काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को ट्रेड म्यानेजमेन्ट प्रणाली (टिएमएस) मा बारम्बार समस्या देखिन थालेको छ ।

केही दिनदेखि टिएमएस राम्रोसँग नखुल्ने, खुलेपनि कारोबार गर्न समस्या हुने गरेको छ ।

प्रणालीमा आएको उक्त समस्याका कारण लगानीकर्ताहरुले आफुले चाहेअनुसारको कारोबार गर्न सकिरहेका छैनन् । एक लगानीकर्ताका अनुसार यो समस्या दैनिक देखिने गरेको छ ।

नेप्सेले भने हाल यो प्रणालीमा कुनै समस्या नभएको बताएको छ । नेप्सेका सूचना अधिकारी मुरहरी पराजुलीले अहिले टिएमएसमा त्यस्तो समस्या नभएको बताए । प्रणालीमा देखिएको यस्तो समस्याले कतै विचौलिया हावी त भएका होइनन भन्ने प्रश्नमा उनले भने, ‘त्यसो होइन । हाम्रा कुनैपनि प्रणालीमा त्यस्तो समस्या आएको खण्डमा त्यसको अनुगमन मैले नै गर्छु । समस्या आएको खण्डमा तत्काल प्राविधिकहरुलाई जानकारी गरिन्छ र समस्या तत्काल समाधान हुन्छ ।’