विश्वका धेरै मुलुकहरूमा जस्तै नेपालमा पनि महिला र पुरुष बिच ठुलो बिभेदको अवस्था छ। किन महिलाहरुलाई समाजमा समान स्तर र भरोसा दिइएको छैन ? यो आज सबैको मस्तिस्कमा प्रस्न बनेर खडा भएको छ। भलै हामी २१ औँ शताब्दीमा छौ तर, आफ्नो अधिकारको लागि अझै पनि दौड लगाई रहेकै छौं।

बेला बखत यसो इन्टरनेट हेर्‍यो अथवा यसो निबन्धको किताब पल्टायो , लैङ्गिक समानताको बारेमा थुप्रै ठुला भनाउँदा व्यक्तिहरूले लेखेका आलेख र नेतागणहरुको भाषण सुन्न पाइन्छ तर, लैङ्गिक असमानताका कुरा यही आलेख र इन्टरनेटको दुनियाँमा मात्रै सीमित छन् । अझै पनि घरको छोरा बेलुका ढिलो फर्किदा किन ढिलो फर्केको भनेर प्रश्न उठ्दैन तर घरकि छोरी एकछिन घर फर्कन ढिलो भयो भने किन, कसरी र कहाँ भनेर अनेकन प्रश्न खडा हुन्छ। छोराले मनचाहे गर्न पाउने यो समाजमा छोरीलाई भने पाइलै पिछे प्रश्न सोधिन्छ र त्यो प्रस्नको सुरुवात सर्वप्रथम घरबाट नै उठ्छ ।

एक कुशल घर निर्माता कुनैपनि बेला व्यवसायीक नेता हुनसक्छिन् । नेपालको नेतृत्व गरिरहेकी राष्ट्रपतिको पदमा महिला आसिन छिन्, नेपालमा प्रधानन्यायधीस पदमा होस् वा सभामुख पदमा महिलाको पहुँच पुगिसकेको छ। अझ भनौँ यस्तै थुप्रै उदाहरणको जन्म हुने क्रम जारी नै छ । महिला हक अधिकारको विषयमा देशले थुप्रै कानुन बनाएको पनि छ , देशको अदालतले महिला हक अधिकार मिच्नेलाई अदालतको कठघरामा उभ्याएको पनि छ तर समाजको अदालतले भने महिला र पुरुषलाई समान दृस्टीकोणले कहिले हेर्ने ? कुनै महिला आफूले काम गरी आफ्नो कमाई खाएर स्वतन्त्र जीवन जिउन चाहन्छिन् भने हाम्रो समाजले त्यसलाई सहजै स्विकार्दैन।

राजनीति र व्यापार व्यवसाय जस्ता क्षेत्रमा कुनै महिला पुरुष बराबर भएर फड्को मार्न थालिन भने समाजलाई त्यो कुरा पच्दैन। महिला आफैमा अब्बल छिन्, सक्षम छिन् तर पनि हाम्रो समाज यसको पछाडि कुनै पुरुषको हात छ भनेर निधिखुधी गर्न भने पछि हट्दैन।

सबैभन्दा महतोपूर्ण कुरा त हाम्रो समाजमा महिलाको शैक्षिक योग्यतालाई उनको कस्तो केटासँग र कस्तो घरमा बिहे हुने भन्ने कुरासँग दाज्ने गरिन्छ। यहाँ घरकी छोरीलाई सक्षम बनाउनका निमित्त होइन बिहे गराउनकै लागि शिक्षा दिइन्छ । राजनीति, व्यापार व्यवसाय र अरू क्षेत्रहरू जहाँ महिलाको संलग्नता कम छ , त्यस क्षेत्रमा कुनै महिला अघि बढ्न चाहन्छिन् भनी सर्वप्रथम उनको खुटा समाउने त्यही समाजका ठुला भनाउदा पुरुषहरू हुन्छन्। सुरुमा महिलालाई हाइहाइ गरेर उचाल्ने काम गर्नेले नै पछि नभएको लाञ्छना लगाएर भुईँमा थचक्क झार्ने काम गर्छन् ।

यसरी कतिपय अब्बल र सक्षम दिदीबहिनीहरूले आफ्नो फिजारिएको सपनाको पङ्ख काटेर बसिरहेका छन्। आज पुर्व मिस नेपाल शृङ्खला खतिवडालाई उनको घर परिवारले अब छोरी ठुली भई , पढेर सकी अब वर छान्नुपर्छ भनेको भए उनि अहिले जँहा छिन त्यहाँ पुग्न सक्थिनन्। त्यस्तै यदि गौरिका सिंहलाइ पौडी खेल्ने छोराले हो छोरीले होइन भनेर रोकेको भए आज उनी साधारण गौरिका सिंहमा मात्रै सिमित हुन् पुग्थिन्।

लैङ्गिक समानताको बारेमा जति नै चर्चा भए पनि यसलाई व्यवहारमा उतार्न कुनै पनि समाजले सकेको छैन। आफ्नो सपनाको पङ्ख फिँजाई स्वतन्त्र उड्न खोज्ने महिलाको पङ्ख काट्ने भनेकै यहि समाज हो ।

भनिन्छ–‘जहाँ नारीको सम्मान हुन्छ त्यहाँ भगवानको बास हुन्छ’ । महिलालाई हरेक समय परिस्थितिसँग जुध्न सक्ने बाहादुरीको रूपमा पनि लिइन्छ । महिलाहरु ज्ञानको अथाह भण्डार हुन, यसमा कुनै दुईमत पनि छैन । महिला शक्ति एक यस्तो शक्ति हो जसले समाज, देश र अन्त्यमा विश्वलाई नै परिकल्पना गरेको भन्दा शुन्दर बनाउन सक्छ । समाजको एक हिस्सा ओगट्न सफल महिलालाई आधा आकाश आधा धर्तीको रूपमा पनि लिने गरिन्छ । तसर्थ आधुनिक युगमा जबसम्म महिलालाई उचित सम्मान र अवसर प्रदान गरिदैन तबसम्म समाज र राष्ट्रले अपेक्षा गरेबमोजिम उपलब्धि हासिल गर्न सकिदैन् ।