जनकपुरधाम । दलालहरूले पैसा लिएर काम गर्ने गरेको सूचनाका आधारमा नेपाल प्रहरीले यातायात कार्यालय जनकपुरमा छापा मारेको छ ।

सेवाग्राहीको गुनासो बडेपछि यातायात कार्यालयमा भ्रष्टाचार तथा विकृति बढेको भन्दै छापा मारेर पक्राउ गरिएको धनुषाका प्रहरी प्रमुख प्रकाश रानाभाटले जानकारी दिए । सेवाग्राहीबाट मोलमोलाइ गरी रकम लिएर काम समेत नगर्ने गरेको तथा रकम चलखेलमा सक्रिय दलाललाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको रानाभाटले बताए ।

जनकपुरको मुजेलिया स्थित यातायात कार्यालयमा धनुषा प्रहरीले आज छापा मारेर १५ जनालाई नियन्त्रणमा लिएको हो ।

सवारी चालक अनुमति पत्र लाइसेन्स बनाउन दलालहरूले सेवाग्राहीबाट रकम लिने र कार्यालयका कर्मचारीहरूसँग मिल्ने गरेको कुरा पटक पटक आइरहेपनि प्रहरीले यत्ति बेला आएर छापा मारेको हो ।

धनुषा प्रहरीले गरेको छापाबाट कार्यालय परिसरमा रहेका (दलाल) एजेन्टहरूलाई नियन्त्रणमा लिएको हो ।

कार्यालयबाट श्याम सुन्दर यादव, गौरीशङ्कर नायक, योगेन्द्र कुमार यादव, अरीफ राईन, भवीद्द्न साह, सञ्जय साह, उमेश कुमार महतो, ध्रमेन्द्र कुमार यादव सहित १५ जना एजेन्टलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले नियन्त्रणमा लिएका एजेन्टहरूले यातायात कार्यालयका कर्मचारीलाई पनि पक्राउ गर्नुपर्ने बताएका छन् ।