भक्तपुर। भक्तपुरमा विशेष रुपमा मनाइने बिस्का (बिस्केट) जात्राको तयारी सुरु भएको छ । अहिले बिस्केट जात्राको रथ बनाउने काम धमाधम थालिएको छ। नयाँ वर्ष आगमनको चार दिनअघिदेखि पाँचतले मन्दिरअगाडि राखेर प्यागोडा शैलीमा काठैकाठबाट तीनतले रथ बनाइन्छ।

रथ निर्माणका लागि एक महिना अघिनै त्यसको आवश्यक काठ जुटाएर त्यसको आकार दिने गरिन्छ । जसमा कासी, बेलासी, चिलाउने जातका काठबाट प्रयोग गरिन्छ । यस्तै रथ बनाउँदा ६ वाइ ६ को २२ फिट लामो सालको ४ वटा गल प्रयोग गरिन्छ । यस्तै मोटा मोटा ट्वाकलहरु प्रयोग गरिन्छ । त्यसले रथ हल्लिदा पनि भाँचिन दिँदैन । ७० वर्षपहिले जुन काठबाट रथ बनाइन्थ्यो अहिले पनि त्यही काठबाट रथ तयार गरिन्छ ।

उक्त रथ तान्न शुरु गरेसँगै जात्रा प्रारम्भ हुने प्रचलन छ। नयाँ वर्षका दिने देखि सुरु भएर आठ रात नौ दिन मनाइने जात्रामा रथ तान्ने र लिंगो उठाउने कुरालाई मुख्य आकर्षण मानिन्छ ।

बिस्केट जात्राको पहिलो दिन काठैकाठले प्यागोडाशैलीमा निर्माण गरिएको तीनतल्ले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतल्ले मन्दिर प्राङ्गणबाट थने (माथिल्लो) र क्वने (तल्लो) टोलमा तानेर लैजाने परम्परा रहेको छ । साथै भैरवनाथको रथमा खड्ग, तरवार, निशान राखिसके पछि रथ तान्न सुरु गरिन्छ ।

सौर्यमासको आधारमा चल्ने बिस्केट जात्रा बिःसित अर्थात सर्प मर्यो भन्ने अर्थमा लिच्छविकालदेखि मनाउँदै आएको इतिहासमा उल्लेख छ ।