काठमाडौं । बालाजु बाइपास सडकको विरोध गर्दा पक्राउ पर्ने सडक विस्तार पीडित तथा अभियन्ताहरूलाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको छ ।

महानगरीय प्रहरी वृत्त, बालाजुले गत बुधबार काठमाडौं महानगरपालिकाले बाइपास सडकमा बनाउन लागेको सूचना केन्द्रका बारहरू भत्काएको भन्दै ६ जना स्थानीयलाई पक्राउ गरेको थियो । सुरूमा प्रहरीले मीनबहादुर शाही, महेश्वर मानन्धर, सञ्जय तामाङ, दिपेन श्रेष्ठ, भीमदेव श्रेष्ठ र रूचित श्रेष्ठलाई पक्राउ गरी लगेको थियो । त्यस्तै उनीहरूलाई पक्राउ गरेपछि काठमाडौं उपत्यका सडक विस्तार पीडित संघर्ष समितिका अध्यक्ष सुमन सायमि र विरोचन श्रेष्ठ प्रहरी कार्यालयमा पुगेका थिए ।

त्यही क्रममा उनीहरूले पक्राउ पर्नेहरूसँग नेपाल भाषामा संवाद गरेका थिए । प्रहरीले नेपाल भाषामा बोल्न रोकेपछि विवाद भएको थियो। त्यसैक्रममा अभियन्ता दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।