माग्ने बुढाको गीत छनि – “प्रजातन्त्र लोकतन्त्र आयो गणतन्त्र !
दुनियाँले सुख पाउने भेटिएन मन्त्र !!”

यस्तै भएको छ देशमा -तन्त्रै/तन्त्र आए तर जनता हिजो पनि सडकमा आफ्ना हकको लागी लडिरहेका थिए र आज पनि लडिरहेका छन् ।

लोकतन्त्रका लागी नेपाली जनताले ७० वर्ष देखी सङ्घर्ष गरिरहे । तर फल शून्य । फेरी विधिको शासनमा प्रहार भयो, बहुमतको धज्जी उड्यो जनता सडकमै उत्रिएका छन्, फल आउनै बाँकी छ ।

सन्दर्भलाई जोड्दै – आज फागुन ७ अर्थात् अमेरिकाका १६औँ राष्ट्रपति अब्राहम लिङ्कनले भनेको जस्तो नेपालमा पनि ‘जनताद्वारा, जनताका लागि, जनताको शासन’ भएको दिन । नेपालले १०४ वर्षीय जहानियाँ शासनबाट छुटकारा पाई नेपाली जनताले विधिको शासनलाई अवलम्बन गरेको दिन ।

७० वर्ष अघि आजैको दिनले देशलाई सङ्घीय गणतन्त्रतर्फ अगाडि बढ्नको लागी भर्‍याङ बनाइदियो । जनताका छोराछोरी पनि स्वतन्त्र भएर पढ्न पाए अतः भनौँ जनता सत्तामा आउन पाए ।

तर, विडम्बना ०७ साल फागुन ७ देखि ०७७ साल फागुन ७ सम्म आइपुग्दा प्रजातन्त्रको नाममा मुलुकमा प्रविधिको विकास बाहेक खासै उपलब्धि हुन सकेको छैन । जहानियाँ एकतन्त्रीय, क्रूर, निरङ्कुश राणाहरूबाट छुटकारा पाएपछि पनि प्रजातन्त्र र लोकतन्त्रको परिधि भित्र रहेका हजारौँ राणा हरूले निमुखामाथिको शासन गर्ने अझै अन्त्य भएको छैन ।

हिजोको दिनमा पनि नागरिक प्रजातन्त्र र आफ्ना हकलाई लड्दै थिए भने आजका दिनमा पनि प्रजातन्त्रका विस्तारित नामहरू लोकतन्त्र, गणतन्त्रका नाममा मानिसहरू सडकमै छन् ।

प्रजातन्त्र होस् या गणतन्त्र जनताहरू शक्तिका विरुद्ध लडिरहेका थिए भने आज पनि लडिरहेका नै छन् । फरक यत्ति हो हिजो आन्दोलनमा लड्नेहरूले आफ्नो यौवन, परिवार सबै त्यागेका थिए आज स्वतन्त्र छन् ।

प्रजातन्त्रको उदय पश्चात् शान्तिको सास फेरेका जनताको केहि बेरमै थाकेर पुनः प्रजातन्त्रकै निम्ति अहिलेसम्म जनता पसिना बगाउँदै छन् ।

विधिको शासनमा पनि आन्दोलनमै

नेपाली जनताले प्रजातन्त्रको उदय पछि पचांयत विरुद्ध लडे, राजाविरुद्ध लडे, जनआन्दोलन गरे फलस्वरूप सरकार फेरिए , नयाँ विधान लेखिए , नयाँ परिमार्जित नियम कानुन लागु भए, राजनैतिक व्यवस्था फेरियो तर विधिको शासनमा परिवर्तन आएन । व्यक्तिवादी, निरङ्कुश शासन मौलाउँदै गयो गैरहेको छ । जनताले आफ्नो नागरिक हक -अधिकार सुरक्षित भएको अनुभूति गर्न सकिरहेका छैनन् ।

०७ सालमा आएको प्रजातन्त्रपछि संविधान बनाउने अधिकार जनताको हातमा आयो तर पनि पञ्चायती व्यवस्था, राजतन्त्रले जनताको हितका लागी काम गर्न सकेनन् । आपसी दम्भ मतभेद् र संसद् विघटनका सिलसिलाले प्रजातन्त्रको खिल्ली उड्यो ।

प्रजातन्त्र पाउन लड्नै पर्छ

प्रजातन्त्र निरन्तर जागरूकता मात्रै जोगाउन सकिन्छ , कूटनीतिक विश्लेषक हिरण्यलाल श्रेष्ठ भन्छन्, नभए बिचबिचमा आएर प्रतिनिधिहरूले बाटो बिराउने सम्भावना रहन्छ जुन पटक पटक नेपालमा देखियो ।

श्रेष्ठका अनुसार प्रजातन्त्र होस् या गणतन्त्र मतदाताले आफ्नो भोट फिर्ता बोलाउने अधिकारसहितको व्यवस्था निर्माण गर्ने लड्नै पर्छ । जबाफदेहिता र पारदर्शिता नभईकन प्रजातन्त्र अगाडि बढ्न संविधान नै सबैभन्दा बलियो बनाउन तर्फ लाग्न जनता सडकमा उठ्नुपर्ने उनको तर्क छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको तानहाशरुपी अन्तगर्तको संसद् विघटनले जनता फेरि आन्दोलनमा लोकतन्त्रका लागी सास्ती गरिरहेको बताउँदै श्रेष्ठ भन्छन्, अन्य देश विकासका गतिमा दौडिरहेका छन्, हाम्रै देश प्रजातन्त्र पूर्ण प्राप्तिका लागी अझै बामे सरिरहेको छ ।

सहिदहरूको भूमिका

प्रजातन्त्र ल्याउने महानायकहरु भनेको सहिदहरू हुन् । उनीहरूको रगत काठमाडौँ गल्लीमा नबगेको भए राणाको जहानियाँ शासनको अन्त्य हुन मुस्किल हुन्थ्यो या केहि समय पर्खिनु पर्ने हुन्थ्यो भनेर विश्लेषकहरू बयान गर्छन् । नेपालमा प्रजातन्त्र र राष्ट्रियतालाई समन्वय र संतुलनकासाथ सँघै अगाडि बढाउन देशभक्तहरूको नेतृत्व अति अनिवार्य छ ।

जब जब प्रजातन्त्रको उदयको चर्चा हुन्छ त्यहाँ वीर सहिदहरूको गुणगान नगाउन इमानले पनि दिदैंन । नेपालको इतिहासमा भएका आरोह– अवरोहको कालखण्डमा जहानियाँ राणा शासनको विरुद्ध प्रजातन्त्र स्थापना गर्न सजिलो अवस्था पनि थिएन । तर प्रजातन्त्र स्थापनाको लागि आफूहरूलाई बलिदान दिने चार अमर शहीद– शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठ महान् छन् । जसको कारण आज लोकतन्त्रमा भएपनि पाइला चालेका छौँ ।

विक्रम संवत् १९९७ साल माघ ९ गते राती अमर सहिद शुक्रराज शास्त्रीलाई टेकुको एक रुखमा झुन्ड्याइएको थियो । त्यस्तै माघ ११ गते धर्मभक्तलाई सिफलको रुखमा झुण्डयाइयो । दशरथ चन्द र गंगालाललाई शोभा भगवतीपूर्व विष्णुमती किनारमा माघ १५ गते निर्ममतापूर्वक गोली ठोकेर मारियो । सहिदहरूको लासलाई सर्वसाधारणलाई त्रसित गराउन प्रदर्शन समेत गरियो । यसरी प्राप्त गरेको प्रजातन्त्रको स्थापना भएको देशमा अहिले हजारौँ सहिद थपिएका छन् तर राष्ट्रमा विधिको शासन कायम हुन सकेको छैन ।

प्रजातन्त्रपछि भारतको नेपालमा हेपाहा प्रवृद्धि

राणाहरूलाई झुक्काएर २००७ साल कार्तिकमा राजा त्रिभुवन भारतको शरणमा पुगे । राजा त्रिभुवन भारतको निर्वासनमा पुगेपछि राणा प्रधानमन्त्री मोहन शम्सेरले बालक अधिराजकुमार ज्ञानेन्द्रलाई राजसिंहसानमा आरोहण गराए । तर भारतका प्रधानमन्त्री नेहरुले राजा त्रिभूवनको पक्ष लिएर मोहन शम्सेरलाई सम्झाएर राजा त्रिभूवनको पक्षमा लाग्न सम्झाएका थिए । भारतका प्रधानमन्त्री जवाहरलाल नेहरुले २००७ साल साउनमा नै सन् १९५० को सन्धिमा हस्ताक्षर गराई सकेका र राजा त्रिभुवन दिल्लीमा पुगेपछि कतिपय षडयन्त्रकारसाथ दिल्ली सम्झौता घोषणा गराए । २००७ सालको दिल्ली घोषणाले नेपालमा खुल्लारुपले भारतको हैकम रहिरहने हुँदा २००७ साल फाल्गुण ४ गते राजा त्रिभुवन नेपालमा आइ फाल्गुण ७ मा नेपालमा प्रजातन्त्र स्थापना भएको शाही घोषणा गरे ।

त्यहीबाट भारतीय चलखेल र हेपाहा प्रवृद्धि सुरु भयो । राजा त्रिभूवनको भारत सरणले नेपालमा बाह्य शक्ति चलखेलका लागी बाटो खोल्दियो । त्रिभूवनको कदम जहानियाँ शासनको अन्त्य गर्ने भएपनि सोच नपुर्याई भारतको शरण लिनुको परिणाम ७० वर्ष देखी नै भोग्दै आएको छ ।

त्यस अर्थमा पनि प्रजातन्त्रदेखी लोकतन्त्रसम्म आउँदा भारतको हस्तक्षेप रोक्नकै लागी भएपनि आवाजहरूको आवश्यक छ ।

यसमा कूटनीतिक मामिलामा जानकार श्रेष्ठ बताउँछन् भारत नेपालमा आन्तरिक द्वन्द्व, फुट होस् नै भन्ने चाहन्छ । उनि भन्छन्, नेपालको संविधान २०७२ चित्त नबुझी रहेको अवस्थामा नेपालमा संसद् विघटनै भई आन्दोलन चर्किरहँदा दक्षिणी शक्ति खुसी भएको प्रस्टै देखिन्छ । भारतको भित्री इच्छा नेपालको संसद् भंग भएको उनी प्रस्टाउँछन् ।

नागरिक आन्दोलन आवश्यक

प्रजातन्त्र ल्याउन उबेला सरिक नागरिक र यो बेला पनि नागरिकै अगाडि छन् । नागरिक आन्दोलन के का लागी भन्ने प्रश्नमा नागरिक अभियन्ता खगेन्द्र संग्रौलाको उत्तर भने प्रस्ट छ, विधिको शासन ल्याउन, सुशासन कायम गर्न, लोकतन्त्रको संरक्षण गर्न ।

नागरिकहरू अहिले राजनीतिक प्रतिगमनमा मात्रै नभई अगाडि बढ्न लागेको समाजलाई पछाडि धकेलिदैं भएकाले पनि नागरिक मार्चहरूको आवश्यक फेरी परेको तर्क संग्रौला सुनाउँछन् ।

नागरिक आन्दोलन भनेको स्वतन्त्र नागरिकको आन्दोलन हो । यहाँ जो पनि सहभागी हुन पाउँछन् । लोकतन्त्र र प्रजातन्त्रको रक्षाका लागी लड्न पाउँछन् । तर देशमा शक्तिको चलखेल, तानशाहरुपि व्यवस्था भष्टा«चार मौलाएको हुँदा यहीबाट तेस्रो जनआन्दोलन हुन सक्ने ठम्याई समेत उनको रहेको छ ।

लोकतन्त्रलाई बलियो बनाउन नागरिक आन्दोलनको चाहिने तर अहिलेको राजनीतिक अवस्था हेर्दा देशमा जनआन्दोलनको खाँचो खड्किएको हुनसक्ने कतिपय नागरिक अभियान्ताहरुले भनिरहेका छन् ।

नागरिक आन्दोलन निरन्तर अभ्यास हो । कहिले विश्वविद्यालयका गेटमा त कहिले माइतीघर मण्डलाको पेटिका । संग्रौला भन्छन्, जबसम्म नागरिक उठ्दैनन् तबसम्म प्रजातन्त्रको रक्षा हुन सक्दैन ।

तसर्थ, अन्तिममा बुझ्नुपर्ने कुरा तान शाहको नेपालमा त के विश्वमै सधैँ नास भएको छ । भलै केहि समय लाग्ला तर घमन्ड र दम्भले भरिएको शासकको जहाँकँहि पनि अन्त्य भएको छ । नेपालको उदाहरणमा पनि चाहे राणा हुन् या ज्ञानेन्द्र जनताको अघि घुँडा टेक्न बाध्य भएकै थिए ।

प्रजातन्त्र भनेकै बहुमत हो । त्यो बहुमत जहाँ जनताको विश्वास हुन्छ तर केहि व्यक्तिको निहित स्वार्थले त्यो भंग गर्नु प्रजातन्त्रलाई लात हान्नु हो जुन कदापि सह्य हुने छैन ।