काठमाडौँ। डढेलो यतिबेला नेपालको मात्र हैन विश्वव्यापी प्रदूषण बढाउने समस्या बनेको छ । डढेलोको तुवाँलोले वायुमण्डल ढाकेपछि अन्य प्रदूषण मिसिएर नेपालसहित विभिन्न मुलुकमा वायु प्रदूषणको दरलाई उच्चतिर धकेलिरहेको छ ।

हाल मुलुकभरका जंगलमा डढेलो लागेको र हावा नचलेको कारण काठमाडौँ, पोखरा लगायतका शहरमा तुवाँलो फैलिएको छ । यसले गर्दा राजधानी लगायतका स्थानमा चैत १७ गतेदेखि चार दिनका लागि सरकारले विद्यालयहरु समेत बन्द गराएको छ ।

त्यस्तै यसै विषयलाई लिएर गत चैत १६ गतेदेखि डढेलोबाट नेपालमा भएको क्षतिबारे ध्यानाकर्षण गराउन ट्वीटर र फेसबुकमा #PrayforNepal व्यापक रुपमा शेयर गरिएको छ ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले आगलागीका विभिन्न तस्बिर नेपालको डढेलोको भन्दै शेयर गरेका छन् ।

ट्वीटरमा र फेसबुकमा आगलागीका विभिन्न तस्बिर शेयर गरिएका छन् । तिनमा केही नेपालका डढेलोका तस्वीर छन् भने अधिकांश विदेशमा भएका आगलागीका तस्वीर भएको फेला परेको छ ।

तीमध्ये चारवटा भ्रामक तस्वीरको साउथ एसिया चेक ले तथ्य जाँच गरेको छ ।

आगोको लप्काबाट भाग्दै गरेको मृगको यो तस्वीर अमेरिकाको क्यालिफोर्नियामा सन् २००३ को अक्टोबर २८ तारिखमा खिचिएको अमेरिकी टेलिभिजन च्यानल सीबीएसले जनाएको छ । उक्त तस्वीर अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेसबाट लिइएको सीबीएसले जनाएको छ ।
आगलागी भएको ठाउँको काठका मुढा नजिकै उभिएको गाईको तस्वीर अमेरिकाको क्यालिफोर्नियास्थित योसेमाइट राष्ट्रिय निकुञ्जको रहेको नेसनल जियोग्राफिकले जनाएको छ । उक्त तस्वीर युरोपेली फोटो एजेन्सी इपिएका नोआ बर्गरले सन् २०१३ को अगस्ट २४ तारिखमा खिचिएको हो ।
यो तस्वीर क्यानडाको जंगलमा सन् २०१७ को वर्खामा लागेको डढेलोको भएको पत्ता लागेको छ । डिजिटल जर्नलका अनुसार ब्रिटिस कोलम्बियामा लागेको उक्त डढेलोले ठूलो क्षति गरेको थियो ।
नेपालमा लागेको डढेलोको भनी फैलाइएको यो तस्वीर इण्डोनिसियाको आगलागीको भएको द कन्भर्सेसनले जनाएको छ । उक्त तस्वीर अन्तरा फोटो एजेन्सीका फोटोग्राफर रोनी मुहरमानले खिचेको बताइएको छ ।

सामाजिक सञ्जालमा जे देखियो :