काठमाडौं । काठमाडौँ उपत्यकाको वायु प्रदूषण पुन: उच्च तहमा पुगेको छ। देशमा डढेलो, सवारी साधान तथा उद्योगबाट निस्किएको धुँवा तथा धुलो र वर्षाको कमीका कारण वायुमण्डलमा जमेको धुलोको कणका कारण वायु प्रदूषित बनेको हो ।

अहिले पनि काठमाडौँ विश्वका प्रदूषित शहरको पहिलो नम्बरमा छ । आइक्यूएअरका अनुसार काठमाडौँको वायुको एक्यूआई आज ३१७ रहेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले निर्धारण गरेको मापदण्डअनुसार एक्यूआई ३५ रहनुपर्ने हो । ५१ देखि १ सयसम्मको एक्यूआईलाई सामान्य मानिन्छ भने एक्यूआई २ सय १ भन्दा माथि पुगे धेरै अस्वस्थकर हुन्छ । डब्लुएचओले ३ सय १ भन्दा माथि पुगे घातक हुने उल्लेख गरेको छ ।

यसैगरि नेपाल सरकारले निर्धारण गरे अनुसार एक्यूआई ३०० सय भन्दा बढि भएमा मानव स्वास्थ्यका लागि विपदको अवस्था मान्ने गरिएको छ । गत बुधबार बेलुका काठमाडौँ उपत्यकासहित क्षेत्रमा पानी परेपछि वायु प्रदूषण केही कम भएको थियो।

तर त्यसपछि पानी पर्ने क्रम रोकिएको र देशभर डढेलो बढ्दो क्रममा हुँदा वायु प्रदूषण फेरि उच्च विन्दूमा पुगेको हो । यसैबीच वायु प्रदुषण दर उच्च बिन्दुमा पुगेका कारण नेपालका आन्तरिक उडानहरु प्रभावित बनेका छन् । हिजो भरतपुर, पोखरा, भैरहवाको बिमानस्थलको भिजिबिलिटी कम हुँदा आन्तरिक उडान प्रभावित भएको हो ।

त्यस्तै देशभरि वायु प्रदूषण बढेकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन जनस्वास्थ्य विज्ञले सुझाव दिएका छन् ।
वायु प्रदूषणले स्वाशप्रश्वासमा कठिनाइलगायत विविध स्वास्थ्य समस्या देखा पर्नसक्ने भएकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र निस्कनैपर्ने अवस्था भए मास्कको प्रयोग गर्न आग्रह गरेका हुन् ।

वायु प्रदूषणका कारणले आँखा रातो हुने, घाँटीमा समस्या आउने र टाउको दुख्ने जस्ता समस्या आउने गर्दछन् । नेपालमा वर्षेनी वायु प्रदूषणका कारण उत्पन्न हुने रोगका कारणले ३० देखि ३५ हजार मानिसको मृत्यु हुने गरेको छ । विश्वमा ७० लाख मानिसको मृत्यु हुने गरेको छ ।