काठमाडौ। नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य तोलामा एक हजार रुपैँयाले बढेको छ ।

हिजो प्रतितोलामा ८८ हजारमा कारोबार भएको सुनको मुल्य आज तोलामा एक हजारले बढेर ८९ हजारमा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

आज तेजावी सुनको मुल्य प्रतितोला ८८ हजार ५५० रुपैंया रहेको छ ।

यस्तै,चाँदीको मुल्य पनि तोलामा १५ रुपैंयाले बढेर प्रतितोला १२ सय ६० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।

यो पनि पढ्नुहोस् :

एन्टिजेन परीक्षणमा सरकारको जोड, कतिको प्रभावकारी ?

कोरोना भाइरसको महामारी विश्वव्यापी रूपमै फेरि बल्झिँदै गएको छ। अमेरिका र युरोपजस्ता अति प्रभावित क्षेत्र मात्र होइन, छिमेकी मुलुक भारतमै पनि कोरोना भाइरस संक्रमणको दोस्रो लहर तीब्रगतिमा फैलिँदैछ । यसरी छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमण दिनदिनै बढेपछि नेपालमा फेरि पनि भाइरसको जोखिम बढेको छ।

कोरोना महामारीको दोस्रो लहर भयावह बनिरहेको भारतबाट स्वदेश फर्किने नेपालीको संख्या बढ्दा संक्रमणको जोखिम उच्च भएको छ। खुला सीमाका कारण निर्बाध आवतजावत भइरहँदा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ। भारतबाट रोजगारी गरेर फर्किएका व्यक्तिमा दैनिक कोरोना संक्रमण पुष्टि हुन थालेको छ। केही दिनयता नेपालमा पनि कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गईरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल दैनिकजसो संक्रमित संख्या १ सय ५० माथि थपिने गरेका छन्।

यसैलाई मध्यनजर गर्दै कोरोना भाइरसको महामारी फेरी बढ्न सक्ने भन्दै सरकारले काठमाडौं उपत्यका छिर्नका लागि एन्टिजेन परिक्षण अनिवार्य गरिसकेको छ। सोमबार काठमाडौँ जिल्ला कोभिड-१९ नियन्त्रण तथा रोकथाम समितिको बैठकले उपत्यका प्रवेश गर्नेलाई एन्टिजेन परिक्षण अनिवार्य गरेको हो । बैठकले काठमाडौँ भित्रने प्रत्येक नाकामा अबदेखि कोभिड-१९ को एन्टिजेन परीक्षणको लागि डेस्क राख्ने निर्णय गरेको हो।

तर सरकारले काठमाडौं भित्रन एन्टिजेन परिक्षण अनिवार्य गर्ने निर्णयले धेरैमा यो एन्टिजेन परिक्षण के हो ? एन्टिजेन परीक्षण कसरी गरिन्छ ? यो भरपर्दो छ/छैन ? एन्टिजेन परीक्षण गरेकाले पिसीआर परीक्षण गर्नु पर्छ कि पर्दैन ? उपत्यकाबाट बहिरिनेको हकमा कस्तो व्यवस्था गरिएको छ ? भन्ने प्रश्नहरु उठेका छन् ।

यहि प्रश्नहरुको जवाफ जनस्वास्थ्यविद् डा. रविन्द्र पाण्डेबाट :

के हो एन्टिजेन परीक्षण ?

पोहोर साल कोरोना महामारी सुरु हुँदा जुन र्‍यपिड टेस्ट गरिएको थियो अहिले गरिने भनेको एन्टिजेन परीक्षण पनि र्‍यपिड टेस्ट नै हो तर यसमा के फरक छ भने एन्टिबडी टेस्टमा संक्रमण भएर एन्टिबडी बनेको छ वा छैन भन्ने देखाउँछ भने एन्टिजेन परीक्षणमा संक्रमण भएको छ कि छैन भनेर देखाउँछ। एन्टिजेन परीक्षण सजिलो छ। यसको १० मिनेटमै नतिजा आउँछ। यस परीक्षणका लागि पिसिआर टेस्टमा जस्तै नेजोफ्यारेन्जियल स्वाब र ओरोफ्यारेन्जियल स्वाबलाई नमुनाको रुपमा संकलन गरिन्छ। तर पिसिआर र एन्टिजेन टेस्टको भिन्नता चाहिँ के छ भने पिसिआर विधिमा कोरोना भाइरसको आनुवंशिक तत्व (आरएनए) को उपस्थिति पत्ता लगाइन्छ भने एन्टिजेन टेस्टमा चाहिँ कोरोना भाइरसको प्रोटिनको टुक्राको पहिचान गरिन्छ। सामान्य स्वास्थ्यकर्मीले पनि सजिलै एन्टिजेन परीक्षण गर्न सक्छन्। तर यसले सहि नतिजा भने नदेखाउँन पनि सक्छ। एन्टिजेन किट को गुणस्तर कस्तो छ यसको नतिजा त्यसमा भर पर्छ। नाकामा एन्टिजेन परीक्षण गर्दा जसको नतिजा पोजेटिभ आउँछ उहाँहरुले पिसिआर टेस्ट गर्ने, जसलाई केहि लक्षण देखिएको छ तर एन्टिजेन नतिजा चै नेगेटिभ देखिएको छ भने उहाँहरुलाई क्वारेन्टिनमा राखेर पुन: पिसिआर टेस्ट गर्ने र जसको लक्षण पनि देखिएको छैन र एन्टिजेन नतिजा पनि नेगेटिभ आएको छ भने उहाँहरुलाई आफ्नो गन्तव्यमा पठाउन मिल्छ।

अहिले भारतमा जुन कोरोनाको डबल म्युटेन्ट भेरियन्ट फैलिएको छ त्यो ८० प्रतिशत लक्षणविहिन छ। लक्षणविहिन भएका कारणले यदि हामीले लक्षणविहिनलाई टेस्ट गरेनौं भने त्यतिकै छाडीदियौं भने संक्रमण धेरै नै फैलिने डर हुन्छ। तसर्थ भारतबाट नेपाल प्रवेश गर्ने सम्पूर्ण नाकाहरु बिशेष गरि गैर नाकाहरु, अबैध नाकाहरु तथा ठुला नाकाहरुमा सुरक्षाकर्मी परिचालन तथा एन्टिजेन परिक्षण गर्न जरुरि छ। यति गर्न सकिएको खण्डमा केहि हद सम्म संक्रमित पत्ता लगाउँन सकिन्छ।

एन्टिजेन परीक्षण कसरी गरिन्छ ?

एन्टिजेन परीक्षण कोरोना भाइरस संक्रमण तीव्र चरणको बेला माथिल्लो श्वासप्रश्वास प्रणालीमा रहेका भाइरल प्रोटिन (एन्टिजेन) पत्ता लगाउन गरिन्छ। त्यसैले यो परीक्षण गर्दा पिसिआर परीक्षणमा गरेजस्तै नेजोफ्यारेन्जियल स्वाब अथवा ओरोफ्यारेन्जियल स्वाब नमुनाको रूपमा प्रयोग गरिन्छ। संकलन गरिएका स्वाबलाई एक तरल पदार्थमा डुबाइ नमुनाबाट भाइरसको टुक्राहरु रिलिज गरिन्छ अनि उक्त तरल पदार्थको एक थोपा टेस्ट किटमा राखिन्छ । यदि नमुनामा भाइरल एन्टिजेन छ भने यसले टेस्ट किटमा भएको एन्टिबडीसँग रियाक्सन गर्छ र एन्टिजेन-एन्टिबडी कमप्लेक्स बन्छ। यस्ता एन्टिबडीलाई विशेष रूपले परिमार्जन गरी यसको रङ आँखाले देख्न सक्ने बनाइएको हुन्छ। उक्त एन्टिजेन-एन्टिबडी कमप्लेक्स बगेर टेस्ट रेखासम्म पुग्छ। टेस्ट रेखामा अर्को एन्टिबडीहरु राखिएको हुन्छ जसले एन्टिजेन-एन्टिबडी कमप्लेक्सलाई बाँधेर राख्छ। त्यसैले यदि नमुनामा एन्टिजेन छ भने टेस्ट लाइनमा एउटा रातो धर्का देख्न सकिन्छ र यसलाई पोजिटिभ भनिन्छ। यदि नमुनामा भाइरस छैन भने टेस्ट रेखामा कुनै पनि रङ देखिँदैन र यसलाई नेगेटिभ भनिन्छ।

कतिको प्रभावकारी छ ?

तत्कालै आवश्यक पर्दा मात्र यो परीक्षण उपयुक्त छ । यसले सीटी भ्यालू ३० भन्दा बढी भएको देखाउँदैन भनिएको छ। यद्यपि यो पनि विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिएकै परीक्षण विधि हो। तर ३० सीटी भ्यालू माथि नदेखाउने भनेको भर्खरै सङ्क्रमण भएको व्यक्तिलाई सङ्क्रमण नभएको देखाउने सम्भावना रहन्छ। त्यस्तो अवस्थामा उक्त व्यक्तिबाट अन्यलाई सङ्क्रमण सर्ने सम्भावना कायमै रहन्छ।’ त्यसै कारणले गर्दा लक्षण देखिएकाहरूको एन्टिजेन परीक्षणमा नेगेटिभ रिपोर्ट आए पनि पीसीआर गराउनु जरुरि देखिन्छ।

एन्टिजेन परीक्षणका फाइदा

पिसिआरको तुलनामा एन्टिजेन परीक्षण सस्तो छ। यसको नतिजा धेरै छिटो आउँछ। यसले १० मिनेटमै नतिजा दिन सक्छ। सामान्य तालिमको भरमा पनि स्वास्थ्यकर्मीहरुले सजिलै परीक्षण गर्न सक्छन्। यसको लागि ल्याबको आवश्यकता पर्दैन। यो परीक्षण नमुना संकलन गरेको साइट जस्तै डाक्टरको क्लिनिक, आपतकालीन कक्ष, बिरामीको वार्ड, क्वारेन्टिन सेन्टर, एयरपोर्ट अनि घरमै पनि गर्न सकिन्छ।

एन्टिजेन परीक्षणका कमजोरी

पिसिआर परीक्षणको तुलनामा एन्टिजेन परीक्षणको संवेदनशीलता कम हुन्छ। किनभने भाइरल कल्चर अथवा पिसिआरमा जस्तै भाइरस अथवा आरएनएको amplification एन्टिजेन परीक्षणमा गरिँदैन। त्यसैले स्वाब नमुनामा एन्टिजेन मात्रा कम हुँदा यस परीक्षणले गलत नतिजा दिने गर्छ। तसर्थ यसलाई उपयोग त गर्न सकिछ तर यसको नाजिजालाई अन्तिम निष्कर्ष भने मान्न सकिदैन यसका लागि भने पिसिआर नै गर्नुपर्छ। यदि कसैलाई लक्षण देखिएको छ र एन्टिजेन परीक्षण नेगेटिभ आएको खण्डमा पनि पिसिआर परीक्षण जरुरि हुन्छ। संक्रमणको सुरुवाती अवस्थामा यसले सहि नतिजा नदिन पनि सक्छ।

व्यावसायिक उपलब्धता

हाल एन्टिजेन परीक्षणका किटहरु सजिलै उपलब्ध छ किनभने हालसम्म करिब ३० वटा जति कम्पनीहरूले यसलाई बजारमा व्यावसायीकरण गरिसकेका छन्। तर महामारीको दोस्रो लहर धेरै छिट्टो फैलिरहेको छ त्यो हिसाबमा हेर्ने हो भने पछि फेरि किटको पनि अभाव हुने देखिन्छ। आहिले उपलब्ध भएका किटहरु पनि फरक-फरक गुणस्तरका छन्। सस्तोमा पाइने किटहरुले राम्रो काम गर्दैन।

आजको मितिसम्म आइपुग्दा मात्र २ वटा उत्पादनलाई (BD Veritor System for Rapid Detection of SARS-CoV-2 र Sofia SARS Antigen FIA) अमेरिकाको एफडिएले आपतकालीन प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ। तर अरु धेरै उत्पादनहरु युरोपमा मान्ने हुने CE-IVD स्वीकृत गरिएको छ। जापानले टोकियोमा आधारित Fujirebio Inc’s antigen test kit प्रयोगलाई स्वीकृत गरेको छ भने हालसालै इन्डियाको CMR ले दक्षिण कोरियाली कम्पनी (SD Biosensor) लाई प्रयोगको लागि मान्यता दिएको छ। तसर्थ WHO को मान्यता प्राप्त एन्टिजेन परीक्षणका किटहरुको प्रयोग भरपर्दो मान्न सकिन्छ।

उपत्यकाबाट बहिरिनेको हकमा के छ व्यवस्था ?

उपत्यका भित्रिनेको हकमा सरकारले काठमाडौंमा कोरोना भाइरस सङ्क्रमण समुदायमा फैलिएको छ कि छैन भनेर पत्ता लगाउन तत्काल परिणाम दिने एन्टिजेन परीक्षण सुरु गरेको छ। उक्त परिक्षण पनि सबैको लागि नभएर लक्षण देखिएका, शंका लागेका र शंकास्पद ठाउँबाट आएकाको मात्र गरिने भनेको छ। तर उपत्यकाबाट बहिरिनेको हकमा भने एन्टिजेन परीक्षण गर्ने गरिएको छैन। तर यो महामारीको बेला जसरि उपत्यककामा मानिस भित्रिदा जोखिम बढ्छ त्यसरी नै उपत्यककाबाट बाहिरिदा पनि बढ्छ। तसर्थ यो महामारी कम गर्न सकेसम्म उपत्यकाबाट बहिरिनेको पनि एन्टिजेन परीक्षण गर्नु जरुरि छ। यदि किट पर्याप्त छैन भने ठुलो जनसंख्यामा भाइरस फैलिदा धेरैमा फैलिने भएकाले जहाँ ठुलो जनसंख्या छ त्यहाँ प्रवेश गर्नेहरुको मात्रै पनि एन्टिजेन परीक्षण गर्न सकिन्छ। उपत्यकाबाट बाहिर जाने मानिसको उ आफु जाने अथवा प्रवेश गर्ने ठाउंमा उसको परीक्षण गर्ने व्यवस्था हुनुपर्छ किनभने उसलाई गाडीमा पनि सर्ने सम्भावना हुन्छ। तसर्थ नाकामा भन्दा पनि उ भित्रिने ठाउँमा उसको परीक्षण हुनुपर्छ।

काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीका अनुसार एन्टिजेन परीक्षण उपत्यका प्रवेश गर्नेलाई मात्र होइन उपत्यकाबाट बाहिरिनेहरुलाई पनि गर्ने तयारी भइरहेको छ । जीएनएन नेपालसँग कुरा गर्दै उनले भने, ‘यो उपत्यकाबाट बाहिरिनेहरुको हकमा हामी छलफलमै छौं । यसको निष्कर्ष छिट्टै आउँछ ।’