मध्यम चैततिरको कुरा हो ! वसन्त ऋतुको बहारमा सोलुखुम्बुको रमाइलो वातावरणमा सास तानिरहेको बेला भाईले खुसी हुँदै फोन गर्‍यो । अरुबेलाको भन्दा बोलाइमा छुट्टै खुसीको भाव मिसिएको सुन्दा मैले पनि सोधिहाले – के भो निकै रमाइलो लागिराको जस्तो छ नि ? गदगद खुसी मिसिएको स्वरमा उसले फ्याटै जवाफ दियो – अस्ति देखीको अकाउन्टको नोट गरेको थिइन । धन्न! वायु प्रदूषणले जोगायो । देशमा वायु प्रदूषण बढ्यो हरे अनि हाम्रो कलेज ४ दिन बिदा भयो । “बालबालिकालाई प्रदूषित हावाबाट जोगाउन शिक्षा मन्त्रालयले बिदा देको हरे ।”

चैतको बिचतिर सोलुको त्यो निकै रोमाञ्चक वातावरणको मिठो अनुभूति लिइरहेकी म, भाइको वायु प्रदूषणको कुरा सुनेर एक छिन त अलमल्ल परे । मैले त्यहाँ बसेर वायु प्रदूषणलाई अनुभव गर्न परेको थिएन । तर पनि म प्रदूषणको साक्षी किनाराका रूपमा दर्शक बनेर भने पक्कै उभिएको थिए । किनकि यो प्रदूषण गर्नुमा कहीँ न कहीँ मेरो पनि हात छ, मेरो मात्रै होइन सम्पूर्ण विश्वको हात छ । सरकारले पनि तत्काल प्रदूषित वायुबाट जोगाउन विद्यालय बन्द गर्ने निर्णय गर्‍यो । बिदा पाएपछि मेरै भाइजस्ता विद्यार्थीहरू मक्ख परे । केही दिनपछि फेरि विद्यालय खुल्यो सँगसँगै वातावरण पनि खुलेको जस्तो देखियो । तर पुनः यो हप्ता उस्तै भएको छ । देशभरको वातावरण धुम्म भै तुवाँलो लागेको छ । हिजोभन्दा आज र आजभन्दा भोलि प्रदूषणको मात्रामा बढोत्तरी हुँदै छ । तर सरकार भने “काम कुरो एकातिर तर कुम्लो बोकी ठिमी” तिर भनेजस्तो ४ दिन स्कुल बिदा दिने बाहेक नियन्त्रणका अन्य कामहरू गर्नबाट पछि परेको छ । के वायु प्रदूषणबाट जोगिन देशभरका शिक्षण संस्थाहरू बन्द गर्नु मात्रै एक अन्तिम विकल्प हो ? कि नेपालको सबभन्दा ठुलो समस्याको रूपमा बल्झिदैं गएको वायु प्रदूषणको बारेमा विद्यार्थीलाई सचेत गराउनुपर्ने थियो ? प्रश्न मात्रै हो – उत्तर छैन ।

हाल नेपालको राजनीतिक अवस्था गन्जागोल बनेको, कोरोना सङ्क्रमणको दोस्रो लहरले पाइला टेक्नै आँटेको, अर्थतन्त्र शून्यमा पुगेका बेला स्वभावैले जनताले वायु तथा जलवायु प्रदूषणलाई बेवास्ता गर्नु सामान्य हो । तर जनताको बेवास्तालाई वास्तामा ल्याउने काम सरकारले गर्नुपर्ने हो । सडकदेखि सदनसम्म राजनैतिक उथलपुथलको चर्चा चलिरहेको बेला वायु प्रदूषणले पाइला चालिसक्ता यसलाई न मन्त्रीको ध्यान पुगेको छ न त सम्बन्धित निकायकै । फेरि सरकारले वायु प्रदूषण रोक्न अल्पकालीन र दीर्घकालीन निति नबनाएकै पनि होइन । तर ती निति प्रदेश/स्थानीय तहबाट उचित कार्यान्वयन नहुँदा ति निति धुलो/धुवाँ जसरी नै हावामा उडिरहेको छन् – फुर्र फुर्र । अन्तर्राष्ट्रिय विज्ञहरूले युद्ध भन्दा प्रदूषण १० गुणा बढी घातक भएको सुझाई सक्ता पनि नेपालमा कुनै सरकारी तथा गैरसरकारी क्षेत्रले समेत गम्भीर रूपले लिएको देखिएको छैन । नेपाललाई प्रकृतिबाट अनुपम उपहार मिलेको छ । कताकता सुन्न पनि पाइन्छ विश्वकै सुन्दर र स्वच्छ देशमध्ये नेपाल पनि एक हो । तर त्यो अब रहेन । विश्वको सबैभन्दा प्रदूषित र धुलाम्य देश नेपाल हुन पुगिसक्यो ।

कुराकुरैमा, कचौरीजस्तो काठमाडौँलाई एकैछिन नियालौँ । काठमाडौँ सहर धेरैको सपनाको सहर । तर अहिले धुलैधुलोलो सहर । बिहान सेतो लुगा लगाएर बेलुका घर आई पुग्दासम्म खैरो-खैरो भैसकेको हुन्छ । यो सधैँको रामकहानी हो । त्यसमाथि झन्झन् अहिले देशभर लागेको डढेलोको कारण काठमाडौँ हेरिनसक्नु-बसिनसक्नु बन्दै गएको छ । कोटेश्वर, कीर्तिपुर, चाबहिल, गौशाला, ललितपुर, न्यूरोडजस्ता ठाउँको एक्युआई (एअर क्वालिटी इन्डेक्स) ३०० भन्दा माथि पुगेको छ । तर पनि त्यही हावालाई जीवन मान्दै चोक चोकमा ट्राफिक प्रहरीहरू आफ्नो कर्तव्यमा खटिएका छन् । अन्य मान्छे त वायु खराब भयो घरमै बसेर काम गर्छु वा आज काममा जान्न भन्न पनि पाए तर ती ट्राफिकले भने जसरी पनि आफ्नो कर्तव्य पूरा गर्नै पर्‍यो । अर्का पट्टी पतपत धुवाँ ठेस्दै बदाम र मकै पोलेर गुजारा टार्नेहरूको पनि हालत उहीँ छ । सामाजिक सञ्जाल र मिडियाबाट चार कोस पर रहने वृद्धहरू बिना मास्क खुलेआम यताउति गरिरहेका छन् । वायु प्रदूषणबाट अनविज्ञ युवाहरु पनि चिया पसलमा बसेर सानका साथ चुरोट तानिरहेकै भेटिन्छन् । धुलाम्य सडकमा ट्रकहरू कालो धुवाँ फाल्दै कुदिरहेका छन् । मानिसहरू आँखा नाक पोलिरहेको अनुभव गरिरहेका छन् । कलकारखाना र उद्योगले धुवाँ फाल्ने क्रम पनि जारी नै छ । घरको छतबाट आकाशलाई नियाल्दा धुम्म तुवाँलो बाहेक अरू देख्न हम्मे हम्मे परेको छ । भिजिबिलिटी कम हुँदै गएको कारण उडानमा समस्या परिरहेको छ । सम्पुर्णत: काठमाडौँको वातावरण पुरै तुवाँलोमय छ । विज्ञहरू भन्छन् -यस्तो वातावरणमा श्वास फेर्दा अहिले केही नभएपनी पछि भने गम्भीर स्वास्थ्य खतरा निम्त्याउन सक्छ । काठमाडौँ बाहेक चैत, वैशाखमा घमाइलो र सुगन्धित हुनुपर्ने देशको वातावरण धुम्म भै तुवाँलोले ढपक्कै कभर गर्दा सामान्य मानिसलाई समेत श्वास फेर्ने हम्मे परेको अनुभव साटिरहेका छन् ।

वसन्त ऋतु – डुस

“ऋतुहरूमा तिमी हरियाली वसन्त हौँ ।” भन्ने यो लाइन सबैले सुन्दै आएको हो । यो लाइनले वसन्त ऋतुको गरिमालाई पस्किएको छ । अनि हो.. हामी अहिले यही महिनाको सेरोफेरोमा श्वास फेरिरहेका छौँ । अनुहारमा मास्क बेरेर । यो चैत वैशाखको महिना अर्थात् वसन्त ऋतु । प्रकृतिले नौलो काँचुली फेर्ने ऋतु । ऋतुहरूमध्ये सबैभन्दा मनमोहक । यहिबेला हिंउदमा पात झरेर नाङ्गै बसेका रुखहरूले (नयाँ लुगा फेर्छन् । अर्थात् नयाँ पालुवा हाल्छन् । ऋतुराज वसन्त ऋतुमा चारैतिर हरियाली छाउन पर्ने हो । तर अहिले त्यस्तो छैन । घमाइलो वातावरणले उमङ्गको चटारो पर्नुपर्ने बेला कालो बादल मडारिएजस्तो देश तुवाँलोले धुम्म परेको छ । रुखविरुवाका नयाँ पालुवाको सुगन्धलाई लामो सास तानेर प्रचण्ड आनन्दको अनुभूति गर्नुपर्ने मौसममा मानिसहरू अनुहारमा दुइटा मास्क थोपरेर हिँड्न बाध्य छन् ।

विगत ४५ वर्ष देखी काठमाडौँको चाबहिल बस्दै आएका प्रनव प्रजापति भन्छन्,” कान्तिपुर (काठमाडौँ)को धुलो खाँदै हुर्काइ भयो तर पनि वसन्त ऋतु आएपछि पशुपतिको डाँडामा मर्निङ र इभिनिङ वाक जानुमा छुट्टै मजा हुन्थ्यो । तर यो पटकको वसन्तको बहार डुस भैदियो। यत्तिका वर्षमा यो सालको जस्तो वातावरण कहिल्यै नभएको उनको तर्क छ । काठमाडौँमा खुलेका कलकारखाना, उद्योग र बस्ती विस्तारले स्वच्छ हावा डुस पार्दियो – प्रजापति दुखेसो पोख्छन् । शुद्ध हावालाई लामो सासले तानेर आफ्नो शरीरमा स्पर्श गराउन म आतुर छु, सुस्केरा हाल्दै फेरि प्रजापति मसिनो स्वरमा प्रश्न गर्छन् तर कहिले ? अब त शुद्ध हावा पनि किन्ने टाढा छैन जस्तो छ !

वायु प्रदूषण कसले रोक्ने – स्वयम् आफुँ

सानैदेखि पढ्दै आएको हो -घना बस्ती विस्तार, वनविनाश, ठुला उद्योगको विकास, डढेलो जस्ता कारक तत्त्वले वायु प्रदूषण गराउँछ । यस्तै तत्त्वलाई बेवास्ता गरेको फल हामी भोक्दै पनि छौँ । जनस्वास्थ्यको तथ्याङ्क केलाउँदा नेपालमा बेलाबेला विभिन्न महामारी फैलिरहन्छन् । र केही समयपछि साम्य पनि हुन्छन् । उदाहरणका लागि महामारीकै रूपमा आएको कोरोना भाइरसले पनि नेपालमा उदण्डै मच्चायो । देशभर लाखौँ मानिसहरू यसबाट सङ्क्रमित भए । हुँदै छन् । हजारौँ मानिसको मृत्यु भयो । हुँदै छ । यसबाट बच्न देशभर लकडाउन, सामाजिक दुरीजस्ता अनेकौँ तिक्डम पनि अपनाइयो । भाग्यवश महिनौँ घरभित्र गुजारेपछि कोरोना विरुद्ध खोप बन्यो । अहिले त्यो खोपलाई मानिसको शरीरमा खोप्ने काम हुँदै छ । धेरथोर, ढिलोचाडोँ हामी कोरोनाबाट पनि सुरक्षित नै भयौँ ।

कोरोना भन्दा डरलाग्दो महामारीबाट भने हामी झन्झन् दबिँदै गएका छौँ । कोभिडको चपेटाबाट निस्कन सङ्घर्षरत यो देश, दिन प्रतिदिनको वायु प्रदूषणले अँध्यारोमा छिर्न लागेको छ ।

यसोमा स्वभावैले एउटा प्रश्न उठ्छ – कोरोना जस्तो महामारीको त भ्याक्सिन बन्यो अब वायु प्रदूषणको कहिले बन्ने त? फेरि वायु प्रदूषण एक्दुइ वर्षको मात्रै समस्या होइन, पुस्तौंपुस्ताको हो, यसको भ्याक्सिन बनाउने कसको जिम्मेवार त ? विश्व नै प्रदूषणको दलदलमा फस्तै गएका बेला यसको औषधि कुन देशको फ्याक्ट्रीमा उत्पादन हुने हो ? यसको उत्तरमा विज्ञ भन्छन् – स्वयम् आफू ।

घरमा उत्सर्जन हुने फोहोर पदार्थ, कलकारखानाबाट निस्किने धुवाँ/ ढललाई उचित ढङ्गले विसर्जन गर्न नसक्दा वा लापरबाही गरी वातावरणमा मिसाउँदा आजको स्थिति आइपुगेको वातावरणहरूको एउटै स्वर छ । काठमाडौँ होस् या धनगढी देशभरकै वायु प्रदूषण हुनुमा प्रत्यक्ष/अप्रत्यक्ष जनताकै हात भएको स्वास्थ्यविद् रवीन्द्र पाण्डे ठोकुवा गर्छन् ।

डढेलोदोष कसको ?

वन तथा भूसंरक्षण विभागको डढेलो सम्बन्धी तथ्याङ्क (मोडिस)का अनुसार बुधवार बुधवार दिउँसो ३:४० बजेसम्म देशभर १ सय ४१ स्थानमा आगो दन्किरहेको छ । हिजो मङ्गलवार २ सय ३३ ठाउँमा डढेलो लागेको थियो भने अस्ति सोमबार ५ सय ३० स्थानमा आगो लागेको थियो ।

स्रोत : वन तथा भूसंरक्षण विभागको डढेलो सम्बन्धी तथ्याङ्क (मोडिस)

मौसमविद् भूपेन्द्र नाथ शर्मा भन्छन्,” तिनै डढेलोको कारण अहिले देशभर वायु प्रदूषण बढेको हो ।” भलै यी डढेलो धुलो/ धुवाँ नियन्त्रण गर्नु सरकारको कर्तव्य हो तर यसको प्रदूषण बढ्नु र आगलागी जस्ता घटना हुनुमा जनताको व्यवहार पनि उत्तिकै साझेदार भएको मौसमविद् शर्माको ठहर छ । ‘वन जङ्गल डढेलो नियन्त्रणमा सरकारले पहिलै उचित नीति नबनाउँदा यो परिस्थिति सिर्जना भएको हो, शर्मा भन्छन्,’ तर यसमा सरकारलाई मात्रै दोष दिएर हामी जनता चोखो छौँ भन्न पटक्कै मिल्दैन । वायु प्रदूषणको सवालमा जनताले आफ्नो कर्तव्य पूरा नगर्नु र सरकारले नीति निर्माण नगर्नु दुवैको बरावर दोष छ ।

डढेलो लाग्नुको प्रमुख कारण

मौसमविद् राम प्रसाद अबस्थी यो वर्षको हिउँदमा हुनुपर्ने सरदर वर्षा भन्दा एक चौथाइ कम भएको उल्लेख गर्दै भन्छन्, पानी नपरेर सुख्खापन बढ्यो । वायुमण्डलको तापक्रम सामान्य भन्दा बढी भयो अनि वर्षा कम भयो जसले गर्दा देशभर सुख्खापन वृद्धि भयो जुन डढेलो लाग्नुको मुख्य कारण हो, अवस्था व्याख्या गर्छन् ।

त्यस्का वाबजुत गाउँघरतिर खेतीपाती गर्दा जलाइने कुराहरू तथा फोहोर जलाउँदा त्यत्ति ध्यान नपुर्‍याउँदा त्यहाँ लागेको आगो उछिट्टिएर जङ्गल प्रवेश गरेको अवस्थीको धारणा छ । त्यसबाहेक फागुन चैत बेजोडले हावा लाग्ने बेला हुन् । हाम्रा नजिकै दुई ठुला औद्योगिक देश छन् । ती देशले उत्पादन गरेको धुवाँ, कार्वन हावाले उडाएर नेपाल ल्याउने प्रचुर सम्भाव्य छ । जसले पनि वायु प्रदूषित हुन बल पुगिरहेको छ । त्यसमाथि हाम्रो देशमा आन्तरिक रूपमै पनि विकासका नाममा वनजंगल काटिँदै छन् । कोभिडले थलिएको अर्थतन्त्र उकास्न उद्योग लागि परेका छन् । इट्टा भट्टाबाट निस्किने धुवाँ सिधै वायुमण्डलमा मिसिएको छ । सवारीसाधनको चाप बढ्दो छ । जसको कारण वायु धमिलिँदै गएको छ ।

मौसमविद् अबस्थी यस्ता आन्तरिक स्रोतलाई न्यूनीकरण गर्ने सक्यौँ भने त्यसबाट प्रदूषण कम गर्ने सकिएला भन्छन् । उनी बताउँछन्, ‘यसका लागि सरकार र जनता दुवै डटेर लाग्न जरुरी छ ।’ वायु प्रदूषण रोक्न सरकारले भन्दा बढी निजी क्षेत्रले ध्यान दिनुपर्ने उनको निष्कर्ष छ ।

सरकारले यो काम गर्नु पर्छ

काठमाडौँ लगायत देशभरको एअर क्वालिटी इन्डेक्स ३०० भन्दा बढी कित त्यस्कै आसपासमा पुगेको बेला सरकार तथा यस क्षेत्रमा नीति निर्माण गर्नुपर्ने मानिसहरू राजनैतिक दौडधुपमै व्यस्त भएको हामीले देखिरहेका छौँ ।

वातावरण विभागले २०१ देखि ३०० सम्म अक्युआई हुनुलाई धेरै अस्वस्थ कर वायु सूचक मानेको छ । अझै ३०१ देखि ४०० सम्म हुनुलाई खतरापूर्ण भनेको छ । तर विगत चैत १४ यता काठमाडौँ पटक पटक विश्वकै ठुला सहरमा सबभन्दा प्रदूषित सहर ठहरिएको भएपनी सरकार मौन छ । वायु प्रदूषणले चरम सीमा नाघेर बालबालिका,वृद्धदेखि सामान्य व्यक्तिलाई समेत आच्छु आच्छु पारिसक्दा सरकारले ४ दिन विद्यालय बन्द गर्ने निर्णय बाहेक अरू गरेको छैन ।

काठमाडौँको प्रदूषणको मात्रा विश्व स्वास्थ्य संगठनले तोकेको भन्दा करिब पाँच गुणा बढी रहेको र त्यो नेपालको मापदण्डभन्दा तीन गुणा बढी रहेको रेकर्ड छ । प्रदूषित वायुले १० बालबालिका मध्य चारलाई गम्भीर फोक्सोको समस्याबाट पीडित हुने गरेकोमा अबको आँकडा बढ्न सक्ने पनि विज्ञ सुझाउँछन् । यसर्थ पनि सरकारले तुरुन्त वायु प्रदूषण रोक्न प्रक्रियारत नीति बनाउन समय लागे तत्कालै टार्ने सक्ने गरी काम गर्नुपर्ने डा. रवीन्द्र पाण्डेको भनाइ छ । केही दिन सरकारले गाडीहरू जोरबिजोर प्रणालीमा चलाउन सूचना आव्हान गर्नुपर्ने, सकभर जनतालाई आफ्ना सवारीसाधन नचलाउन आग्रह गर्ने डा. पाण्डेको सुझाव छ ।

डा. पाण्डेका हिसाबमा सरकारले वायु प्रदूषण कम गर्ने तुरुन्तै यस्ता कदम चाल्न जरुरी छ : (बुँदागत)
१) आगलागी हुने ठाउँ पहिचान गरी त्यस वरिपरि आगो लगाउन बन्देज गर्ने ।
२) प्लास्टिकजन्य फोहोरहरू जलाउन नदिने ।
३) केही दिनका लागि इट्टा भट्टा कलकारखाना बन्द गर्ने ।
४) देशभरको सहरको सरसफाइमा जोड दिने ।
५) कहिदिन निर्माणाधीन सडकको काम रोक्दिने ।
६) अल्पकालिन र दीर्घकालीन रणनीति बनाउने ।

फुत्त’ फोहोर फालेको मैले मात्रै हो र?

माथि उल्लेख गरिएका कुराहरू सरकारले गर्नुपर्ने हुन्। तर सरकारले नितिनिर्माण गरेर मात्रै हुँदैन । किनकि वायु प्रदूषण कुनै एक सरकारी या राजनीतिक मुद्दा होइन । तपाईँ हामी जनताको आमाबुबा/ छोराछोरी हामीले माया गर्ने पछुपन्छीसंग प्रत्यक्ष जोडिएको विषय हो । वायु प्रदूषणबाट जोगाउन सरकारले केही गरेन भनेर गाली गर्नुभन्दा पनि आफूले आफ्नो तर्फबाट गर्नुपर्ने कर्तव्य नभुलौँ ।

हामी सामान्यतया आफ्नो घर र भ्याएसम्म आँगनसम्म मात्रै बढार्छौ । कसैले देखेको छैन भने घर बढारेर निस्केको धुलो फुत्त गल्लीमा वा छिमेकीको करेसाबारीतिर मिल्काइदिन्छौ । सफा ठाउँमा पनि पिच्च ठाउँमा थुकिदिन्छौँ । प्लास्टिक जथाभाबी फाल्दिन्छौ । घरमा धेरै फोहोर थुप्रियो भने भएसम्म नजिकैको खोलानाला नभए राती नै उठेर चोकमा थपक्क थुपारीदिन्छौं । यो सबै गरिरहँदा हाम्रो मनस्थिति हुन्छ -अरुले त गर्छन्, मैले किन नगर्ने ? म एक्लैले नगरेर के चाहिँ हुने हो र ?

चाहे त्यो मानिस होस् वा उद्योग, कारखाना मैले मात्रै फोहोर जथाभाबी फालेको हुँ र ? मैले मात्रै ढल नदिमा मिसावट गरेको हो र भन्ने मानसिकता हाबी छ । काठमाडौँलाई तुवाँलो ढाकेर घरभित्रै थन्किरहेको अवस्थामा “एक मैले मात्रै फोहोर गरेको होर” भन्नेले सोचौँ त एक ‘म’ ले कस्तो परिस्थिति निम्त्याएको ? अनि फेरि यो पनि सोच्नुस् कि हामीले जानी नजानी गरेको प्रदूषणले तुवाँलोले छोपेको सहरमा हाम्रा भाइबहिनी/छोराछोरीले कसरी भविष्य उज्ज्वल पार्ने ?

त्यसो भएर पनि वायु प्रदूषण प्रधानमन्त्री केपी ओली गुटको मुद्दा होइन । प्रत्येक घरको प्रत्येक मानिसको मुद्दा हो । राष्ट्रिय मुद्दा हो । अबको आउने दिनमा अझै प्रदूषण हुन नदिन हामी प्रत्येक व्यक्तिले भाग लिन आवश्यक छ । सरकारले गर्नुपर्ने कुरालाई थाती राख्दै जनताको तर्फबाट तत्कालका लागि बाहिर हिँड्दा मास्क लगाइ सुरक्षित भएर साना बालबालिका, वृद्ध, गर्भवतीलाई विशेष सावधानी अपनाएर बाहिर निस्कन विज्ञले भनेका छन् । स्वास्थ्यविद् रवीन्द्र पाण्डे भन्छन्, “अझ दिर्घरोगी त घरबाट बाहिरै ननिस्किनु ।”

तसर्थ, नेपालको प्रमुख समस्या वायु प्रदूषणबाट जोगिन हरेक नागरिक आफैँ सचेत हुन जरुरी छ । गत वर्ष मानव ३ महिना कोभिडको चपेटामा परि घरभित्र थन्किँदा वायु खुलेको थियो । पशुपन्छी मजैले संसार घुमेका थिए । तर मानिस बाहिर निस्किएको केही महिनामै स्वतन्त्र पशुपन्छी प्रदूषणले कुना घुस्रेका छन् । नयाँ पालुवा पलाएको बुट्यानमा बसेर चिरबिर चिरबिर गर्ने चराहरूको सङ्ख्या ह्वात्तै घटेको छ । तर हामी भने वायु प्रदूषणमा पनि राजनीति घुसाएर आवेशमा आएका छौँ । नेतालाई सराप्दै मुखमा खाएको पराग प्याच्च भुइँमा थुक्ने हाम्रो चलन छ । हामी प्रकृतिको सुन्दरता रमाउँछौँ तर बचाउका लागि केहि गर्दैनौँ । त्यसले त वातावरणविद् भूपेन्द्रनाथ शर्मा पनि भन्छन्, “प्रकृतिलाई हामीले माया नगर्नाले आज त्यस्को दण्ड भोक्दैँ छौँ । अझै हामी सुध्रिएनौँ र प्रदूषणलाई ख्याल गरेनौँ भने हाम्रा सन्ततिले झनै दुःख भोग्ने छन् ।