काठमाडौँ । ललितपुरको जावलाखेल चोकमा बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्युु भएको छ ।

मृत्यु हुनेमा मंगोल अनुहार भएकी अन्दाजी ३३/३४ वर्षीया महिला छिन्। जावलाखेलबाट एकान्तकुना जाने सडक खण्डमा ट्राफिक प्रहरीले चेकिङ गरिरहेका बेला  प्र ३- ०२-०१० प ५५८९ नम्बरको स्कुटरलाई पछाडिबाट आइरहेको बा २ ख ३५७४ नम्बरको बसले  ठक्कर दिएको ललितपुर प्रहरी प्रमुख किरण बज्राचार्यले जानकारी दिइन्।

उनका अनुसार चेकिङ छलेर अगाडि बढ्न खोज्दा उक्त स्कुटर लडेको थियो र त्यही बेला पछाडिबाट आइरहेको बसले किचेको थियो।

‘मृतक महिलासँग कुनै कागजपत्र नभएको देखिन्छ। उनीसँग मोबाइलसमेत छैन’, एसएसपी बज्राचार्यले भनिन्। बसका चालकलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।