चितवनको ठिमुरा र तनहुँको देवघाट गाउँपालिका–५, घिनटार जोड्ने त्रिशूली नदीमा निर्माणाधीन पक्की पुल मंगलबार बिहान भत्कियो। निर्माणाधीन पुल भत्किएको यो पहिलो घटना भने होइन। यसअघि १ वैशाख २०७६ मा गुल्मीको मुसीकोट नगरपालिका ३ र ७ जोड्ने बढीघाट खोलामा निर्माणधीन पुल ढलान गरेको दुई दिनमै भत्किएको थियो। १९ जेठ २०७६ मा मेचीनगर नगरपालिका–१२ को हँडिया खोलामा निर्माणाधीन पक्की पुल ढलान गर्दागर्दै भत्किएको थियो। यी केही उदाहरण मात्र हुन्।

मुलुकमा बनिरहेका पुलमध्ये प्रत्येक वर्ष करिब एक दर्जन निर्माणाधीन अवस्थामै भत्किएको अभिलेख छ। पुल भत्केपछि सरकारले समिति बनाएर प्रतिवेदन तयार पार्छ। तर दोषीलाई कारवाही गर्दैन। यसको मुख्य कारण हो– कमिसन भागबण्डा। सरकारी कर्मचारी, नेता–कार्यकर्ता र ठेकेदारबीचको त्रिपक्षीय मिलेमतोमा भौतिक पूर्वाधार निर्माणमा हुने अनियमितता र कमिसनले पुल भत्किने घटना दोहोरिइरहेका हुन्।

निर्माणाधीन पुल भत्कनुमा अनेकौं कारण छन्। काममा लापरवाही, घटेर ठेक्का लिने प्रवृत्ति र सरकारी कर्मचारीलाई कमिसन बुझाउनु पर्दा गुणस्तर घटाएर काम गर्ने प्रवृत्ति, डिजाइनका त्रुटि लगायतले संरचनाहरू कुनै निर्माणकै चरणमा र कुनै निर्माण सकिएको केही समयमै भत्किने गरेका हुन्।

पुल निर्माणको जिम्मेवारी पाएको विकासे अड्डा सडक विभागको अध्ययनले भने ठेकेदार कम्पनीको लापरवाहीलाई भत्किने प्रमुख कारण देखाउने गरेका छन्। निर्माणाधीन पुल बारम्बार भत्किनुमा ठेक्का सम्झौतादेखि कमिसनसम्मका अनेकौं खेल जिम्मेवार रहेको विभागका एक पूर्वइन्जिनियर बताउँछन्। ‘ठेकेदार कम्पनीले पुलको अनुमानित लागतभन्दा २०–३० प्रतिशत घटेर ठेक्का सकार्छन्,’ उनले मंगलबार नागरिकसँग भने, ‘त्यसमाथि सरकारी कर्मचारीलाई कम्तीमा १० प्रतिशत कमिसन (सरकारी कर्मचारीको भाषामा पिसी) दिनुपर्ने हुन्छ। अनि कसरी काम गुणस्तरीय हुन्छ ?’

पूर्वसचिव भीमप्रसाद उपाध्यायले पनि पुल भत्कनुमा धेरै कारण रहेको हुन सक्ने बताए। अधिकांश निर्माणाधीन पुल स्काफोल्डिङ (फर्मा) को इन्जिनियरिङ डिजाइनको कमजोरीले भत्किने उनी बताउँछन्। ‘के कारणले पुल भत्कियो भनेर अध्ययन नगरेसम्म थाहा पाउँन सकिँदैन। तर अधिकांश निर्माणाधीन पुल ठेकेदार कम्पनीको लापरवाही, डिजाइनमा त्रुटि, कमसल निर्माण सामग्री लगायत कारणले भत्किने गर्छन्,’ उनले भने, ‘ठेकेदार कम्पनीले १०–२० हजार खर्च गरेर क्युरिङ ९नियमित ढलानमा पानी राख्ने काम० नगर्दासमेत करौडौं रूपैयाँको क्षति हुने गर्छ।’

नागरिक दैनिक