सिरहा । सिरहाबाट गत माघ २० गते अपहरित बालकको उनकै काकाले अपहरण गरेको खुलेको छ । सिरहा सदरमुकाम सिरहा नगरपालिका १ डुम्बाखाता बस्ने प्रदीप यादवका २ वर्षीय छोरा प्रियांसु गत माघ २० गते आफ्नै घरबाट हराएका थिए ।

प्रहरीले भारतको बिहार राज्य अन्तर्गत मधुवनी जिल्लाको खाजेडी भन्ने स्थानबाट बालकको सकुशल उद्धार गरेको हो । बालक अपहरणको आरोपमा प्रहरीले बालककै काकालाई नियन्त्रणमा लिएको छ ।

अनुसन्धानको क्रममा बालकको अपहरणमा उनकै काका संलग्न रहेको खुलेपछि काकासहित दुई जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

सिरहा प्रहरीका प्रवक्ता शालिग्राम शर्माले बालकको अपहरणमा उनको काका कुलदीप यादवसहित दुई जनाको संलग्नता देखिएपछि उनीहरूलाई पक्राउ गरिएको हो । कुलदीपकै योजना बमोजिम सिरहा नगरपालिका १५ सुखचैनाका २३ वर्षीय भरोसी यादवले बालकको अपहरण गरेर भारत पुर्‍याएको खुलेको शर्माले बताए ।

दुवै जनालाई पक्राउ गरी प्रहरीले सोमबार सार्वजनिक गरेको छ । प्रहरीका अनुसार कुलदीपको बालकको बुबा प्रदीपसँग मनमुटाब रहेको थियो । सोही रिसिबी साँध्न बच्चाको अपहरण गरेको खुलेको प्रहरीले जनाएको छ ।

रिसिबी साँध्दै फिरौती बापत केही रकम पनि हत्याउने योजना अनुसार बालकको अपहरण गरेको खुलेको प्रहरीले जनाएको छ ।