जनकपुरधाम । महोत्तरीमा एक वृद्ध दम्पती बेपत्ता भएका छन् । पिपरा गाउँपालिका वडा नम्बर ५ सहोडवास्थित आफ्नै घरमा सोमबार राति सुतेका ६६ वर्षीय मुसाफिर झा र उनकी पत्नी ६० बर्सिया गीतादेवी बेपत्ता भएका हुन् ।

प्रहरीका अनुसार दुवै जना छुट्टाछुट्टै कोठामा सुतेका थिए । तर मङ्गलवार बिहान दुवै जना घरमा थिएनन् । यी वृद्ध दम्पतीसँगै घरमा उनीहरूको कान्छी बुहारी पनि रहेको प्रहरीले जनाएको छ । वृद्ध दम्पतीको घरमा रगतको छिटा पनि देखा परेको प्रदेश प्रहरी प्रमुख डिआइजी धिरज प्रताप सिंहले जानकारी दिए ।

झा दम्पती बेपत्ताबारे अहिलेसम्म केही खुल्न नसकेको प्रहरीले जनाएको छ । ‘घरबाटै बेपत्ता भएका दम्पतीको खोजी तीव्र रूपमा भइरहेको प्रदेश प्रहरी प्रमुख डिआइजी सिंहले भने, “घरमा रहेकी उनको बुहारी र स्थानीयसँग यस विषयमा सोधपुछ भइरहेको छ ।”

स्थानीयका अनुसार झा मालपोत कार्यालयका अवकाश प्राप्त कर्मचारी हुन् ।

झा दम्पती बेपत्ता भएपछि उनको खोजी अविलम्ब गर्नुपर्ने मागसहित स्थानीयले सडक अवरुद्ध गरेका छन् । स्थानीयले पिपरा गाउँपालिकास्थित जनकपुर–जलेश्वर सडक खण्डमा टायर बालेर अवरुद्ध गरेका छन् ।