‘ती सहिदको रगतले पोल्छ हामीलाई
ती घाइतेको आँसुले पोल्छ हामीलाई
अभियान छोडेर नजाउ साथी हो
एकता तोडेर नजाउ साथी हो
मूलबाटो मोडेर नजाउ साथी हो ।’

गत पुष ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले हठात् प्रतिनिधिसभा विघटन गरे । प्रधानमन्त्री ओलीले आफूलाई कामै गर्न नदिएको भन्दै चलायमान सभालाई एकाएक मृत घोषणा गरे । त्यसपछि नेपाली राजनीतिमा नयाँ तरङ्ग उत्पन्न भयो । विशेषगरी तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नयाँ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) त्यसपछि दुई धारमा विभाजित भयो । दुबै समूह फरकफरक अभियानका साथ सडकमा देखिए । ओली समूह देशव्यापी निर्वाचनको माहोल लिएर देशव्यापी सडकमा उत्रियो, प्रचण्ड-माधव समूह प्रतिनिधिसभा पुनस्थापना हुनुपर्छ भन्ने मागसहित सडकमा उत्रियो । कोभन्दा को कम ? कसको पक्षमा जनलहर ? को धेरै शक्तिशाली ? यावत् रिसिवीका साथ दुवै समूहको सडक प्रदर्शनहरु भव्य भए जुन हेर्न लायक थिए ।

भिडीयो:

गायक बैकुण्ठ महतलाई घरभित्रकै दाजुभाइहरु यसरी लडिरहेको चित्तै बुझेन । आफ्नै दाजुभाइहरु टुटफुटमा होमिदा परिवार बिथोलिन्छ, समाज बिथोलिन्छ र समग्र रुपमा त्यसको असर देशमै पर्छ । त्यसकारण केही कुरामा फाटेको यो मनलाई सांगीतिक शब्दहरुमार्फत सिउन सकिन्छ कि भन्ने उनलाई लाग्यो । त्यसैले उनले लेखे यी माथिका शब्दहरु र भरे मुटु हल्लिने सङ्गीत र स्वर । उनले यो गीतका शब्दहरु संयोगले नेकपाभित्रको विवादका बेला रचेपनि समग्रमा यी शब्दले सबै क्षेत्रको प्रतिनिधित्व गरेका छन् । नेपालको राजनीतिमा त कहिले कुन पार्टी फुट्छ, कहिले कुन पार्टी कोसँग जुट्छ पत्तै हुँदैन । यस्तै विषयहरुमा आधारित रहेर यी शब्दहरु लेखिएका हुन । यथार्थ के भने गायक महतका यी शब्दहरुले राजनीतिमा भएको टुट्फुटलाई मात्र उजागर गरेका छैनन् । हरेक क्षेत्रमा सबै जुट्नुपर्छ, कोही फुट्नुहुँदैन भन्ने भाव उनका शब्दमा समेटिएको छ ।

उनी भन्छन्, ‘यो गीत कहिले कसको जस्तो देखिन्छ कहिले कसको जस्तो देखिन्छ । समग्रमा हेर्दा नेपाली राजनीतिमा परेको प्रभाव र त्यसको विषयमा गाइएको गीत अवश्य हो । तर यस्ता कुराहरु हरेक ठाउँमा लागू हुन्छन् । संयोगले कोसँग मिल्न जान्छ त्यति मात्रै हो । यो गित पहिले नेकपाको सन्दर्भमा मिलेजस्तो देखिन्थ्यो, अब अहिले फेरि समाजवादी पार्टीभित्र त्यस्तै हल्ला सुनिन्छ। भविष्यमा कोही पनि दलहरु नफुटुन, सबै जुटुन र देशलाई समृद्धि दिउन । सधैभरी विकास र समृद्धिका लागि कति आन्दोलन गरिरहने ?’

हिजो परिवर्तनका लागि ठूलाठूला आन्दोलनहरु गरियो, तिनै आन्दोलनमार्फत् जनतालाई समृद्धिको बाटो देखाइयो र हिँडाइयो क्रान्तिको बाटोमा । तिनै आन्दोलनमा होमिएका जनताका कयौं छोराछोरीहरु सहिद भएका छन्, कति घाइते भएका छन् । तर बिडम्बना सहिद भएकाहरुले उचित सम्मान पाउन सकेका छैनन् । घाइते भएकाहरुले उचित उद्धार र उपचार पाउन सकेका छैनन् । तिनैलाई प्रयोग गरेर आफू सत्ताको सिंहासनमा पुगेकाहरुले आज फेरि सत्ता नै चाहिन्छ भन्दै गर्दा विगतको इतिहास बिर्सिनु किमार्थ उचित हुँदैन । वर्तमान नेतृत्वले यही प्रवृत्ति अघि सारेको छ । तर जोसुकै हुन, जुन क्षेत्रमा आबद्ध हुन् नेतृत्वको यस्तो प्रवृत्तिलाई खबरदारी गर्न छोड्नुहुन्न ।

गायक महतले त्यही गरेका हुन् । उनी जसलाई सपना देखाएर राजनीति गरिँदै छ, त्यो सपना पूरा गर्ने दृढ क्षमता राजनीतिक नेतृत्वमा हुनुपर्छ भन्नेमा विश्वास गर्छन् । खाली आश्वासनका पोकाहरु मात्र देखाएर समृद्धि आउँदैन । यसले नेतृत्वको क्षमतालाई प्रष्फुटन गर्न सक्दैन । जनताले नेतृत्वको क्षमता पहिचान गर्ने भनेको उसको कार्यशैली र प्रवृत्तिबाट हो । वर्तमान नेतृत्वमा उनी यो क्षमता र प्रवृत्ति देख्दैनन् । होलान् एकाध नेतृत्वहरु । जसले क्षमता पनि प्रदर्शन गरे, सकारात्मक प्रवृत्ति पनि देखाए । तर तिनलाई कसले स्विकार्थ्यो ? जतिसक्दो छिटो तिनलाई बिदाई गरिन्छ ।

जनता सचेत गर्ने गीत गाउनैपर्छ

कलाकार राष्ट्रका गहना हुन् । उनीहरुले प्रत्यक्ष वा परोक्ष रुपमा राष्ट्रको उत्थानमा अहम् भूमिका खेलेका हुन्छन् । उनीहरु परिवर्तनका पनि संवाहक हुन् । उनीहरुले शब्द, संगीतमार्फत मनोरञ्जन मात्र दिँदैनन् यसका साथसाथै उनीहरुले सचेतना पनि प्रदान गर्ने गर्छन् । कसैले जीवनको यात्राको दौरानमा हैरान भएर आत्महत्याको बाटो पहिल्याउँदा त्यस्ता व्यक्तिलाई पुर्नजीवन दिन उनीहरु सफल भएका छन् । कुरीति, कुप्रथा र परम्परागत शैलीको समाजलाई समतामूलकसहितको आधुनिक समाज निर्माणमा उनीहरुको ठूलो हात छ । चाहे त्यो विकास र समृद्धि होस्, चाहे त्यो विकृति, विसंगति होस् या अन्य क्षेत्र । यी सबै क्षेत्रमा कलाकारको खबरदारी जारी नै छ ।

उनी पनि यही समूहमा पर्छन् । उनले अहिलेसम्म जतिपनि शब्द लेखेका छन्, जति गीतमा संगीत र स्वर भरेका छन् ती सबै गीतहरु कुनै न कुनै रुपमा परिवर्तनकारी भूमिकाका नामले परिचित छन् । उनी खास राजनीतिक एजेण्डा बोकेका गीतहरु गाउँदैनन् । तर बाहिरबाट हेर्दा उनले खास कुनै पार्टीप्रति सदभाव राखेर गीत गाएको जस्तो देखिन्छ । त्यो स्वाभाविक पनि हो । तर सत्य कुरा त्यो होइन । उनी यो कुरालाई स्वीकार गर्दैनन् । ‘देशको सम्पूर्ण बागडोर राजनीतिमा हुन्छ । परिवर्तनका गीतहरु गाउँदा कताकता राजनीतिसँग जोडिन्छ नै । माया, प्रेमभन्दा हामी बाहिर निस्कियौं भने राजनीतिमा जोडिनैपर्छ’, उनी भन्छन्, ‘हामीले राजनीतिक पार्टीका एजेण्डाहरु गाएका त छैनौ नि । जनतालाई सचेत गराउने गीतहरु हामीले गाउनुपर्‍यो नि । हामीले संगीतमार्फत सूचना पनि सम्प्रेषण गरिरहेका छौं ।’

आन्दोलनमा गोली चल्दा पहिलो निशाना कलाकार हुनसक्छ

देशमा हुने गरेका आन्दोलनहरुमा स्टेजमा परिवर्तनका गीतहरु गाउने कलाकार हुन् उनी । प्रतिनिधिसभा विघटन भैसकेपछि पनि उनले देशभरका केही आन्दोलनहरुमा प्रस्तुतिहरु दिएका थिए । आन्दोलन हुँदै गर्दा पक्ष/विपक्ष त स्वाभाविक कुरा हो । चाहे जोसुकै हुन् राम्रोलाई राम्रै भनेर हौसला दिनु उत्तम कुरा हो । आन्दोलनमा कुनै कलाकार गीत गाउनकै लागि उपस्थित हुँदैन । उसले परिआए वलिदान दिन पनि यस्ता कार्यक्रममा सहभागिता जनाएको हुन्छ ।

स्वाभाविक हो आन्दोलन हुँदै गर्दा विपक्षीवालाले विरोध गर्नु । एक पक्षको आन्दोलनमा प्रस्तुति दिँदै गर्दा अर्को पक्षले कुनै उच्छृङ्खल गतिविधि गर्‍यो भने त्यसको पहिलो निशाना कलाकार हुने उनले बताए । आन्दोलनकारीहरु यस्तो अवस्थामा ज्यान बचाउन भाग्न सक्छन तर स्टेजमा उभिएको कलाकार भाग्न सक्दैन । किनभने उसको जिम्मेवारी आन्दोलनकारीभन्दा पनि माथि हुन्छ । उनले गहन हुँदै भने, ‘यदि आन्दोलनको भिडमा गोली चल्यो भने गोलीको पहिलो निशाना कलाकार हुनसक्छ ।’

राजनीतिक चेतना राख्ने कलाकार

अधिकांश कलाकारहरुलाई नेपालको वर्तमान राजनीति कतातिर जाँदैछ, पत्तो हुँदैन । तर उनी राजनीतिक चेतनामा कम छैनन् । देशको वर्तमान राजनीति कतातिर जाँदैछ, के हुँदैछ त्यसको बेलिबिस्तार लगाउनुहोस् भन्ने प्रश्न गरियो भने उनी पछि पर्नेवाला छैनन् । उनले यो कुनै पार्टीको आजीवन सदस्यता लिएकाले राखेको राजनीतिक चेतना होइन । राजनीतिक चेतना राख्नु त एक सचेत नागरिकको कर्तव्य हो । देशको राजनीति एक ट्रयाकमा मोडिएको छ, हामी अर्कै ट्रयाकमा मोडियौं भने त्यसले हामीलाई सचेतता नदिन सक्छ अथवा समृद्धि नदिन सक्छ ।

‘तपाईलाई त राजनीतिक एजेण्डा बोकेको कलाकार भन्छन् त ?’ भन्ने प्रश्नमा उनले प्रश्न नसकिँदै खण्डन गरिहाले । ‘होइन नि म कुनै राजनीतिज्ञ होइन, विशुद्ध कलाकार हुँ । म राजनीतिक चेत राख्छु । राजनीतिज्ञहरुले राम्रो काम गर्दा त्यो सूचनालाई जनतासमक्ष पुर्‍याउने माध्यम बन्छु । राजनीतिज्ञहरुले गलत काम गर्दा खबरदारी गर्छु ।’

सामान्य नागरिकको काम नेतृत्वलाई कुर्सीमा पुर्‍याउने, भोलि कुर्सीको अवधि सकिँदा फेरि त्यही कुर्सीका लागि मत दिने मात्र होइन । उसले त नेतृत्व पदमा बहाल हुँदासम्म केकस्ता गलत प्रवृत्ति गर्‍यो, केकस्ता राम्रा प्रवृत्ति गर्‍यो भन्ने कुरामा खबरदारी गर्न सक्नुपर्छ भन्ने ठान्छन उनी । त्यसैले उनले आफूलाई राजनीतिक चेतना राख्ने कलाकार भन्न रुचाए ।

मान्छेको जिन्दगानी…

‘बाल्यकालमा गुच्छा खेल्ने, बैंसमा माया लाउने
बुढेसकालमा भजन गाउने, तीर्थव्रत धाउने
यस्तैगरी रैछ बरै धर्ती छोडी जानी
मान्छेको जिन्दगानी
बालक प्यारो आमाको, बैंश प्यारो कामको
बुढेसकालमा रामको ।’

यो गीत उनले २०६८ सालतिर गाएका थिए । यो गीतमा उनले मानव जीवनका विभिन्न चरणहरुलाई लयात्मक रुपमा अभिव्यक्त गरेका छन् । हामीभन्दा अघिल्लो पुस्ताको भोगाइ, हाम्रो भोगाइ र भावी पुस्ताको भोगाइलाई उनले लयात्मक शैलीमा प्रस्तुत गर्ने प्रयास गरेका छन् । गीत निकै व्यावहारिक छ ।

उहिले हाटबजारका लागि निकै सास्ती खेप्नुपर्थ्यो । हाम्रा पुस्ताहरु नुन किन्न घिउ बोकेर हाटबजार धाउने गर्थे । त्यो पनि खाली खुट्टै हिँडेर । हाटबजार आउँदाजाँदा करिब एक महिना नै लाग्थ्यो । उनीहरुका वेदना उनले यो गीतमा समेटेका छन् । यो गीतले युवापुस्तालाई पनि सम्बोधन गरेको छ । बालबच्चाहरुलाई पनि यसमा समेटिएको छ । यी तीनै पुस्ताले यो गीतलाई न्याय गरेकोमा उनले खुसीका साथ आभार प्रकट गरे ।

कलाकारितामा विकृति मौलायो

नेपालमा सबैभन्दा धेरै रुचाइएको विधामा कलाकारिता पर्छ । कलाकारहरुले जुन अपेक्षाका साथ गीतहरु गाउने गर्छन त्योअनुसारको आर्थिक उपार्जन गर्न सकिरहेका हुँदैनन् । त्यसमा पनि यो क्षेत्रमा विचौलियाको राज नै हुने गरेको छ । कला, संगीतमा ठूलो खर्च हुने गर्छ । त्यसको रोयल्टी (शुल्क) व्यवस्थापन हुन सकिरहेको छैन् ।

कलाकारको पेशा भनेको गीत गाउने हो, दर्शकलाई मनोरञ्जन प्रदान गर्ने हो । तर मनोरञ्जन दिएर मात्रै कहाँ पुग्छ र ! आर्थिक पाटो हेर्नैपर्‍यो । झन पछिल्लो समय उनीहरुको पारिश्रमिक घट्दो क्रममा छ । ‘अन्य क्षेत्रको पारिश्रमिक बढिरहेका बेला यो क्षेत्रको भने पारिश्रमिक घटिरहेको छ ।’ उनले न्यास्रो हुँदै भने ।

देशभर हुने मेला, महोत्सवहरुमा कलाकारहरुलाई अनेकन सम्झौता गर्दै आमन्त्रण गर्ने गरिन्छ । त्यहाँसम्म पुग्न कलाकारले सोझै प्रथम पक्षसँग सम्झौता गर्न सक्दैनन् । कुनै दोस्रो पक्षमार्फत उनीहरुलाई मेला, महोत्सवहरुमा बोलाउने गरिन्छ । त्यसमा पनि उनीहरुकै पारिश्रमिक कटौती गरिन्छ । तर अझै यसको व्यवस्थापनका लागि सरकारसँग उनको आशा र अपेक्षामा तुँवालो लागेको छैन । उनी निरन्तर आशावादी रहनेछन् । चाहे जोसुकै सरकार आउन ।