काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस संकटमा नरहेको भन्दै कार्यकर्तालाई कमजोर नबन्न आग्रह गरेका छन् ।

कांग्रेस नेता नवीन्द्रराज जोशीको १३ औ दिनको पुण्यतिथिका अवसरमा बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित श्रद्धाञ्जलि सभामा बोल्दै सभापति देउवाले पार्टीमा कुनै किसिमको विवाद नरहेको बताए । नेताहरुले पार्टी संकटमा रहेको भन्दै विभिन्न सार्वजनिक कार्यक्रमहरुमा बोलेको विषयलाई खण्डन गर्दे सभापति देउवाले पार्टी कहिल्यै पनि संकटमा नरहेको ठोकुवा गरेका हुन् ।

उनले पार्टीका नेता कार्यकर्तालाई आफैले आफैलाई कमजोर नबनाउन पनि आग्रह समेत गरे । ‘यहाँ दोहोरी खेल्ने कुरा छैन । नेपाली कांग्रेस संकटमा हिजो पनि थिएन । आज पनि छैन र भोलि पनि रहँदैन’, उनले भने, ‘नेपाली कांग्रेसको ऐतिहासिक जिम्मेवारी र भूमिका छ । यसलाई सबैले निभाउँदै गएका छौँ । पार्टी जीत हारले संकटमा हुँदैन । धेरै पटक हामी हारेका छौँ, धेरै पटक जितेका पनि छौँ । त्यसैकारण हामीले डिमोरलाइज हुने काम छैन । आफैले आफैलाई कमजोर गर्ने काम पनि छैन । त्यसैले हाम्रो पार्टी संकटमा छैन ।’