धनगढी। नेकपा (एमाले) प्रवेश गरेका सुदूरपश्चिम प्रदेश सभाका सदस्य झपटबहादुर बोहोरालाई नेकपा (माओवादी केन्द्र) ले बुधबार स्पष्टीकरण सोधेको छ ।

अछाम निर्वाचन क्षेत्र नम्बर १ (ख)बाट माओवादीका तर्फबाट निर्वाचित बोहोरालाई माओवादीले २४ घण्टे स्पष्टीकरण सोधेको हो । माओवादीका सुदूरपश्चिम प्रदेश कमिटी सचिव नेपबहादुर चौधरीले माओवादीको केन्द्रीय सल्लाहकार सदस्य रहेको बेला प्रदेश सभामा निर्वाचित भए पनि एमाले प्रवेश गरेको भन्दै दल त्यागसम्बन्धी कानुनअनुसार कारबाही किन नगर्ने ? भन्दै स्पष्टीकरण सोधेका हुन् ।

‘राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३१ को उपदफा १ र २ बमोजिम कार्य गर्नुभएको तथा उक्त ऐनको दफा ३२ को उपदफा १ (ख) बमोजिमको कार्यसमेत गरेको बुझिन आएकोले तपाईंले पार्टी परित्याग गर्नुभएको हो भने तपाईंलाई किन पार्टी सदस्यबाट निष्काशन नगर्ने ?’ बोहोरालाई सोधेको स्पष्टीकरणमा लेखिएको छ।