काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमा सर्वोच्च अदालतले सही फैसला गर्ने विश्वास व्यक्त गरेका छन् ।

मंगलवार काठमाडौंमा जनयुद्धको हस्ताक्षर नामक पुस्तकको विमोचन गर्दै प्रचण्डले संसद विघटनको मुद्दामा सही फैसला आउनेमा विश्वास रहेको बताएका हुन् । ‘लडाइँ त विभिन्न ढंगले चलि नै रहेको छ, मैले यसो भन्नुको तात्पर्य हाम्रो अदालतमाथि विश्वास छैन भनेको होइन, अदालतमा मुद्दा छ, अदालतले सही फैसला गर्छ भन्नेमा विश्वास छ,’ प्रचण्डले भने ।

उनले प्रतिनिधिसभा विघटनपछि आफूहरू शान्तिपूर्ण युद्धमा रहेको बताए । उनले भने, ‘जनयुद्ध र जनआन्दोलनका उपलब्धि अपहरण गर्ने अपहरणकारीका विरुद्ध युद्धमा छौं, पुस ५ देखि फागुन ११ सम्म नयाँ प्रकारको युद्ध लडिरहेका छौं, जुन देशव्यापी चलिरहेको छ । रक्तपातहीन शान्तिपूर्ण युद्धमा छौं ।’