नेपालले २०७७ साल जेठ ७ गते कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपाली भूभागसहितको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेपछि नेपाल भारत सम्बन्ध थप बिग्रिदै गएको छ । विगतका दिनदेखि नै नेपाली भूमि अतिक्रमण गरेको भारत अहिलेसम्म पनि ब्याक हुन सकेको छैन् । नेपालले यो विवाद समाधानका लागि बारम्बार कूटनीतिक नोटहरु लेख्दापनि उसले अस्वीकार गर्दै आएको देखिन्छ । जबकि सो भूभाग नेपालकै हो र भूभागको लालपूर्जा नेपालको नाममा छ भन्ने तथ्य र प्रमाणहरु हुँदाहुँदै पनि उसले यो कुरा स्वीकार गर्न सकेको छैन् । आखिर भारतले यस्तो किन गरिरहेको छ ? यो सम्बन्धमा दरार आउनुमा नेपालकै मात्र हात छ ? लगायतका विषयमा वरिष्ठ सीमाविद् बुद्धिनारायण श्रेष्ठसँग गरिएको कुराकानी:

यो पनि:

कमजोर परराष्ट्र नीति नै नेपालका लागि घातक

पछिल्लो समय नेपाल भारतबीचको सम्बन्धमा देखिएको समस्या अहिलेको मात्रै हो कि योभन्दा पहिले पनि यस्तै अवस्था थियो ?

त्यसपछि भारतले २०७२ सालमा नेपालमा नाकाबन्दी लगायो । नाकाबन्दी पश्चात् नेपाल भारत सम्बन्ध बम्पिङ गरेर तलतिर आयो । करिब ४ महिना ९ दिनसम्म भारतले नेपालमा नाकाबन्दी गरेपछि नेपाली जनताले भारतप्रति नकारात्म धारणा राखे । यद्यपि यो नाकाबन्दी भने पहिलो नै होइन । त्योभन्दा पहिले २०४६ सालमा पनि भारतले नेपालमा नाकाबन्दी गरेको थियो । त्योभन्दा अगाडि २०२७ सालमा पनि भारतले नेपालमा नाकाबन्दी गरेको थियो । २०१९ मा पनि भारतले नाकाबन्दी गरेको थियो । यसरी भारतले नेपालमा ४ पटकसम्म नाकाबन्दी गरेको थियो । भारतले नाकाबन्दी गरेको बेला सम्बन्ध तल झर्यो । दुई दिन पहिले भारतका गृहमन्त्रीले यो पनि भने कि अब एसियामा श्रीलंका र नेपालमा पनि भाजपाको पार्टी खोल्नुपर्छ र त्यहाँ हाम्रो आधिपत्य हुनुपर्छ भनेर कुरा गरे । नेपाल सरकार र नेपाली जनताले उनको यो अभिव्यक्तिको विरोध गरेका छन् ।

नेपाल भारतको सम्बन्ध बिग्रिनुमा मुख्य कारण के देख्नुहुन्छ ?

भारतीय पदाधिकारीहरुले जहिले पनि नेपाललाई हाम्रो भाइ हो भनिरहेका छन् । नेपालले हामी भाइ होइनौ समान हौं भनेर भन्दाखेरि तत्कालीन विदेशमन्त्री सुष्मा स्वराजले नेपाल र भारत जुम्ल्याहा भाइ हुन भनेर भन्नुभएको छ । हामी नेपालीहरु पनि अलिकति लघुतावास हुँदाखेरि भारतले हामीलाई दबाउने, म ठूलो देश हुँ भनेर धम्की दिन खोज्ने गरेको देखिन्छ । तर नेपाल र नेपालका प्रतिनिधिहरुले के बुझ्नुपर्छ भने अन्तर्राष्ट्रिय समुदायमा नेपाल र भारत समान हक अधिकार प्राप्त भएका देश हुन् । किनभने संयुक्त राष्ट्रसंघको कुनै मामलामा मतदान गर्नुपर्यो भने विशाल देश भनिएको भारत र सानो क्षेत्रफल भनिएको नेपाल दुबैले दिने र पाउने भोट त एक एक नै हो नि । भारत ठूलो भएर १० ओटा भोट दिन पाउने होइन । त्यसकारणले अन्तर्राष्ट्रिय रङ्गमञ्चमा दुबै देश समान अधिकार प्राप्त देश हुन् । एक देशले अर्को देशप्रति परिपूरक दृष्टिकोणबाट हेर्नुपर्छ । एक देशले अर्को देशमाथि विभेदपूर्ण स्वभाव गर्नुहुँदैन ।

नेपाल भारतबीच लामो समयदेखि रहँदै आएको संवादहीनता अझैँ कायमै छ । पछिल्लो समय त यो झनै बढ्दो अवस्थामा देखिन्छ । वार्ताका लागि नेपालले कयौंपटकसम्म पनि कूटनीतिक नोट पठाउँदा भारतले अस्वीकार गर्दै आएको छ । यो विषयमा समस्या कताबाट देखिन्छ ?

भारतले २०१९ मा ‘पोलिटिकल म्याप अफ इण्डिया’ भनेर नयाँ नक्सा जारी गर्यो । त्यो नक्सामा नेपालको लालपूर्जा भएको लिपुलेक, कालापानी, लिम्पियाधुरादेखि नाभी, कुटी, गुञ्जी सबै भारतले आफ्नो नक्सामा प्रकाशित गर्यो । नेपालले यसको विरोध पनि गर्यो । प्रधानमन्त्री ओलीले त्यसबेला ९ नोभेम्बरको दिन बालुवाटारमा सर्वदलीय बैठक बोलाए । सो बैठकमा केही विद्धानहरु पनि गएका थिए । सबैले यस विषयलाई लिएर नेपाल भारतले तत्काल वार्ता गर्नुपर्छ भनेर एकमतले निर्णय भएको थियो । मलाई के लाग्छ भने नेपालका राजनीतिक पार्टीहरुले यो मुद्दामा सर्वसम्मत सहभागिता र निर्णय गरेका थिए । यति गरेपछि नेपालले भारतलाई वार्ताका कूटनीतिक पत्र पठायो । तर भारतले कुनै वास्ता गरेन । त्यसपछि परराष्ट्र मन्त्रालयले भारतको राजदूतलाई कूटनीतिक नोटमै वार्ता गरौं भनेर पनि आग्रह गरेको थियो । भारतले सो भूभाग सन् १९६२ देखि नै आगटेर बसेको थियो । त्यसबेला भारत र चीनबीच करिब ५ हप्ता सीमा युद्ध भयो । ५ हप्ते छोटो अवधि तर डरलाग्दो युद्ध भएको थियो । त्यो युद्धमा भारतले हारेर जब दायाँबायाँ हेरेर कहाँ बसेर चीनियाँलाई रोक्न सकिएला भनेर तयारी थालेको थियो

त्यसबेला लिपुलेक भञ्ज्याङमा बसियो भने चीनियाँहरुलाई बन्दुकको त्रासले फर्काउछौं हामीसँग गोलीगट्ठा सकियो भने पनि ढुङ्गा लगाएर भएपनि छेक्छौं भन्ने भारतीयहरुको तयारी थियो । त्यसपछि भारतले नेपाली भूमि अतिक्रमण गरेर आफ्नो कब्जामा लिएको थियो । त्यसयता नेपाल र भारतबीच सीमा सम्बन्धमा निरन्तर खटपट हुँदै आइरहेको छ । भारतले नयाँ नक्सा बनाइसकेपछि नेपालले वार्ताका लागि कूटनीतिक पत्र पठायो तर वार्ता हुन सकेन । भारतले कोरोना भाइरसको कारण देखाउँदै वार्ता पछि गर्ने भनेर पन्छियो । तर त्यहीबेलामा भारतले पृथौरागढबाट लिपुलेक भञ्ज्याङ सम्मको सडकको भर्चुअल रुपमा उद्घाटन गर्यो । त्यति मात्रै होइन उसले सोही समयमा विभिन्न देशहरुसँग विभिन्न वार्ताहरु गर्न भ्यायो । एकातिर वार्ता गर्न कोरोना भाइरस भन्ने अर्कोतिर सडक उद्घाटन गर्न कोरोना भाइरसले नछेक्ने ? यति भएपछि नेपाल सरकार र नेपालीहरु पनि भारतसँग बदला लिने तरिकाले अघि बढ्न थाले ।

त्यसपछि नेपाल सरकारले २०७७ जेठ ७ गते कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको भूभागलाई समेटेर नेपालको राजनीतिक तथा प्रशासनिक नयाँ नक्सा सार्वजनिक गर्यो । नेपाल सरकारले यो नक्सा सार्वजनिक गरिसकेपछि भारते प्रतिक्रिया दियो । भारतको जमिनमा नेपालले नयाँ नक्सा बनाएर ठिक गरेन भन्ने भारतले प्रतिक्रिया जनायो । त्यसपछि पनि नेपालले वार्तामार्फत सीमा विवाद समाधान गरौं भन्दा भारत पछि हट्यो । हाम्रो परराष्ट्रमन्त्री परराष्ट्रमन्त्री स्तरीय बैठकमा भाग लिन दिल्ली जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए हाम्रा परराष्ट्रमन्त्री त्यहाँ जाँदैछन् त्यहाँ सीमा विवादको कुरा हुन्छ भनेर भनेका थिए । ओलीले परराष्ट्रमन्त्री मार्फत नेपालको सन्देश भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाएका थिए । त्यहाँ पुगेपछि हाम्रो परराष्ट्र मन्त्रीले आफ्ना समकक्षीसँग भेटवार्ता गरे । सो भेटवार्तामा सीमा विवादको कुरा नै गरेन । भारतले यो विषयमा प्रवेश नै गरेन ।

हाम्रो प्रधानमन्त्रीले परराष्ट्रमन्त्री मार्फत पठाएको सन्देश पनि भारतले अस्वीकार गर्यो । त्यतिमात्रै होइन हाम्रो परराष्ट्रमन्त्रीले भारतीय प्रधानमन्त्रीलाई भेट्नै पाएनन् । हाम्रो प्रधानमन्त्रीले समकक्षीलाई पठाएको सन्देश अलपत्र पर्यो । अन्तिममा आएर हाम्रो परराष्ट्रमन्त्रीले रक्षा मन्त्रीलाई भेटेर सन्देश हस्तान्तरण गरे । यस्तो अवस्थामा छ भारतसँगको नेपाल सम्बन्ध । अब प्रश्न उठछ नेपाल र भारतबीचमा भएको सम्बन्ध के हो त ? जब भारतीय सचिवसम्म नेपालमा आए भने उनीहरुले प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्मलाई भेट्न सक्छन् । भारतीय सचिव हर्षवर्दन श्रृङ्गला आए प्रधानमन्त्रीसँग भेटेर गए, भारतीय रअ प्रमुख सामन्तकुमार गोयल आए प्रधानमन्त्रीसँग भेटेर गए, भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवाणे आए प्रधानमन्त्रीलाई भेटेर गए । भारतबाट कुनै सामान्य मान्छे आएपनि राष्ट्रपतिदेखि प्रधानमन्त्रीको कोठादेखि चोटासम्म पुग्न सक्ने हाम्रो परराष्ट्रमन्त्री नियमित औपचारिक भ्रमणमा जाँदा भारतको प्रधानमन्त्रीलाई भेट्न नपाउने ? यो कस्तो सम्बन्ध हो ? त्यसकारण नेपाल र भारतले सम्बन्धलाई थप मजबुद गर्न आवश्यक छ ।

यसमा नेपालको पनि कच्चा खेल छ कि भन्ने मलाई लागिरहेको छ । भ्रमणमा जानुभन्दा पहिले नै एजेण्डा तय गरेर प्रधानमन्त्रीलाई भेट्ने या नभेटने, राष्ट्रपतिलाई भेटन पाउने या नपाउने पहिले नै तयारी गरेर जानुपर्ने थियो । त्यति भयो भने पनि भारतले हामीसँग भेटन मानेन भने हामीले जवाफ त दिन सक्छौ नि त । यसमा परराष्ट्रमन्त्रीको केही गृहकार्य पुगेको होइन कि भन्ने मलाई लागेको छ ।

तपाईले सामन्तकुमार गोयलको कुरा ल्याउनुभयो, मनोज मुकुन्द नरवाणेको कुरा ल्याउनुभयो । केही महिनाअघि भारतीय टेलिभिजन जी न्यूजका पत्रकार सुधीर चौधरीले बालुवाटारमै गएर प्रधानमन्त्रीको अन्तर्वार्ता लिएका थिए । त्यसपछि उनले नेपालको सर्वोच्च शिखर सगरमाथाको बेस क्याम्पमा अनुमतिबिना पुगेर अब सगरमाथालाई भारतले पनि दाबी गर्नुपर्छ भनेर विवादास्पद अभिव्यक्ति दिएका थिए । भारतले क्रमश नेपालको सार्वभौमसत्तामा प्रहार गरिरहेको जस्तो लाग्दैन् यहाँलाई ?

भारतीय पत्रकार सुधीर चौधरी काठमाडौं आए । उनलाई बालुवाटारमा प्रधानमन्त्री ओलीले रेड कार्पेट ओछ्याएर अन्तर्वार्ता पनि दिए । अन्तर्वार्ता सकिएको भोलिपल्ट उनी हेलिकप्टर मार्फत सगरमाथाको बेस क्याम्पको कालापत्थरमा पुगेर हाम्रो सम्पदलाई पृष्ठभूमिमा राखेर तिनले सगरमाथाको नाम अब एभरेष्ट होइन ‘माउण्ट राधानाथ सिकदर’ नामाकरण गरिनुपर्छ भनेर विवादास्पद अभिव्यक्ति दिएका थिए । ए बाबा ! हाम्रो देश कालापत्थरमा जाँदाखेरि जोकोहीले पनि अनुमति लिनुपर्छ, शूल्क तिर्नुपर्ने, सगरमाथा राष्ट्रिय निकुञ्जको अनुमति लिनुपर्ने हुन्छ । उनी त्यहाँसम्म कसरी पुगे भन्दा बालुवाटारमा उनले प्रधानमन्त्रीको अन्तर्वार्ता लिएको हुनाले यसमा प्रधानमन्त्री ओलीको पनि संलग्नता थियो कि भन्ने जनतालाई आशंका छ । होइन भने उनी त्यहाँसम्म कसरी पुगे ? उनले यस्तो अभिव्यक्ति किन दिए ?

तत्कालीन भारतीय प्रधानमन्त्री जवहारलाल नेहरुले भारतको उत्तरी सीमा हिमालय हुन्छ भन्दा नेपालका तत्कालीन प्रधानमन्त्री विश्वेशवरप्रसाद कोइरालाले प्रतिवाद गरेका थिए । हिमालय त नेपालको उत्तरी सीमामा पर्छ । हामी हाम्रो सीमा रक्षा गर्न सफल छौं । जवाहरलाल नेहरुले भनेको कुरा गलत हो उनीहरुले माफी माग्नुपर्छ भनेर भनिसकेपछि उनीहरुले माफी मागेका थिए । भारतीयहरुलाई यो धङ्धङ्गी अहिले पनि रहेछ त्यसकारण पनि सगरमाथामा गएर उनीहरुले अब सगरमाथा पनि भारतले दाबी गर्नुपर्छ भनेका हुन् ।

सगरमाथा विश्वकै सर्वोच्च शिखर हो भनेर पहिलोचोटि मापन गर्ने राधानाथ सिक्दर गणितज्ञ र उनीसँग नेपाली मूलका मान्छे तेजबीर बुढा उनीसँगै थिए । राधानाथ सिक्दरले गणितज्ञ गरेर त्योबेलामा पन्ध्रौ चुलीको नाम दिएको थियो । पछि जियोग्राफिक लण्डनको सहायतामा त्यसको नाम माउण्ट एभरेष्ट भनेर राखे । तर हाम्रो नेपालबाट इतिहास शिरोमणि बाबुराम आचार्यले धेरै अध्ययन, अनुसन्धान गरेर र फिल्डमै खटेर सोलुखुम्बु, ओखलढुङ्गा लगायतका जिल्लाहरुका स्थानीय जनतालाई सोधीखोजी गरेर निचोडमा पुगेपछि बाबुराम आचार्यले यो हिमालको नाम चाहिँ सगरमाथा हो भनेर राखे । जसमा सगर भनेको सबैभन्दा अग्लो माथा भनेको मान्छेको सबभन्दा माथिल्लो भाग । सगरमाथाको नामको बारेमा नेपालको तर्फबाट तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला चीन भ्रमणमा गएका थिए ।

नेपाल र चीनको बीचमा सीमाङ्कन गर्दाखेरि त्योबेला ३२ ठाउँमा तेरोमेरो परेको थियो । सगरमाथालाई चीनले पनि दावा गरेको थियो । यस विषयमा कुराकानी गर्न प्रधानमन्त्री कोइराला चीनमा जाँदाखेरि उनले चीनको कम्युनिष्ट पार्टीको अध्यक्ष माओत्सेतुङसँग भेटघाट गरेका थिए । उनीसँग भेट गरिसकेपछि उनले यो हिमालको नाम हामी चीनियाँहरु चोमोलुङ्मा भन्छौं तपाईहरु सगरमाथा भन्नुहुन्छ, पश्चिमाहरु एभरेष्ट भन्छन् । यो तीनओटा नाम राखेर गाँजेमाँजे गर्नुभन्दा यसलाई मित्रताको नामले नामाकरण गरौं भनेर प्रस्ताव राखेका थिए । तर हाम्रो प्रधानमन्त्री कोइरालाले त्यो प्रस्ताव ठाडै अस्वीकार गरेका थिए ।

सगरमाथा हाम्रा इतिहास शिरोमणि बाबुराम आचार्यले अध्ययन अनुसन्धान गरेर राखेको नाम हो यो । यसको हामीसँग तथ्य र प्रमाणहरु छ भनेर भनेका थिए । त्यसपछि माओत्सेतुङले हाम्रा प्रधानमन्त्रीको प्रस्ताव अस्वीकार गर्न सकेनन् । अब अहिले आएर भारतको एक पत्रकारले अनुमतिबिना सगरमाथामा गएर यसमा भारतले पनि दाबी गर्नुपर्छ भनेर किन दाबी गर्छन भने नेपालमाथि आधिपत्यता जमाउनका निमित्त, नेपालको भूभाग भारतकै हो भन्नका निमित्त र नेपालमाथि जे गरेपनि हुन्छ भन्ने सोचेर उनीहरु यसो गरिरहेका छन् । आज भारतले सगरमाथामा दाबी गर्नुपर्छ भन्यो, भोलि उसले नेपालको स्वाधीनता नै कब्जा नगर्ला भनेर कसरी विश्वास गर्ने ? हामी सबै नेपालीले यी कुराहरु मनन गर्नुपर्ने हुन्छ ।

समस्या समाधानका लागि भारतसँग नेपालले बारम्बार आग्रह गरिरहेको छ तर भारत भने सोही तरिकाबाट अस्वीकार गर्दै आइरहेको छ । यदि यसरी नै अघि बढ्ने हो भने हामीले यस्तो सम्बन्धलाई सधैं जोगाएरै कहिलेसम्म अघि बढ्ने ? यसको आगामी बाटो कस्तो हुन्छ ?

सम्बन्ध चाहिँ बिगार्नु हुँदैन । सम्बन्ध अगाडि बढाउनलाई दुबै देशको भूमिका महत्वपूर्ण हुन्छ । भारतले थिच्न खोजेपनि नेपालले नथिचिकन, बुद्धिमतापूर्ण तरिकाले÷चाप्लुसीपूर्ण तरिकाले कूटनीतिक पहल गर्नुपर्छ र आफ्नो अस्तित्व जोगाइराख्नुपर्छ । त्यसका निमित्त हाम्रो परराष्ट्र नीतिपनि केही लागेन भने हामीले अन्तर्राष्ट्रिय अभ्यास पनि अपनाउनुपर्छ । अहिले विश्वमा नेपालले दौत्य सम्बन्ध कायम भएका देशहरु १ सय २० औं पुगिसके । जापान, जर्मनी, अमेरिका, बेलायत, फिनल्याण्ड इत्यादि त छन् नि । ती देशहरुमार्फत एउटा दबाब सिर्जना गरेर दुइटा देशलाई मिलाउने, दुबै देश अन्तर्राष्ट्रिय समुदायमा समान हक, अधिकार प्राप्त भएका देशहरु हुन भनेर मिलाउने र वार्ताको परिपाटी गर्नुपर्ने हुन्छ । जसका लागि नेपालको पहल अझैं आवश्यक देखिन्छ ।

हाम्रो भूभाग मिचिएको छ, हामी मिचिएका छौं भने हामीले पहल गर्नुपर्ने हुन्छ । त्यसका लागि हाम्रो पहल पुगेको छैन् । यसका लागि हामीले गृहकार्य प्रशस्तै गर्नुपर्ने देखिन्छ । त्यसका लागि हामीले मध्यस्थताकर्ता छान्न सक्छौं । जसलाई नेपालले मात्र होइन भारतले पनि स्वीकार गरेको हुनुपर्छ । यति गरेपछि सतहमा आएको विवाद केही मत्थर हुने देखिन्छ । त्यसपछि पनि वार्ता भएन भने हामीले संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्मा जान यो विषयलाई लिन सकिन्छ । त्यसमा पनि भएन भने अन्तिममा अन्तर्राष्ट्रिय अदालतमा पनि जान सकिन्छ । त्यसपछि हामीले हाम्रो भूभाग फिर्ता लिन सक्छौं । तर त्यहाँसम्म जाँदा समय लामो हुने देखिन्छ । त्यति मात्रै होइन पैसा पनि धेरै लाग्ने देखिन्छ, मेहनत लाग्ने देखिन्छ ।

त्यसपछि हामीले यो विषयमा विजय हाँसिल त गर्छौ तर कालो मुख भएको छिमेकीले जहिले पनि दुख दिने स्थिति रहन्छ । भारत पनि त्यही स्थितिमा छ । अब सीमा विवाद समाधानका लागि हामीले वैकल्पिक उपाय अपनाउनु पर्ने देखिन्छ । श्रेष्ठका अनुसार भारतले पहिलो विकल्प मानेन भने हामीले दोस्रो विकल्प दिनुपर्छ, उसले दोस्रो विकल्प मानेन भने हामीले तेस्रो विकल्प दिनुपर्छ । यदि भारतले यी सबै विकल्पमा जवाफ दियो भने त्यसको काउण्टर जवाफ हामीले दिन सक्नुपर्छ । जसका लागि तयारी अनिवार्य छ । ‘स्यालको सिकारमा जाने सिकारीले बाघको खजाना पनि बोकेर जानुपर्छ ।’ स्यालको सिकार गर्न जाँदाखेरि बाघ आयो भने बाघलाई पनि ठेगान लगाउन हतियार त उठाउनु अनिवार्य हुन्छ । त्यसपछि दुवै देशमा सौहार्दपूर्ण वातावरणमा नेपाल भारत सम्बन्ध सदा सर्वदा प्रगाढ हुने देखिन्छ ।