काठमाडौं । मुलुकका सातै वटा प्रदेशमा ५/५ वटासहित देशभर कूल ५० चार्जिङ स्टेशन निर्माणका लागि प्रक्रिया अन्तिम चरणमा पुगेको नेपाल विद्युत् प्राधिकरणले उल्लेख गरेको छ ।
चार्जिङ स्टेशनको माग बढेसंगै प्राधिकरणले कामको थालनी अघि बढेको थियो । स्टेशन निर्माणका लागि एशियाली विकास बैंकले आर्थिक सहयोग गर्ने भएको छ ।

यस्तै चार्जिङ स्टेशनमा चार्ज गर्न चाहने सवारी साधनले कार्ड स्वाप गरेर भुक्तानी गर्न सक्ने प्रणाली जडान गरिनेछ । कति मिनेट चार्ज गर्ने वा कति पैसाको चार्ज गर्ने हो सोही अनुसारको व्यवस्था गरिनेछ ।

प्राधिकरणको योजना अनुसार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा १० वटा त्यस्ता स्टेशन निर्माण गरिनेछ । यस्तै ७ वटा प्रदेशमा पहिलो चरणमा ५/५ वटा त्यस्ता स्टेशन निर्माण हुनेछन् । बाँकी रहने ५ वटा भने आवश्यकताका आधारमा निर्माण गर्ने तयारी गरिएको छ । ती स्टेशन निर्माणका लागि कूल ६० करोड रुपैयाँ खर्च लाग्ने अनुमान छ ।