म्यानमार । सुन्दरी प्रतियोगता (ब्युटी प्याजेन्ट) का प्रतियोगी (सुुन्दरी)हरूले दिएको भाषण खासै समाचारको हेडलाइन बन्दैन । तर, गत हप्ता म्यानमारकी सुन्दरी हान ले ले दिएको भाषणको भिडियो क्लिप सामाजिक सञ्जालदेखि मिडियाको ध्यान खिच्न सफल भएको छ ।

हानले आफ्नो देश (म्यानमार) का सेनाले गरेको कथित अत्याचारविरुद्ध बोलेको उक्त भाषणले सबैको ध्यानमात्रै तानेन भावुक पनि बनाएको छ ।

सेतो कोट र ग्रे रंगको पहिरनमा सजिएकी ती सुन्दरी आफ्नो भाषण यसरी सुरु गर्छिन्, “म आज यो मञ्चमा उभिन पाएकोमा निकै खुसी छु । म आज मेरा प्यारा देशवासीहरूले भोगिरहेको दुःखको आवाज बन्दै छु…।” थाइल्यान्डमा भएको ‘मिस ग्रान्ड इन्टरनेशनल २०२०’ मा उनले यस्तो भावुक भाषण गरेकी हुन् ।

भाषणमार्फत उनले अहिलेसम्म म्यानमारमा हजारबढी निर्दोषको ज्यान गएको भन्दै अन्य देशलाई सहयोगको गर्न अपिल पनि गरेकी छिन् । “आज मेरो देश म्यानमारमा हजारभन्दा धेरै मारिएका छन् । म लगायत आज म्यानमारका हरेक नागरिक सडकमा आएर प्रजातन्त्रको माग गरिहेका छौं । कृपया म्यानमारलाई सहयोग गरिदिनुहोला । हामीलाई चाँडोभन्दा चाँडो तपाईंहरूको (अन्तर्राष्ट्रिय) सहयोगको खाँचो छ ।” २२ वर्षीय हान म्यानमारका अन्य युवतिहरूसँग केही महिनाअघि सेनाको विरोधमा सडकमा थिइन् ।

गत वर्षको नोभेम्बर ८ मा भएको चुनावमा आङ सान सुकीको पार्टीले स्पष्ट बहुमत ल्याएपछि म्यानमारको सेना असन्तुष्ट बनेको थियो । चुनावमा धाँधली भएको दाबी गरेको सेनाले फेरि चुुनाव हुनुपर्ने माग गरेको थियो । तर विभिन्न अध्ययनले चुनावमा सेनाले भनेजस्तो धाँधली नभएको निष्कर्ष निकालेका थिए । त्यसपछि सेनाले गत फेब्रुअरी १ मा प्रजातन्त्र पक्षधर नेताहरूलाई हिरासतमा राखेर सत्ता कब्जा गरेको थियो ।

त्यसपछि सुरु भएको सेनाविरुद्धको प्रदर्शनले हिंसात्मक रूप लिएको छ । आफ्नो विरोधमा उत्रनेहरूमाथि सेनाले गोली प्रहार गर्न थालेको छ । जसका कारण दैनिक जनधनको क्षति भइरहेको छ । यतिसम्मकी सेनाले हानेकाके पानीको फोहोराका कारण एक सात वर्षीय बालिकाको समेत मृत्यु भएको थियो । सेभ द चिल्ड्रेनको विवरणअनुसार म्यानमारमा हालसम्म ४३ जना बालबालिकाको सेनाका कारण मृत्यु भइसकेको छ ।

जनताको आवाज बन्ने पत्रकारहरूसमेत हिरासतमा थुनिएको अवस्थामा सुन्दरी प्रतियोगिताको अन्तर्राष्ट्रिय प्लेटफर्ममार्फत हानले आफ्नो देशका नागरिकको दुःख विश्वसमक्ष पुर्‍याइन् । यति भनिरहँदा उनी आफ्नो यही दुई मिनेटको भाषणले म्यानमारको सेनाको निशानामा पर्ने डरमा पनि छिन् । त्यसैकारण उनी आफ्नो देश नफर्की तीन महिना थाइल्याण्डमा नै बस्ने निधो गरेकी छिन् ।

भाषण दिएपछि बीबीसीसँग फोनमा कुरा गर्दै उनले आफ्नो परिवार र आफ्नो सुरक्षालाई लिएर आफू चिन्तित बनेको बताएकी छन् । “मैले म्यानमारको वर्तमान अवस्था र सेनाको बारेमा धेरै बोलेँ, त्यसैले म मेरो र परिवारको सुरक्षाको विषयमा चिन्तित छु । सबैलाई थाहा भएकै कुरा हो कि म्यानमारमा वाक स्वतन्त्रतामा अंकुश लगाइएको छ ।”

उनको डर निराधार पनि छैन । गत हप्ता मात्रै सेनाको कार्यमा वाधा पुर्‍याएको भन्दै १८ जना सामाजिक सञ्जालका प्रयोगकर्तालाई पक्राउ परेका थिए । हानले आफूलाई अहिलेसम्म सेनाको तर्फबाट कुनै आधिकारित विज्ञप्ति नआएपनि सामाजिक सञ्जालमा धम्कीपूर्ण प्रतिक्रियाहरू आइरहेका छन् ।