काठमाडौँ। नेपाली सेनाको ठूलो सहयोगमा चैत ७ गते सिन्धुलीको भिमानबाट नेपालकै पहिलो रकेट प्रक्षेपणको परीक्षण गरियो । परीक्षणका लागि आवश्यक स्थान नेपाली सेनाले उपलब्ध गराइदिएको थियो ।

परियोजनामा संलग्न विद्यार्थीहरुको हौसला बढाउन परीक्षण स्थलमा नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापा र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महाबिर पुन समेत पुगेका थिए । पहिलो प्रयासमा १५० मिटर माथिसम्म मात्र उड्न सकेको रकेट क्र्याश भयो । अर्को महिना रकेटको दोस्रो प्रक्षेपण परीक्षण हुँदैछ ।

देशका विभिन्न ८ वटा कलेजमा इन्जिनियरिङ पढिरहेका ३० जना विद्यार्थीको टिमले यो ‘गरुड’ रकेट परियोजनामा काम गरिरहेका छन् ।

स्थानीय बजारमा रकेटका लागि आवश्यक इन्धनदेखि मोटर र अन्य पार्ट्सहरु पाउन सकेका छैनन् । अनुसन्धान परियोजनामा सक्रिय नेपाली युवा विद्यार्थीलाई महाबिर पुनले सक्दो रुपमा सहयोग समेत उपलब्ध गराइरहेका छन् ।

परीक्षण अघि रकेटका लागि विद्यार्थीहरुले नेपालमै तयार पारेको आवश्यक इन्धन आविष्कार केन्द्रको कार्यालय परिसर कीर्तिपुरमा परीक्षणको व्यवस्था समेत उनैले मिलाइदिएका थिए ।

नेपालमा रकेटका लागि आवश्यक सामान फेला पार्न नसकेपछि पुनले अमेरिकाबाट केही सामान ल्याउने बन्दोबस्त मिलाए । उनले सामाजिक सञ्जालमा पोस्ट गर्दै सामान किनसकिएको र त्यसलाई नेपाल ल्याउन सहयोगका लागि आग्रह गरे ।

तर उनले सामाजिक सञ्जाल ट्वीटर मार्फत गरेकोआग्रहको जवाफमा डा. रामेश कोइरालाले लेखे, गज्जब सर। चन्द्रमामा मान्छेसहित जाने वा अन्तरिक्षमै भए पनि पुगेर चारवटा सेटेलाइट छाड्ने रकेट हो भने म एक्लैले एउटा प्लेन कार्गोको पैसो दिन्छु है।

डा कोइरालाको ट्वीट देखेपछि पुन निकै कडा शैलीमा प्रस्तुत भए। उनले रकेट कसले किन बनाइरहेको हो भन्ने थाहा नभए आफूलाई सम्पर्क गर्न भन्दै फोन नम्बर सार्वजनिक गरे ।

डा. कोइरालाको टिप्पणीमाथि धेरैले असन्तुष्टी व्यक्त गरेका छन् । तर उनले ‘लञ्च प्याडको फिजिक्स’ नै थाहा नभएको उल्लेख गर्दै नेपालमा सम्भव नै नभएको संकेत गरेका छन् । यति मात्र नभई उनले ट्वीटरमा रिप्लाई दिँदै तिहारमा उडाउने रकेटसँग जोड्दै खिल्ली उडाउन समेत भ्याएका छन् ।