चीन, अमेरिका लगायतका देशसँग विभिन्न वार्ताहरु गरेको थियो । यसरी हेर्दा एक छिमेकी देशले अर्को छिमेकी देशसँग राख्नुपर्ने कुटनीतिक सम्बन्ध र व्यवहारमा नेपालले कुनै कसर बाँकी नराखेको देखिन्छ ।
सगरमाथाप्रति भारतको बलजफ्ती दाबी
केही समयअघि भारतीय टेलिभिजन जी न्यूजमा प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमै बोलाएर अन्तर्वार्ता दिएका थिए । सो अन्तर्वार्ताबाट निकै राष्ट्रवादी कहलिएका ओलीको अन्तर्वार्ता लिएकै भरमा पत्रकार सुधीर चौधरी सगरमाथाको बेस क्याम्पमा पुगेर सगरमाथालाई अब भारतले पनि दाबी गर्नुपर्छ भन्दै उफ्रिन थाले । जबकि सगरमाथाको बेस क्याम्पसम्म पुग्न जोकोहीलाई पनि अनुमति चाहिन्छ । नेपालकै नागरिकलाई त्यहाँ पुग्न र त्यहाँ भिडियो खिच्दा शुल्क तिर्नुपर्ने हुन्छ । तर चौधरी बिना अनुमति सगरमाथाको बेस क्याम्पमा पुगे र खुलमखुल्ला सगरमाथाको नामाकरण राजनाथ सिकदर गर्नुपर्ने माग राखे । यो प्रसङ्ग क्रमश: चलेको देखिन्छ । किनभने प्रधानमन्त्री ओलीको अन्तर्वार्ता लिएर पत्रकार चौधरीले सगरमाथाको बेस क्याम्पसम्म पुग्ने बाटो पनि पहिल्याएका हुन कि ? अथवा प्रधानमन्त्री ओलीले नै सो बाटो खुल्ला गरिदिएका हुन ?
सीमाविद् श्रेष्ठका अनुसार सगरमाथाको बेस क्याम्पमा पुग्नुअघि चौधरीले प्रधानमन्त्रीसँग अनुमति लिएका हुन सक्छन् । यो आम जनतालाई शंका लागेको विषय हो । ‘सगरमाथामा पुग्न जोकोहीलाई पनि अनुमति चाहिन्छ । चाहे नेपाली नै किन नहुन् । तर भारतीय पत्रकार चौधरी कसरी सगरमाथाको बेस क्याम्पमा पुगे ?’, उनले भने, ‘उनले प्रधानमन्त्रीको अन्तर्वार्ता लिएको हुनाले यसमा प्रधानमन्त्री ओलीको पनि हात थियो कि भन्ने मलाई शंका छ । होइन भने उनी त्यसै त्यहाँसम्म पुग्न सक्ने अवस्था थिएन ।’
नेपालको कुटनीतिक गृहकार्य अनिवार्य छ
नेपालले भारतसँग वार्ताका लागि अझैं गृहकार्य गर्नुपर्ने देखिन्छ । भारत कुटनीतिक पत्रको माध्यमबाट वार्ता गर्न सक्षम देखिदैन । नेपालका राजनीतिक दलहरु भारतमा भ्रमणमा होस् या कुनै कार्यक्रममा जाँदा आफ्ना समकक्षीसँग भेटघाट हुन्छ । त्यही नै उनीहरुसँग सीमा विवादको कुरा उठाउने, उनीहरुसँग छलफल गर्ने गर्नुपर्ने हो तर त्यसो देखिएको छैन् । किनभने हामीले नै पूर्ण रुपमा गृहकार्य गरेका हुँदैनौ । भ्रमणमा जाँदा कुन एजेण्डा प्राथमिकतामा राख्ने र त्यसका लागि कुन कुरा आवश्यक छ त्यो कुराको अध्ययन, अनुसन्धान हाम्रो तर्फबाट बिरलै भएका छन् । त्यसैले पनि भारतले हामीलाई हेपेको देखिन्छ ।
श्रेष्ठका अनुसार हामी नेपालीहरु गृहकार्य गर्न निकै अल्छी छौं । यदि हामीले भारतसँग कुटनीतिक वार्ताका लागि राम्रोसँग अध्ययन, अनुसन्धान गरेको भए यतिबेलासम्म वार्ता भइसकेको हुन्थ्यो । त्यसका लागि हाम्रो गृहकार्य अपुग भएको छ । अझैं पनि समय छ कि भारतसँग वार्ताका लागि आवश्यक आधार र प्रमाणहरु संकलन गरेर गृहकार्य पुरा गर्ने हो भने यो सम्बन्ध अझैं प्रगाढ हुने देखिन्छ । हामीले त्यसपछि नेपाली भूभाग पनि आफ्नै मातहतमा ल्याउन सक्छौं ।
कुटनीतिक पहल नै अचुक औषधि
नेपालले भारतसँग थप सम्बन्ध सुधारका कुटनीतिक पहल नै थाल्नुपर्ने हुन्छ । जसका लागि नेपालको परराष्ट्र नीति मजबुद हुनु जरुरी छ । नेपालले कुटनीतिक पहल गर्दै जाने तर भारतले अनेकन बहानामा पछाडिबाट थिच्दै जाने हो भने त्यो सम्बन्ध सफल हुँदैन । यसमा दुवै देशको भूमिका उत्तिकै महत्वपूर्ण मानिन्छ । अब नेपालले बुद्धिमतापूर्ण र चाप्लुसीपूर्ण तरिकाले कुटनीतिक पहल थाल्दै जानुपर्ने र आफ्नो अस्तित्व जोगाउँदै जानुपर्ने देखिन्छ । नेपालको परराष्ट्र नीति मजबुद हुँदाहुँदै पनि भारत वार्ताको टेबलमा आएन भने नेपालले त्यसपछि अन्तर्राष्ट्रिय अभ्यास पनि अपनाउनुपर्ने हुन्छ ।
‘नेपालको परराष्ट्र नीतिले पनि केही नलागेको खण्डमा हामीले अन्तर्राष्ट्रिय अभ्यास पनि अपनाउनुपर्ने हुन्छ । नेपालसँग दौत्य सम्बन्ध भएका विभिन्न देशहरु छन् । ती देशहरुमार्फत भारतलाई दबाब सिर्जना गरेर दुई देश मिल्नुपर्ने हुन्छ । अन्तर्राष्ट्रिय स्तरमा दुबै देश समान हक, अधिकार प्राप्त भएका देश हुन भनेर वार्ताको परिपाटी गर्नुपर्ने देखिन्छ ।’ श्रेष्ठले भने ।
उनका अनुसार नेपालले अन्तर्राष्ट्रिय स्तरमा भारतसँग वार्ताका लागि दबाब सिर्जना गरेपछि भारत वार्तामा आउन करै लाग्छ ।
वार्ताबाट पनि समस्या समाधान भएन भने ?
त्यसका लागि हामीले मध्यस्थताकर्ता छान्न सक्छौं । जसलाई नेपालले मात्र होइन भारतले पनि स्वीकार गरेको हुनुपर्छ । यति गरेपछि सतहमा आएको विवाद केही मत्थर हुने देखिन्छ । त्यसपछि पनि वार्ता भएन भने हामीले संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्मा जान यो विषयलाई लिन सकिन्छ । त्यसमा पनि भएन भने अन्तिममा अन्तर्राष्ट्रिय अदालतमा पनि जान सकिन्छ । त्यसपछि हामीले हाम्रो भूभाग फिर्ता लिन सक्छौं । तर त्यहाँसम्म जाँदा समय लामो हुने देखिन्छ । त्यति मात्रै होइन पैसा पनि धेरै लाग्ने देखिन्छ, मेहनत लाग्ने देखिन्छ ।
त्यसपछि हामीले यो विषयमा विजय हाँसिल त गर्छौ तर कालो मुख भएको छिमेकीले जहिले पनि दुख दिने स्थिति रहन्छ । भारत पनि त्यही स्थितिमा छ । अब सीमा विवाद समाधानका लागि हामीले वैकल्पिक उपाय अपनाउनु पर्ने देखिन्छ । श्रेष्ठका अनुसार भारतले पहिलो विकल्प मानेन भने हामीले दोस्रो विकल्प दिनुपर्छ, उसले दोस्रो विकल्प मानेन भने हामीले तेस्रो विकल्प दिनुपर्छ । यदि भारतले यी सबै विकल्पमा जवाफ दियो भने त्यसको काउण्टर जवाफ हामीले दिन सक्नुपर्छ । जसका लागि तयारी अनिवार्य छ । ‘स्यालको शिकारमा जाने शिकारीले बाघको खजाना पनि बोकेर जानुपर्छ ।’ स्यालको शिकार गर्न जाँदाखेरि बाघ आयो भने बाघलाई पनि ठेगान लगाउन हतियार त उठाउनु अनिवार्य हुन्छ । त्यसपछि दुवै देशमा सौहार्दपूर्ण वातावरणमा नेपाल भारत सम्बन्ध सदा सर्वदा प्रगाढ हुने देखिन्छ ।

महतारा जीएनएन नेपालका संवाददाता हुन् ।
प्रतिक्रिया दिनुहोस्