भौगोलिक बनावटको हिसाबमा अति विकट भए पनि प्राकृतिक सुन्दरताले र अमूल्य जडीबुटी, दुर्लभ वन्यजन्तुले गर्दा कर्णाली प्रदेश नेपालकै धनी मानिन्छ। नेपालकै सबैभन्दा ठूलो ताल रारा, गहिरो ताल फोक्सुन्डो र विश्वप्रसिद्ध बुलबुले ताल यही प्रदेशमा पर्दछ।

नेपालकै सबभन्दा लामो नदी कर्णाली र ठूलो झरना पंचाल झरना पनि कर्णालीमै पर्दछन्। यहाँ नेपालकै दुर्लभ मानिने कस्तुरी मृग, रातो पाण्डा, डाँफे आदि पशुपंक्षी पाइनुको साथै (जीवन बुटी) यार्सागुम्बा, पाँचऔले (हातेजडी), शिलाजित जस्ता थुप्रै औषधिजन्य जडीबुडी प्रशस्तै पाइन्छन्।

कर्णाली प्रदेश नेपालको सबैभन्दा ठूलो प्रदेश हो। राष्ट्र भाषाको उद्गम स्थल सिञ्जा उपत्यका पनि यही प्रदेशमा पर्दछ। विश्वकै अग्लो स्थानमा फल्ने जुम्ली मार्सिधान कर्णाली प्रदेशको जुम्ला जिल्लाको छुमचौर जिउलामा फल्दछ। त्यस्तै जुम्लामा फल्ने ओखर स्याउ र स्याउबाट बनेका विभिन्न ब्रान्डहरु विश्व बजारमा प्रख्यात छन्।

नेपालको भौगोलिक राजनीतिक आर्थिक सामाजिक रुपले पछाडि पारिएको तर प्राकृतिक सांस्कृतिक ऐतिहासिक दृष्टिकोणले अति नै धनी कर्णालीको आफ्नै पीडा र बेदनाहरु छन्। कर्णालीमा स्रोत छ, साधन र पहिचान छैन। स्वर्गकी अप्सरा रारा त्यस्तै फोक्सुण्डो ताल छ, त्यसको विकास भएको छैन।

सुनको सिरानी हालेर नुनको खोजीमा भौतारिँदै छ कर्णाली आज। विकासको अधिकतम सम्भावना र चुनौती बोकेको मूर्त कर्णाली बेदनाको भूमरीमा फसेर अबोध पीडाका साथ छट्पटाइरहेको छ। कर्णालीले आफ्नो विकास खोजिरहेको छ।

कर्णाली पछि पर्नुका मुख्य कारणहरु केके हुन् त?

१. अर्थ

  • उद्योगधन्दा कलकारखाना नहुँदा रोजगारीको अवसर अत्यन्त कम हुनु।
  • कर्णालीलाई विशेष आर्थिक क्षेत्र घोषणा नहुनु।
  • आम्दानीको नियमित स्रोत पहिचान नहुनु।
  • केही सम्पन्नहरूको पुँजी कर्णालीभन्दा बाहिर जग्गा खरिद र घर निर्माणमा खर्च/ क्यापिटल फ्लो हुनु।
  • सहकारी संस्था साझेदारी व्यवसाय र ढुकुटी प्रणाली लागू नहुनु।

२. शिक्षा

  • आवश्यकताअनुसार विद्यालयको अभाव हुनु।
  • पाठ्यपुस्तकको अभाव हुनु।
  • पढाउनुपर्छ भन्ने मानसिकता कमी हुनु।
  • शिक्षालाई केवल जागिर खाने हतियार बाहेक अर्को नठान्नु।
  • प्राविधिक शिक्षालय नहुनु।
  • परेकाहरूमा पनि उच्च शिक्षा हासिल गर्नुपर्छ भन्ने मानसिकताको कमी।

३. स्वास्थ्य

  • सरसफाइ सम्बन्धी जनचेतनाको कमी।
  • प्राकृतिक र आयुर्वेदिक उपचार पद्धतिमा त्यति जोड नदिनु।
  • अस्पताल, दक्ष जनशक्ति, औंषधि र उपकरणको अभाव हुनु।

४. यातायात

  • यातायातको विकल्प हवाईसेवा बाहेक अर्को नहुनु र हवाइसेवा महंगो भएपनि नियमित नहुनु र सजिलै टिकट नपाउनु।
  • हवाई सेवामा व्यापक भ्रष्टाचार हुनु, सरोकारवालाहरु मौन रहनु।
  • सडक निर्माण तथा सुधार नहुनु कर्णालीका ट्रक, ट्याक्टर, बस, ट्याक्सी भनेका खच्चड, झोपा,घोडा चौंरी, गधा र भेडाबाख्रा हुनु र ती पनि लोप हुँदै जानु।

५. सञ्चार

  • दक्ष जनशक्तिको अभाव एवं सूचना केन्द्रको सुरुआत नहुनु।
  • कर्णालीमा सञ्चारको माध्यम अत्यन्त कम हुनु र भएका केही सञ्चारका माध्यम पनि विविध कारणले गर्दा सेवामा गुणस्तर नहुनु।
  • निष्पक्ष र व्यवसायिक मिडिया नहुनु।
  • पत्रकारको सुरक्षा नहुनु, सामुदायिक एफएममा सुधार र पत्रपत्रिकाको प्रकाशनमा कमी हुनु।

६. पर्यटन विकास

  • पर्यटन व्यवसाय विकासको लागि पूर्वाधारको तय नहुनु।
  • पर्यटन व्यवसाय सम्बन्धी स्कूलिङ तथा पर्यटकीय सम्भाव्य स्थलहरूको पहिचान नहुनु।
  • होटेल व्यवसायी ट्रेकिङ व्यवसाय र ट्रेकिङ रूट trekking route सम्बन्धी जानकारीमूलक कार्यक्रम नहुनु।

७. भौगोलिक विकटता तथा प्राकृतिक प्रकोप

  • वर्षेनी हुने हिउँ, असिना, बाढीपहिरो र खडेरी कर्णालीका लागि विकासका बाधक पक्षहरु हुन्।

८. प्राकृतिक स्रोत साधनको उपभोग र संरक्षण

  • कर्णालीका मठमन्दिर, गुम्बा, ताल, नदी, कुण्ड, तातोपानी, झरना, खोला चौर, खानीहरूको अनुसन्धान र संरक्षण नहुनु।
  • जैविक विविधताको खोज तथा अनुसन्धानमा कमी हुनु।
  • जडीबुटी संरक्षण, संकलन, प्रशोधन र व्यापारीकरणको अभाव हुनु।

९. नीति

  • कर्णाली नबुझेकाहरुबाट नीति निर्माण हुनु र परम्परागत संरचनामा सुधार नहुनु।
  • नीति निर्माणमा कर्णालीबासीको पहुँच नहुनु र स्थानीय आवश्यकताको धरातलमा नीति नबन्नु।
  • प्राकृतिक विविधतालाई ख्याल नगरी भौगोलिक विकटतालाई समस्या ठानी नीति बन्नु र क्षेत्रगत विकासमा ख्याल नगर्नु।

१०. केन्द्रिकृत राज्यसत्ताको दृष्टिकोण

  • भावनामा एकीकरण नगरी भूगोलमा एकीकरण गरिएको कथित राज्य एकीकरण पश्चात पनि कर्णाली प्रति शासकहरूले अविश्वास र आशंका उब्जनी उही पुरातन विजित दृष्टिकोण राखेको कारण।
  • केन्द्रीकृत हुकुमी सरकारको प्रशासनलाई नस्वीकार्ने बरु निरन्तर विद्रोहमा उत्रिरहेका कारण।
  • कर्णालीका जनताले बलिदानी गरे तर बहादुर शाहको सेनाको अगाडि आत्मसमर्पण नगरेका कारण।

११. शासन प्रणाली

  • सेवाको भावनाभन्दा जागिरे मानसिकताले ग्रसित कर्मचारीतन्त्र।
  • कर्मचारीहरुमा पारदर्शिता र उत्तरदायित्वको अभाव र सक्षम कर्मचारीहरु कर्णालीमा जान आनाकानी गर्नु।
  • अनुगमन, सुपरिवेक्षण र मूल्यांकनमा कमजोरी हुनु, गुणात्मक र परिणात्मक दुवै दृष्टिकोणले महिलाहरूको सहभागितामा कमी हुनु।
  • सूचना तथा संचारमा अध्यावधि नहुनु र कर्मचारीहरुमा दलीय दम्भता बढ्न गई कामकाजमा हेलचेक्राई हुन्।

१२. कृषि तथा पशुपालन

  • सिचाइँ प्राविधिक जनशक्ति र उत्प्रेरणाको अभाव हुनु र कृषिमा विविधीकरण व्यवसायीकरण र बजारीकरणको समस्या हुनु।
  • प्रांगारिक मलभन्दा रासायनिक मलको प्रयोगका कारण उत्पादनमा कमी हुनु।

१३. युवा तथा विद्यार्थीहरु

  • सिर्जनशीलता र दक्षतामा आफ्नो उर्जा खपत नगरी नकारात्मक आवेगमा समय व्यतित गर्नु।
  • सत्यता र युगीन आवश्यकताको आधारमा भन्दा बहकाउमा बढी भड्किनु।
  • अन्धभक्त भएर राजनीतिक दलको गोटी बन्नु र सानोतिनो काममा पनि तनावग्रस्त भएर दुरबेसनमा फस्नु।
  • पैसा, मोबाइल र शक्तिको पछि लाग्नु।

१४. जातीय अस्तित्वको सवाल

  • दलित महिला र जनजातिको क्षमतालाई नस्वीकार्नु।
  • जातीय उच्च-निचमको संकीर्णतामा फस्नु।

१५. बुद्धिजीवी

  • समाज रुपान्तरणको महान् अभियानमा लागेर खोज तथा अनुसन्धान नगर्न।
  • अवसर पाउँदा पढेलेखेको नाताले छिटो शक्तिकेन्द्र शक्तिकेन्द्र वरिपरि झुम्मिनु।

१६. नागरिक समाज

  • नागरिक समाज दलीय समाजको रुपमा देखापर्ने दलीय एजेन्डाको वकालत गर्नु।
  • जीवन्त र गतिशील नागरिकसमाज नहुनु र संघर्षभन्दा अवसरमा बढी अघि सर्नु।
  • निरन्तर खबरदारीको अभाव हुनु।

१७. मनोविज्ञान

  • आफूभित्रको क्षमताको पहिचान नगरी अरूको पछि लागेर समय खेर फाल्नु।
  • हामी त कर्णालीका हौँ, के गर्न सक्छौं भन्ने मानसिकताको प्रभाव पर्नु।
  • जोखिम उनले सास पटक्कै नगर्नु र सानोतिनो समस्यासँग नजुधी अरूको भरमा पर्ने बानीको विकास हुनु।

१८. जलस्रोतको धनी भएता पनि विद्युत उत्पादन र खानेपानी नहुनु।

१९. नेतृत्व शैली कमजोर हुनु।

२०. सशक्त सुरक्षा निकाय नहुनु।

२१. मर्यादित न्यायप्रणाली नहुनु।

कर्णाली समस्याको खाल्डो मात्र होइन, सम्भावनाको सरोवर हो। वन्यजन्तुको आरक्षण केन्द्र हो। कृषि विविधीकरणको सम्भावित क्षेत्र हो। वनस्पतिको भण्डार हो। बन्यजन्तुको आरक्षण केन्द्र हो।

साहसिक पर्यटनको उच्च सम्भावना भएको क्षेत्र हो। पूरातात्विक सम्पदाको संग्रहालय हो। जलस्रोतको मुहान हो। नेपाली लोकसंस्कृतिको साक्षत प्रतिनिधि हो। सामाजिक तथा सांस्कृतिक रुपले अनुपम पूलबारी हो।

खनिज सम्पदाको सम्भाव्य क्षेत्र हो। जलश्रोतको मुहान हो। नेपाली भाषाको आधारस्तम्भ पनि कर्णाली हो। त्यसैले कर्णालीको प्रचारप्रसार गरेर कर्णालीको विकास र समृद्धितर्फ अघि बढ्नुपर्छ।