एजेन्सी । विश्वमा हालसम्म ११ करोडभन्दा बढि मानिसहरु कोरोना संक्रमित भएका छन् । ८ करोड ५७ लाख भन्दा बढी मानिसहरु ठिक भएका छन् भने २४ लाख ५१ हजार मानिसको मृत्यु भएको छ ।

विश्वमा अहिले कोरोना विरुद्धको खोप अभियान संचालनमा आइरहेको छ । तर कतिपय गरिब राष्ट्रहरुले चाहेको मात्रामा खोप पाउन सकेका छैनन् । विभिन्न अध्ययनहरुले धनि राष्ट्रले खोप चाहिनेभन्दा बढी भण्डार गरेको कारण अन्य देशलाई नपुगेको आरोप समेत लगाएका छन् । भने विश्वमा भारत चिन जस्ता भ्याक्सिन उत्पादन गर्ने राष्ट्रहरुले भ्याक्सिन डिप्लोमेसीद्धारा गरिब राष्ट्रमा हक जमाउन पनि खोजिरहेका छन् । यस्तो अवस्थामा अहिले विश्व नेताहरुको राय गरिब राष्ट्रले पनि खोप पाउनु पर्छ भन्नेमा रहेको छ ।

बोरिस जोनसन गरिब देशको बारेमा चिन्तित

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले देशमा कोरोना खोपको स्टक बचेमा गरीब देशहरुलाई अनुदानमा दिने आश्वासन दिएका छन् । उनको यो बयान निकै महत्वपुर्ण छ ।

दुई दिन अघि मात्र संयुक्त राष्ट्र संघका प्रमुख अन्टोनिया गुटेरेसले धनी देशमा खोपको अधिक भण्डार भएको र यो विश्वका बाँकी ठाउँ विशेष गरी गरिब देशका लागि खतराको संकेत भएको स्पष्ट पारेका थिए ।

यद्यपि यो बयानको कूटनीतिक महत्त्व पनि छ। रसिया, चीन, भारत भ्याक्सिन कूटनीति मार्फत केहि देशहरूमा प्रभुत्व जमाउन कोशिस गर्दैछन्। भारत छिमेकी मुलुक र चिन अफ्रिकि मुलुकलाई टार्गेट गर्ने कोसिस गर्दै छन् ।

यसै बारेमा जोनसनले गरिब देशलाई खोप लगाईनुपर्नेमा जोड दिएका छन् । अमेरिकाका राष्ट्रपति जो बाइडेन पनि सोहि भनाईमा सहमत भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले उल्लेख गरेका छन् ।

त्यस्तै फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले पनि धनी राष्ट्रले गरिब राष्ट्रलाई भ्याक्सिन स्टकको पाँच प्रतिशत दिनुपर्ने पनि बताएका छन् ।