काठमाडौँ। सर्वोच्च अदालतमा प्रधानन्यायाधीश र प्रधानसेनापतिबिच भेटवार्ता भएको छ । आज दिउँसो अदालत पुगेर सेनापति थापाले प्रधान न्यायाधीश जवरालाई भेटेका हुन्।

प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा विचाराधीन अवस्थामा रहेको र केही दिनभित्रै फैसला आउने तय भएको अवस्थामा सेनापति र प्रधान न्यायाधीश बिचको भेटलाई निकै महत्वको साथ हेरिएको छ।

तर, दुई जनाको भेट कुनै राजनीतिक कुराको लागि नभएको नेपाली सेनाले दावी गरेको छ। नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले सेनापति र प्रधान न्यायाधीश बिच भेट भएको पुष्टि गर्दै त्यसलाई अराजनीतिक भनेका छन्। नेपाली सेनाले भोगचलन गर्दै आएको जग्गाको विषयमा छलफल गर्न प्रधान सेनापति सर्वोच्च अदालत पुगेको उनले बताए।

‘जग्गाको विषयमा कुरा गर्न जानु भएको हो। सेनाले अदालतको ४० रोपनी जग्गा भोगचलन गर्दै आएको छ। त्यसैको विषयमा छलफल गर्न जानुभएको हो,’ प्रवक्ता पौडेलले भने। सेनाले प्रयोग गर्दै आएको क्याभलरीको जग्गा अदालतले आफ्नोमा नामसारी गर्ने विषयमा छलफल भएको उनले जानकारी दिए।

सर्वोच्च अदालतभन्दा पछाडिको नेपाली सेनाको क्याबलरीको जग्गा प्राप्तिका विषयमा छलफल गर्न थापालाई अदालत बोलाएका हुन्। ‘आर्मीको क्याबलरीको जग्गा सर्वोच्चले प्राप्त गरेको छ। त्यहाँ भवन निर्माण हुँदैछ। टेण्डर समेत भएर भवन निर्माणको काम सुरु हुने अन्तिम चरणमा रहँदा त्यहाँ रहेका बाँकी संरचना हटाएर भवन बनाउन सहज वातावरण बनाइदिन प्रधानन्यायाधीशज्यूले प्रधानसेनापतिलाई निर्देशन गर्नुभएको हो,’ सर्वोच्चका सञ्चार विज्ञ किशोर पौडेलले भने। उनले यो सामान्य विषय भएको पनि स्पष्ट पारे।