काठमाडौं । चलचित्र छायांकनका लागि संसारकै आकर्षक देशको सूचीमा नेपाल पनि परेको छ हलिउड इन्साइडर म्यागेजिनले फिल्म सुटिङका लागि उत्कृष्ट ६ साना मुलुकको सूची तयार पारेको छ । जसमा नेपाल दोस्रो नम्बरमा परेको छ ।

फिल्म छायांकनका लागि संसारका उत्कृष्ट ६ साना मुलुकको सूचीमा नेपालसहित इस्टोनिया, जर्जिया, श्रीलंका, ट्रिनिडाड एन्ड टोबागो र क्रोएसिया समावेश छन् ।

हलिउड इन्साइडरका लागि डेभिड सिनसेजले तयार पारेका समाचार सामग्रीमा नेपाललाई सांस्कृतिक र भौगोलिक विविधतासहितको सुरम्य (अति रमणीय) देशको रुपमा प्रस्तुत गरिएको छ ।

समाचारमा हिमाल, राष्ट्रिय निकुञ्ज, पार्क, तालतलैया, वास्तुकला, मुस्ताङी ल्यान्डस्केप, पोखरेली विविधता नेपालका लागि आकर्षक गन्तव्य रहेका लेखिएको छ ।

सांस्कृतिक र भौगोलिक विविधताको साथै नेपालीको आतिथ्य संस्कारको कारण फिल्म छायांकन अझै सजिलो हुने उल्लेख छ । नेपालले एलजीबीटीआइक्यूलाई समानता प्रदान गरेर मानव अधिकार र प्रगतिमा पाइला चालेको उल्लेख गर्दै म्यागजिनले स्वतन्त्रताका साथ फिल्म छायांकन गर्न सकिने पनि जनाएको छ ।‘नेपालमा छायांकन गर्नको लागि हामी सुझाव दिन्छौं’ म्यागजिनले लेखेको छ ।

त्यस्तै हालसम्म नेपालमा ३१ वटा विदेशी फिल्म छायांकन भएका छन् ।