‘जीवन ‘ जति सरल शब्द त्यो भन्दा बढी ओजपूर्ण परिभाषा अनि अर्थ रहेको छ, जसलाई एउटा अनुपम कलाको रूपमा मान्न सकिन्छ। जसले यो कलालाई जानेर, बुझेर आफूलाई त्यसैमा लिन गराउन सक्यो उसको लागि जीवन ईश्वरीय वरदान हो भने जसले यसलाई मिथ्या ठान्दछ उसका लागि जीवन अभिशाप हो। तसर्थ, जीवनको मूल्य बुझौ र अहिलेबाट यसको अवमूल्यन को सट्टा महत्त्वलाई आत्मसात् गरी व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर मानव समुदाय हितका लागि सोचौँ। 

‘लक्ष्य के लिनु उडी छुनु चन्द्र एक’ , महाकवि लक्ष्मी प्रसाद देवकोटाको सदाबहार सान्दर्भिक अनि हृदयस्पर्शी उद्धरण, जसले जो कोहीलाई जहिले पनि आफ्नो लक्ष्यप्रति उत्तिकै लगाव राख्न हरदम प्रेरित गरिरहन्छ। हो, हामी आफ्नो लक्ष्यप्रति जहिल्यै पनि स्पष्ट, दूरगामी अनि अडिग हुनुपर्छ। तब मात्र हामी आफ्नो लक्षित समयमा आफ्नो लक्ष्यमा पुग्न सफल हुन्छौं। लक्ष्य प्राप्तिको लागि कर्म गर्नु अपरिहार्य छ। यस कारण हामीले गर्न खोजेका कार्य बोलीबाट नभई कार्यबाट प्रस्तुत गर्नु अति आवश्यक छ। कर्म गर तर फलको आस नगर । यसको अर्थ यो हो कि तिमी समय सापेक्ष कर्म गर्दै जाऊ जसको फल प्रत्यक्ष, अप्रत्यक्ष, शीघ्र वा दीर्घकालीन रूपमा अवश्य प्राप्त हुन्छ। 

हामी जहिल्यै पनि यस्तो कर्म गर्नमा तत्पर हुनुपर्दछ, जसमाथि हामी आफैमाथि मात्र नभई पुरै समाजले गर्व गर्न सकोस्। हामीले राखेको लक्ष्य प्राप्तिका लागि गरेका कार्यविधिले सबैको हृदय पुलकित होओस् नकि कसैको मनलाई ठेस पुगोस्। यस क्रममा हामी आफ्नो सही बाटो पहिल्याउन असमर्थ हुन सक्छौ, यस कारण सुरुवाती अवस्थामा नै आफ्नो सही पथको पहिचान गरी आफ्नो गन्तव्य स्थानतर्फ सदा सर्वदा उन्मुख भइरहनु पर्दछ। जीवनमा लक्ष्य हासिल गर्ने सिलसिलामा अनेकन बाधा अड्चनहरू को सामना गर्नुपर्दछ। यदि हामीमा दृढ सङ्कल्प, धैर्य, परिश्रमी, कडा मेहनत, लगनशील, आत्मविश्वास तथा आत्म प्रेरित जस्ता गुण छन् भने हामीले अवश्यै आफ्नो लक्ष्य प्राप्त गर्न सक्छौ। यसैमा मैले सन्दर्भ जोड्न चाहे स्वामी विवेकनन्दको, जो ज्ञान प्राप्त गर्ने क्रममा भारतको विभिन्न स्थानहरू भ्रमण गर्ने बेलामा नयाँ दिल्लीको एक स्थानमा आइपुगे जहाँ धेरै सङ्ख्यामा बाँदरहरू थिए। जब उनी अघि जान अगाडि बढे, ती बाँदरहरू ले उनलाई आक्रमण गरे र उनी डराएर पछि हटे। त्यसै क्षण त्यहीँ रहेका एक साधुले उनलाई सुझाए – डराएर होइन छाती फुलाएर अगाडि बढ्नुहोस्। नभन्दै स्वामी विवेकनन्द निडर भई पूर्ण आत्मविश्वासका साथ अघि बढे अनि बाँदरहरू आफसे – आफ त्यहाँ बाट लाखा पाखा लागे। यस बाट हामीले के शिक्षा ग्रहण गर्न सक्छौ भने हामी जीवनमा लक्ष्य प्राप्ति गर्ने दौरानमा आफ्ना विपरीत स्थितिको सामना गर्नु पर्‍यो भन्दैमा त्यसबाट भाग्न खोज्ने होइन कि बरु निर्धक्क भएर छाती फुलाएर दृढ निश्चय ले अग्रसर हुनुपर्दछ। यसरी निश्चिन्त रूपमा जीवनको लक्ष्य हासिल गर्न सकिन्छ। 

अन्त्यमा, जीवन एक उत्सव हो, वरदान ईश्वरको। प्रत्येक पल, प्रत्येक दिन हामीले यसको महत्त्व बुझ्नु अति जरुरी छ। हर क्षण हामीले आफूलाई खुसी बनाई प्रत्येक पल उत्सवमय बनाउनुपर्दछ र गगन रुपी लक्ष्यलाई हासिल गरेर नै छोड्नु पर्दछ।