सर्वोच्च अदालतको फैसलापछि ब्युँतिएको नेकपा एमाले अहिले पनि दुई धारमा विभाजित भएको छ । एउटा पक्ष पार्टी अध्यक्ष केपी ओलीतिर छ भने अर्को पक्ष वरिष्ठ नेता माधव नेपालतिर छ । लामो समयको संवादहीनतापछि फागुन २ गते पार्टी मुख्यालय धुम्बाराहीमा ओली माधव छलफल भएको थियो । छलफलका क्रममा दुवै समूहबीच कुरा नमिल्दा ठोस निष्कर्ष आउन सकेन । यही बिचमा आज माधव पक्षले कार्यकर्ता भेला धुमधामसाथ सुरु गरेको छ । अब नेकपा एमालेको यात्रा कतातिर जाला ? के दुवै समूह आपसमा मुठभेडको स्थितिमा पुगेका हुन् ? यिनै विषयसँग आधारित रहेर नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईसँग गरिएको कुराकानी:

भिडिओ:

नेपालको वर्तमान राजनीतिमा निकै उछाल आएको छ । त्यसमा पनि नेकपा एमालेभित्रको विवाद त झन उग्र रुपमा बढेको देखिन्छ । तपाईहरु विवाद समाधानका लागि कसरत गरिरहनुभएको छ कि झन विवाद निम्त्याउने काम गरिरहनुभएको छ ?

नेपाल कम्युनिष्ट पार्टी (एमाले) २ वर्ष ९ महिना २० दिनपछि सर्वोच्च अदालतले ब्युँझाइदियो । नेकपा निर्माणसँगै हाम्रो पार्टीको इतिहास र गौरव कतै विथोलिने हो कि भन्ने धेरैलाई लागेको थियो । सम्मानित सर्वोच्च अदालतले साविकको नेकपा एमाले र साविकको माओवादी केन्द्र ब्युँताइदिएपछि हामी नेकपा एमालेलाई जनतामाझ अझ लोकप्रिय बनाउन लागिपरेका छौँ ।

आज र भोलि एमालेकै माधव पक्षले राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गरिरहेको छ । सो भेलालाई लिएर प्रधानमन्त्रीले कोही नेताहरु उपस्थित भए विधानबमोजिम कारबाही हुन्छ भन्नुभएको छ । भेला धुमधामका साथ सुरु भएको छ । अब उहाँहरुलाई कुन विधानअनुसार तपाईहरु कारबाही गर्नुहुन्छ ?

कारबाही गरिसकेपछि उहाँहरु अन्याय भयो भन्नुहुन्छ । अस्ति पनि एक किसिमको कारबाही त भयो । भीम रावललाई प्रदेशको प्रमुखबाट बिदा गरियो, अष्टलक्ष्मी शाक्यलाई प्रदेश इन्चार्जबाट बिदाइ गरियो । त्यसपछि उहाँहरु (माधव पक्ष) ले खै के गर्नुभयो ? कारबाहीका लागि हामी लामबद्ध छौं भन्नुहुन्छ कारबाही गर्दा अन्याय भयो भन्नुहुन्छ ।

त्यो भेलाको खास औचित्य छैन । यसले पार्टीलाई राम्रो दिशामा लग्दैन । पार्टीलाई बलियो र संगठित बनाउने, गाउँगाउँ पुर्‍याउन अठोट गर्ने, सूर्य चिन्ह लिएर मत माग्ने पार्टीका साथीहरुले यस खालका भेलाहरुभन्दा पनि पार्टीलाई एकढिक्का बनाउने कुरामा मेहनत गर्नुपर्ने देखिन्छ ।

कुनैबेला तपाईहरु नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकताका लागि दौडधुप गरिरहनुभएको थियो । अब अहिले आएर तपाईहरुको दौडधुप नेकपा (एमाले) का लागि देखिन्छ । आपसमा मुठभेड सिर्जना गरेर के गाइजात्रा गर्दै हुनुहुन्छ तपाईहरु ?

सर्वोच्च अदालतले नेकपा (एमाले) र माओवादीलाई पूर्ववत् अवस्थामा नफर्काइदिएको भए नेपाल कम्युनिष्ट पार्टीभित्रै पनि हामीहरु आधिकारिक हुने प्रयास गरिरहेका थियौं । हामी आधिकारिक हुन्थ्यौं किनभने हामीसँग पार्टी अध्यक्ष, महासचिव र पार्टीको विरासत थियो । विगतमा हामी सधैँ सूर्य चिन्ह नै लिएर चुनाव लडिरहेका थियौं । फागुन २३ गतेदेखि यो ‘च्याप्टर क्लोज’ भयो । अदालतले २०७५ साल जेठ २३ गतेका दिन दर्ता भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विधिसम्मत तरिकाले दर्ता भएको छैन भन्ने फैसला गर्यो । निर्वाचन आयोगले तपाईहरु पुरानै अवस्थामा फर्किनुभयो । तपाईहरु एकता गर्न चाहनुहुन्छ भने १५ दिनभित्र विधि पुर्‍याएर आयोगमा आउनुहोला भन्ने सूचना जारी गरियो । हामी त्यो अवधिमा आयोगमा पुगेनौँ । विधि, विधानका हिसाबले हामी आधिकारिक हौँ ।

धुम्बाराहीमा भएको ओली माधव वार्तामा फागुन २८ गतेको केन्द्रीय कमिटीको निर्णय फिर्ता लिन माधव पक्षले अडान राखेको थियो । यो निर्णय फिर्ता हुन्छ कि हुँदैन ?

२८ गतेको निर्णय त कार्यान्वयन भयो । रेल अघि बढिसक्यो । यो गन्तव्यसम्म पुग्छ । यो निर्णय खारेज हुनुपर्छ भन्ने उहाँहरु (माधव पक्ष) को माग थियो । यो स्वाभाविक हो । तर कुरा के भने विधिसम्मत तरिकाले पार्टी अध्यक्ष र महासचिवको उपस्थितिमा बहुमत सदस्यहरु बसेर गरेको निर्णय त मान्नुपर्‍यो नि ।

नेपालका राजनीतिक दलहरु जहिल्यै आपसी मुठभेडमा हुन्छन् । यो मुठभेड जनताका लागि गर्नुहुन्छ कि आफ्ना लागि ?

यो सरकारले २०७४ सालको निर्वाचनमा जनादेश प्राप्त गरेको थियो । हामीले दुई तिहाई मत प्राप्त गर्यौ । भावी प्रधानमन्त्री भनेर नेपाल कम्युनिष्ट पार्टीले अघि सार्यो । जब चुनाव जितियो उहाँलाई (केपी ओली) हटाउनुपर्छ भन्ने किसिमको कोसिसहरु केही नेताहरुबाट भयो । कतिपयले ओलीलाई मैले नै प्रधानमन्त्री बनाएको हुँ भन्नुभयो । जसलाई चुनाव जित्न आच्छु आच्छु थियो केपी ओली गएर भाषण गर्दिएर चुनाव जितेर आउनुभयो । उहाँ नपुगी नहुने ।

देशका अधिकांश निर्वाचन क्षेत्रमा उहाँ गएर बोलिदिनुभयो । यो हावादारी कुराको पछि हामी लाग्दैनौं । हामीले ५ वर्षका लागि सरकार बनाएको हो । त्यो सरकारलाई पाँचै वर्षसम्म चलाउने गरी हामी आग्रह गरिरहेका छौं । यदि सरकार नै ढल्यो भने पनि हामी आत्तिने पक्षमा छैनौं । किनभने सरकार नुहँदैमा हामीलाई केही फरक पर्दैन । हामी लामो समयसम्म विपक्षमा बसेका छौं । हामी रचनात्मक विपक्षी बन्न चाहन्छौं ।

तपाईले यही सरकारलाई ५ वर्षसम्म टिकाउँछौं भन्नुभयो । तपाईहरुको सरकारलाई माओवादी केन्द्रले दिएको समर्थन फिर्ता लियो भने प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिनपर्छ सक्नुहुन्छ ?

विश्वासको मत त लिनैपर्छ । यदि माओवादी केन्द्रले अहिलेको सरकारलाई समर्थन फिर्ता लिन्छौं भन्यो भने हामी तुरुन्तै ३० दिनभित्र विश्वासको मत लिन्छौं । हामी १३८ पुर्‍याएरै छोड्छौं । यदि यो पुगेन भने हामीलाई त्यत्रो पीर पनि छैन । तर हामी अरुको जस्तो किस्तीमा लगेर प्रधानमन्त्री बनिदेउ भन्ने हाम्रो प्रविधि छैन ।

विरोध/प्रतिरोधका लागि हरेक क्षेत्रमा संस्कार पनि आवश्यक हुन्छ । वर्तमान राजनीतिक नेतृत्व जे मन लाग्यो त्यही बोल्दै हिँडेको छ, जे गर्न मन लाग्यो त्यही गर्दै हिँडिरहेको छ । यसको प्रत्यक्ष असर जनतामा परेको छ । नेतृत्वमा राजनीतिक संस्कार त हुनुपर्छ होला नि ?

राजनीतिक दलहरुमा संस्कार यदाकदा गुमेको देखिन्छ । केही मान्छेहरु बर्बराएर, असाध्यै गालीगलौज गरेर हिँड्नुहुन्छ । त्यस्ताका पछि त हामी कसरी लाग्न सक्छौं र ? राजनीतिक संस्कार, मर्यादा, इज्जत हामीले नै सिकाउने हो । सिकाउँदा सिकाउँदै पनि कतिपय मान्छेहरुमा त्यो संस्कार विकासै हुँदैन । अब के गर्ने त ?

प्रधानमन्त्रीले फेरि पुनस्थापना भएको प्रतिनिधिसभा विघटन गर्ने छाँटकाँट देखाइरहनुभएको छ । अबको प्रतिनिधिसभाको यात्रा कसरी अघि बढ्छ ?

अब प्रतिनिधिसभा विघटन गर्नैपर्दैन । यो आफैं विघटन हुन्छ । संविधानमा स्वत: विघटनको व्यवस्था पनि छ । यदि उहाँहरु यो सरकारलाई समर्थन गर्न आउनुभएन । अर्को विकल्पको सरकार पनि बनाउन सक्नुभएन भने संसद आफै विघटन हुन्छ । त्यसपछि हामी सानदारका साथ चुनावमा जान्छौं जनताले हामीलाई मन पराउनुभएको छ । यो दुई महिनाको अवधिमा हामीले हाम्रो पार्टीका विचारहरु घरघर पुर्‍याएका छौं । अरु बदमासहरु जो विदेशीको शक्तिमा चल्छन् उनीहरुको हामीले भण्डाफोर गरेका छौं । पार्टीलाई बलियो बनाउने, एकढिक्का बनाउने, चुनाव जित्न सक्ने बनाउने काम निरन्तर चलिरहेको छ ।

कसैको केपी ओलीलाई सम्पूर्ण कुरामा नाङ्गै बनाएर बालकोट पठाउने योजना थियो विफल भयो । यस्तो मनस्थिति भएकाहरुलाई के भन्न सकिन्छ र !