काठमाडौं । राजनिति इतिहासको पानामा आजको दिन ऐतिहासिक दिन बनेको छ । अर्थात् न्यायलयले आफ्नो स्वतन्त्रताको प्रयोग गर्दै ढल्नै लागेको संसद्लाई ब्युत्याएको छ । यसैमा विभिन्न दलका नेताहरुले आफ्ना राखेका छन् ।

यहि सन्दर्भमा बसले के भने

भीमार्जुन आचार्य
संविधानविद् डा.भीमार्जुन आचार्यले प्रतिनिधि सभा विघटनविरुद्ध फैसला सुनाएर नेपालको न्यायलय सक्षम छ भन्ने पुष्टि गरेको बताएका छन् । आचार्यले भने, ‘यो फैसलाबाट नेपालको न्यायलय सक्षम छ भन्ने पुष्टि भयो । न्यायालयको यो साहसलाई सम्मान छ ।’
उनले विधिको शासन पुनर्वहाली भएको पनि बताए ।

रामचन्द्र पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतले मुलुकलाई ठूलो दुर्घटनाबाट बचाएको बताएका छन् ।

संसद पुनःस्थापना गर्ने सर्वोच्चको फैसला स्वागतयोग्य रहेको भन्दै नेता पौडेलले सर्वोच्चको फैसलाले सत्यको जित भएको बताए ।

‘मैले त भन्दै आएको हुँ सत्यभन्दा माथि शासक हुन सक्दैन । सर्वोच्च अदालतले मुलुकलाई दुर्घटनाबाट बचाएको छ । सर्वोच्चलाई धन्यवाद ’

डा शेखर कोइराला

प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा तत्काल राजीनामा दिनुपर्ने नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बताएका छन् । सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधि सभा विघटनको निर्णयलाई असंवैधानिक भन्दै बदर गरेपछि डा. कोइरालाले त्यस्तो प्रतिक्रिया दिएका हुन ।
‘प्रधानमन्त्रीको कदम सरासर असंवैधानिक र अलोकतान्त्रिक हो भन्दै आएका थियो । पहिलो दिनबाटै यो कदमको विरोध हामीले गर्दै आएका थियौँ, उनले भने, ‘अदालतको फैसलालाई पर्खन र धैर्य गर्न हामी बाध्य थियौँ तर पनि हामीले विघटनको विरोध गरिरहेका थियौँ ।’

प्रचण्ड

संसद विघटनको विरुद्धमा सडक आन्दोलन चर्काएका नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतको संसद पुनःस्थापनाको फैसलाले मुलुकलाई अँध्यारो सुरुङमा जानबाट जोगाएको प्रतिक्रिया दिएका छन्।

उनले भने, ‘अदालतको फैसलालले संविधान र लोकतन्त्रको रक्षा गरेको छ। देशलाई राजनीतिक संकटको अध्यारो संकटबाट जानबाट जोगाएको छ।’

उनले यो फैसलाले मुलुकमा एक पटक पुनः दियो बलेको प्रतिक्रिया दिए।

प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन्।
‘यदी तपाईंमा अलिकति पनि लाज छ भने, अलिकति पनि घिन र नैतिकता छ भने राजीनामा दिनुस्,’ चितवनबाट मंगलबार साँझ प्रचण्डले भने।

उनले मूल पार्टीमा सांसदहरूलाई फर्कन आग्रह गरेका छन्।

शेर बहादुर देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका छन् ।

देउवाले मंगलबार प्रेस विज्ञिप्त जारी गर्दै भनेका छन्, ‘नेपाली कांग्रेस विघटित प्रतिनिधि सभा पुनर्स्थापना हुने गरी सम्मानीत सर्वोच्च अदालतले गरेको फैसलाको सम्मान गर्दै स्वागत गर्दछ ।’

दमननाथ ढुंगाना

पूर्वसभामुख दमननाथ ढुंगानाले संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाले संविधान लिगमा आएको बताएका छन् ।

संवैधानिक इजलासले मंगलबार संसद विघटन गर्ने निर्णय खारेज लगत्तै उनले भने, ‘यो फैसलाले संविधान लिगमा आएको छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले औचित्यहिन कारण देखाएर गरेको असंवैधानिक संसद विघटन अदालतले खारेज गर्नु स्वागत योग्य भएको उनको भनाइ छ ।

संसद पुनर्स्थापनाको पक्षमा धारणा राखेका कारण अदालतको अवहेलना सम्बन्धी मुद्दा खेपीरहेका ढुंगाना न्याय र विधिको पक्ष लिँदा आफूमाथि व्यक्तिगत रुपमा प्रहार भएको बताए ।

पूर्व प्रधानन्यायाधीश सुशीला कार्की
पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने अदालतको निर्णयले सर्वोच्च अदालतको सम्मान झनैं बढाएको बताएकी छिन्। कान्तिपुर टेलिभिजनसँगको कुराकानीमा पूर्व प्रधान न्यायाधीश कार्कीले अदालतको निर्णयले संसददेखि अदालत समेतलाई बलियो बनाएको टिप्पणी गरेकी छिन्।

रविन्द्र मिश्र

विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले सर्वोच्च अदालतले संसद पुनर्थापना गर्ने निर्णय गरेकोमा स्वागत गर्दैं जे हुनु पर्थ्यो, त्यहीँ भएको प्रतिक्रिया दिएका छन्।

मंगलबार साँझ सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै उनले भने, ‘जे हुनु पर्थ्यो, त्यो भयो। सर्वोच्चको आजको फैसलाले दूरगामी ऐतिहासिक महत्व राख्नेछ। लोकतन्त्र र संविधानवादको चीरहरण गरेर लोकतान्त्रिक माध्यमबाटै तानाशाह बन्ने ओलीको प्रयास विफल भएको छ। तर नेपाली राजनीतिमा ओली प्रवृत्ति समाप्त भएको छैन। ओलीको विकल्प देउवा, प्रचण्ड हुन सक्दैनन्।’

बाबुराम भट्टराई
उपचारको लागि भारतमा रहेको जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा।बाबुराम भट्टराईले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरेर लोकतन्त्रको रक्षा गरेको बताएका छन् । उनले ट्वीट गरेर प्रतिनिधि सभा पुनर्स्थापना भएकोमा खुसी व्यक्त गरेका हुन् ।

‘कस्तो सुखद संयोग १ अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षणको प्रतिवेदन पर्खंदैगर्दा मनचाहिँ देशभित्र सर्वोच्चको फैसलातिर थियो । हिन्दू मिथकको भष्मासुरलाई बिष्णुले मोहिनी रूप धारण गरेर वध गरे झैं सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोगै हराए झैं भो ’ उनले ट्वीटरमा लेखेका छन् ।

कांग्रेस
नेपाली कांग्रेसले सर्वोच्चको फैसला लोकतन्त्रको पक्षमा ऐतिहासिक भएको जनाएको छ।

प्रतिनिधि सभा विघटनलाई सार्वेच्च अदालतले बदर गरेपछि छोटो प्रतिक्रिया दिँदै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, सर्वोच्चको फैसलाले अधिनायकवादको पराजय भएको छ। सर्वोच्चको अदालतले जनताको पक्षमा ऐतिहासिक फैसला गरेको छ।’

झलनाथ खनाल
नेकपाका वरिष्ठ नेता झलनाथ खनालले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला सुनाएर प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिक्रान्तिकारी कदम सच्याइदिएको बताएका छन् ।

गगन थापा
नेपाली कांग्रेसका नेता गगन थापाले सर्वोच्च अदालतले संविधानको रक्षा गरेको बताएका छन् । प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय बदर गर्ने सर्वोच्चको फैसलापछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले न्यायालयप्रतिको विश्वास बढेको प्रतिक्रिया दिएका छन् ।

‘संविधानविरुद्ध षड्यन्त्र र सेटिङको शासन गर्ने प्रधानमन्त्रीको दुस्साहसलाई खारेज गर्दै सर्वोच्च अदालतले संविधानको रक्षा गरेको छ,’ सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखका छन्, ‘अदालतले विना भय र दवाव, विवेकसम्मत रुपमा संविधानको पक्षमा दृढतापूर्वक आफूलाई उभ्याउदै न्यायालयप्रतिको जनविश्वासलाई थप उच्च बनाएको छ।’

विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सर्वोच्च अदालतको फैसलाले अधिनायक आकांक्षा समेत बदर भएको टिप्पणी गरेका छन् ।

मंगलवार सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनस्र्थापना गरेको छ ।

सर्वोच्चको फैसलाले संविधानको रक्षा गर्दै जनताको जीत भएको बताएका छन् ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत

जनकपुरधाम(प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नैतिकताको आधारमा प्रधानमन्त्रीलाई राजिनामा दिनुपर्ने बताएका छन्।

सर्वोच्च अदालतले संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णयलाई बदर गरेपछि मुख्यमन्त्री राउतले यस निर्णयलाई सहि भनेका छन्।

उनले सर्वोच्चको यस निर्णयलाई सही भनेका छन्।

नारायण वाग्ले

सर्वोच्च अदातलको संसद पुनःस्थापना गर्ने निर्णयलाई स्रष्टा तथा नागरिक समाजका अभियन्ताहरूले स्वागतयोग्य भनेका छन् । निरन्तर आन्दोलनको अग्रपंक्तिमा देखिएका लेखक तथा नारायण वाग्लेले सर्वोच्चको निर्णय आम नागरिकको पक्षमा भएको बताए ।

मोहना अन्सारी
राष्ट्रिय मानवअधिकार आयोगको पूर्वसदस्य मोहना अन्सारीले संविधान बिक्री गर्ने शक्तिलाई ठूलो जवाफ आजको सर्वोच्चको निर्णयले मिलेको बताइन् । सर्वोच्चले शक्ति पृथकीकरणको राम्रो नमुना स्थापित गरिदिएको उनको तर्क छ ।

‘सरकार आफैं संविधानलाई खत्तम बनाउने गतिमा लागेको थियो । सर्वोच्चले शक्ति पृथकीकरणको राम्रो नमुना स्थापित गरिदिदएको छ । न्यायपालिकाले शक्ति पृथकीकरणको गरिमालाई बढाइदियो,’ उनले भनिन् । प्रधानमन्त्रीको दम्भ र घमण्डको जवाफ अहिले मिलेको उनले बताइन् ।

 माधव नेपाल

 प्रचण्ड नेपाल पक्षका नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा पुनस्थापना गर्ने अदालतले ऐतिहासिक फैसला सुनाएर लोकतन्त्रको रक्षा गरेको बताएका छन् ।

नेपालले सामाजिक सञ्‍जालमार्फत संवैधानिक अपेक्षा र जनभावना अनुसार अत्यन्तै प्रशंसनीय र ऐतिहासिक फैसला सुनाएर लोकतन्त्रको रक्षा गरेकोमा सर्वोच्च अदालतप्रति आभार पनि व्यक्त गरेका छन् ।

‘ऐतिहासिक फैसलाले जनताको जित भएको छ । संविधानका प्रावधानलाई मिचेर केपी ओलीले गरेको प्रतिनिधिसभा विघटन प्रतिगमनकारी थियो । सम्मानित सर्वोच्च अदालतले सम्पूर्ण नेपाली जनता, आन्दोलनमा उत्रेका राजनीतिक दलहरु, नागरिक समाज, मिडिया, समाजका सबै तहका जनतालाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’