काठमाडौं । यस वर्षको महालक्ष्मी साहित्य पुरस्कार २०७७ बाट साहित्यकार तथा सञ्चारकर्मी डा नवराज लम्साललाई पुरस्कृत गरिने भएको छ । महालक्ष्मी विकास बैंक लिमिटेड र मातृभूमि साहित्य समाज मकवानपुरले संयुक्तरुपमा प्रदान गर्दै आएको यो पुरस्कार यस वर्ष लम्साललाई प्रदान गरिने भएको हो ।

पुरस्कार नगद राशि रु ५१ हजारसहित सम्मानपत्र रहने छ । गतवर्षसम्म रु २१ हजार एकको रहेको महालक्ष्मी साहित्य पुरस्कारको राशि यस वर्षबाट वृद्धि गरी रु ५१ हजार बनाइएको बैंकका शाखा प्रबन्धक शम्भुप्रसाद पराजुलीले जानकारी दिए । सामाजिक उत्तरदायित्व निभाउँदै बैकले साहित्य क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कृत गर्दै आइरहेको पराजुलीले जानकारी दिए।

यही फागुन २९ गते एक कार्यक्रमको आयोजना गरी महालक्ष्मी साहित्य पुरस्कारबाट डा लम्साल, मातृभूमि राष्ट्रिय सम्मान २०७७ बाट कवि देवराज खरेल र मातृभूमि मकवानपुरश्री सम्मान २०७७ बाट इतिहास लेखक केदारप्रसाद न्यौपानेलाई सम्मान गरिने छ । सोही दिन कवि दिनेश शर्मा न्यौापानेको कविता सङ्ग्रह विमोचन गरिनेछ ।

यसैबीच मातृभूमी साहित्य समाज मकवानपुरले आगामी फागुन २८ गते शुक्रबार एक कार्यक्रम आयोजना गरी विभिन्न विधिमा १५ साहित्य सम्मान प्रदान तथा पुरस्कार प्रदान गर्ने भएको छ । कोरोनाका कारणसहित विभिन्न समस्याले प्रदान गर्न बाकी रहेका गत वर्षका सम्मान र पुरस्कार यसै वर्ष प्रदान गरिने गरी कार्यक्रमको आयोजना गर्न लागिएको संस्थाका अध्यक्ष माधव पोख्रेलले जानकारी दिए। अन्य पुरस्कार मातृभूमि राष्ट्रिय पुरस्कार, २०७७ बाट संयुक्तरुपमा नाट्यकर्मी सुनिल पोखरेल र निशा शर्मा पोखरेललाई, ईश्वरी स्मृति–मातृभूमि पुरस्कार,२०७५ बाट गजलकार पुष्प अधिकारी, ईश्वरी स्मृति–मातृभूमि पुरस्कार,२०७६ बाट मिथिला नाट्यकला परिषद्, नित्य गोविन्द स्मृति–मातृभूमि सङ्गीत पुरस्कार २०७६ बाट बाबु क्षेत्रीलाई प्रदान गरिने छ ।

रासस