एकदिन म सडकमा फालिएका प्लास्टिकका सामान बटुल्दै थिएँ । कपडा पुराना, ठाउँ ठाउँमा च्यातिएका र टालिएका थिए तर मनमा भने अनेकौँ नयाँ नयाँ सपना तँछाडमछाड गर्दै थिए । यसरी बटुलेका प्लास्टिकका भाडा,पुराना टिन, सिसी आदि बेचेर पैसा कमाइ स्कुलको फिस तिरौँला र एक जोर नयाँ ड्रेस पनि किनौँला मनमा सोचिरहेको थिएँ । ‘ओइ खाते !’ आवाजले म झस्किएँ । यसो मुन्टो उठाएर हेरेँ । नयाँ सुटबुटमा सजिएको, कालो चस्मा र हातमा गोल्डेन कलरको टिलिक्क टल्कने घडी लगाएको मान्छे हातमा रेडबुलको डिब्बा लिएर मेरो नजिकै आयो र भन्यो ‘ला यो पनि लैजा’ । म केही नबोली हातमा लिएर बोरामा हालेँ । ऊ केही नबोली आफ्नो बाटो लाग्यो म पनि त्यहाँबाट हिँडेँ । तर उसका शब्दले भने मलाई असाध्यै दुखायो । एकमनले म यही शब्दको लायक भएको महसुस गरेँ अनि काममा लागेँ । सोचेँ भोलि स्कुलमा जाँच फिस तिर्नु छ, भर्ना फिस अहिलेसम्म तिरेको छैन । आज तीन सय कमाउन सकेँ भने त दुई हजार रुपैंया भइहाल्छ अनि तिर्नु पर्ला ।

भोलिपल्ट म स्कुल गएँ । स्कुलको फिस दिन लेखाको अफिसमा गएँ । फिस लिँदा सरले अलि मुख बङ्ग्याउँदै ३ महिनापछि बल्ल दिइस् भन्नु भो । पैसा दिएर म केही नबोली कक्षाकोठातिर लागेँ । कक्षाका साथीहरू पनि मसँग त्यति बोल्दैनथे । यो सम्झेर नरमाइलो लाग्थ्यो मन रुन्थ्यो तर कसैलाई केही भनिन । कहिले काहीँ त सरहरुले भनेका कुराले पनि मन दुख्थ्यो । ड्रेसका कुरा गर्दा कापी किताबका कुरा गर्दा मलाई नै भने झैँ लाग्थ्यो । मेरा कपडा राम्रा थिएनन् । कहिले त म ड्रेस पनि नलगाई विद्यालय जान्थेँ । जुत्ता पनि थिएनन् मेरा ।

एकदिन साथीहरू खाजा खान क्यान्टिनतिर जाँदै थिए । म पनि उनीहरूसँग सँगै जान्छु भने । पवनले मलाई “छि ! पाखे , आफ्नो औकात हेरेको छस् ? हामीसँग हिँड्ने” भन्दै गाली गर्‍यो । म एक्लै खाजा खाएर कक्षामा फर्केँ । चारबजे घर आएर खाजा पनि नखाई भुइँमा पल्टिए । होमवर्क गर्न पनि मन लागेन । मन असाध्यै बेचैन भयो । म पनि धनी घरमा जन्मेको भए ,मेरा बाबाआमा जागिरे भएको भए ,हाम्रो पनि एउटा ठुलो घर हुन्थ्यो होला, काम नगरे नि मीठो मीठो खान र राम्रा राम्रा कपडा लगाउन पाउँथे होला ! स्कुलको फिस आफै तिर्नु पर्दैनथ्यो ..मनमा अनेक कुरा खेले । आज बेस्सरी रुन मन लागेको थियो । सधैँ आँसु लुकाउने म आज सकिन । रुँदा रुँदै कति बेला आँखा लागे पत्तै भएन ।

बिहान ६ बजे बल्ल आँखा खुले । मन हलका भएको थियो । आफै कमाएर पढेकोमा गौरवको अनुभूति भयो । अब झन् मन लगाएर पढ्ने निधो गरेँ । मलाई अपमान र तिरस्कार गर्ने साथीहरूसँगको सङ्गत छोडेँ । उनीहरूका कुराहरूको वास्ता गरिनँ । मेरो एउटै सपना थियो पढेर डाक्टर बन्ने ,राम्रो घर बनाउने अनि गरिबहरूको निःशुल्क उपचार गरी समाजसेवा गर्ने । मेरो ध्यान अब पढ्नतिर मात्र केन्द्रित भयो ।

दिनहरू बित्दै गए । पढाइ पनि राम्रो हुँदै गयो । कक्षामा प्रथम हुन थाले । छात्रवृत्ति पर्न थाल्यो । अब पढाइका लागि खर्च गर्नु पर्ने दिन गए । मलाई तिरस्कार गर्नेहरू नजिक हुन थाले तर म आफ्नो लक्ष्य उन्मुख भएँ । यत्तिकैमा मेरो एस.एल.सी परीक्षा नजिकिँदै थियो । म झन् झन् मेहनत गर्न थाले । चैत्रमा परीक्षा भयो ।

असारको पहिलो हप्ता रिजल्ट आयो । मेरो ९२ प्रतिशत आएको रहेछ । देशकै टप टेनभित्र परेछु । जिल्लाको त फस्ट नै थिएँ । घर परिवारदेखि विद्यालय ,समाज अनि जिल्लाभरि चर्चा भयो । राम्रा राम्रा कलेजबाट निःशुल्क पढाइदिने कुरा आउन थाल्यो । म साइन्स पढेर पछि डाक्टर बन्न चाहन्थेँ । म डाक्टर बन्न चाहनुको कारण मेरी बहिनी थिई जुन आज मसँग थिइन । मलेरियाका कारण तीन बर्षकै उमेरमा मेरै आँखा अगाडि उसको मृत्यु भएको थियो । त्यति बेला राम्रो उपचार गर्न आमासँग पैसा थिएन । उसले अकालमै मर्नु पर्‍यो । आजकल मेरो तिहार रोएरै जान्छ । याद त सधैँ आउँछ तर तिहारमा भने आफूलाई समाल्नै सक्दिन । म डाक्टर बनेर गरिबहरूको निःशुल्क उपचार गर्न चाहन्थेँ ।

मैले त्रिचन्द्र कलेजमा साइन्समा प्लस टु सकेँ । त्यसपछि त्रिभुवन युनिभर्सिटीमा नाम निकालेर एमबिबिएस पढेँ । एमबिबिएस पास गरेको दुई बर्षपछि एम.डी पनि छात्रवृत्तिमै पढ्ने अवसर पाएँ । विद्यालयबाट छुटेका साथीहरूसँग यो समयमा कहिल्यै भेट भएन । म पनि पढाइमै एकोहोरो भएको थिएँ । मेरो एउटा असल अनि सफल डाक्टर बन्ने सपना अर्जुन दृष्टिजस्तै थियो । सबै चाहना डाक्टरमै समाहित भएका थिए । म बिस्तारै गन्तव्य नजिक पुग्दै थिएँ । आखिर त्यो दिन आयो । म डाक्टर बनेर गाउँ फर्किएँ । घरमा खुसीयाली छायो । आफन्त , विद्यालयका सरहरूलगायत चिनजान नभएकाहरूले पनि बधाई दिन थाले । आज बल्ल स्कुले दिन, ती साथीभाइ सबैको याद आउन थाल्यो । ९ वर्ष अगाडिको त्यही रात याद आयो जुन रात म भोकै भुईँमै रुँदै कटेको थिएँ । त्यही रातको सङ्कल्पले दिएको सफलता थियो यो । त्यस्तै गुन्द्री ओछ्याएर एकछिन भुईँमै पल्टेँ । आँखा आज पनि रसाए तर आजका आँसु खुसीका थिए ।

आमाका ठेला परेका हातलाई विश्राम दिने बेला आएको थियो । चुहिने छाप्रोको ठाउँमा सानो नचुहिने घर बनाउनु थियो । बिरामी बाबुको उपचार र हेरविचार गर्नु थियो । आफ्नो मनलाई त सोध्नै पाएको थिइनँ के चाहन्छ ? सबै रहरहरूलाई तिलाञ्जली दिएर यहाँसम्म पुगेको थिएँ । मन आफ्नै हो सोधौँला कुनै दिन भनेर चित्त बुझाएको थिएँ । पहिला छोरो हुनुको अनि डाक्टर हुनुको कर्तव्य जो पूरा गर्नु थियो मैले । देश र जनताको स्वास्थ्यको जिम्मेवारी थियो ममाथि । घरपरिवारका समस्या बिस्तारै समाधान हुँदै गए । आइतबारदेखि शुक्रबारसम्म भरतपुर सरकारी हस्पिटलमा काम गर्न थालेँ भने शनिबार आफ्नै घरमा गरिबहरूलाई निःशुल्क चेकजाँच गर्न सुरु गरेँ । विभिन्न संस्थाले औषधी निःशुल्क उपलब्ध गराएका थिए । पैसा नहुनेले औषधी पनि फ्रीमा पाउँथे । जुन कामबाट मलाई थोरै भए पनि सन्तुष्टि मिलेको थियो ।

एकदिन डाक्टरहरूको कार्यक्रम थियो । जिल्लका धैरै डाक्टरहरूको उपस्थिति थियो । त्यही भिडमा पवनसँग भेट भयो । मैले के छ पवन भनेर बोलाएँ तर ऊ अकमकिए झैँ गरी “ए..ए तिमी पो ! कस्तो नचिनिने भएछौ” भन्दै अङ्गालो हाल्यो । ऊ र म कक्षा १० बाट छुटेका थियौँ । ऊ यही होटेलको वेटर रहेछ । केही समयको गफपछि उसले मलाई भन्यो “तिमी कस्तो मान्छे कस्तो भएछौ है ?” उसको बोली टुङ्गिन नपाउँदै मैले भनेँ के गर्ने आफ्नो औकातको खोजीमा यहाँसम्म पुगेँ । धन्यवाद ! तिमीलाई तिम्रो त्यो दिनको बोलीकै कारण आज म यो ठाउँमा छु । उसलाई नराम्रो लागेछ क्यारे काम छ भन्दै बिदा भयो । मलाई मनमा एक किसिमको सुकुन मिल्यो । मनमनै पवनलाई धन्यवाद दिएँ जसको कारण मेरो औकात बदलिएको थियो ।

रीता काफ्ले
ज्ञानोदय मा.वि कक्षा १०