काठमाडौँ। प्रतिनिधि सभाको बिहीवारको बैठकको विशेष समयमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली युवा नेता एवं सांसद गगन थापाले काठमाडौंवासीलाई मेलम्चीको पानी खुवाउन ढिला भएकोमा माफी माग्नुपर्ने ठाउँमा जश लिन होडबाजी चलेको बताएका छन् ।

सांसद थापाले २०६१/०६२ मा सम्पन्न सम्पन्न गर्नुपर्ने आयोजना २३ वर्ष लगाएर सम्पन्न गरेकोमा यसबीचमा सरकारमा बसेका सबैले माफी माग्नुपर्नेमा जश लिने होडबाजी चलेको बताएका हुन् । ‘मेलम्ची आयोजना विकास समिति बनिसकेपछि पनि २३ वर्ष लाग्यो, ७/८ वर्षमा सम्पन्न गर्नुपर्ने आयोजना ढिला गरेर हामीले गल्ती गर्‍यौं, अब यस्तो गर्दैनौं भनेर प्रधानमन्त्रीले, हामीले पनि भन्नुपर्ने होइन ?,’ थापाले भने, ‘यहाँ त कहिले धारा खोलेर, कहिले बाल्टिन थापेर, कहिले उठेर, कहिले बसेर उद्घाटन गरेको छ, तमासा गरेको छ, चमत्कार भयो भनेको छ ।’ आयोजनामा ढिलाइ हुँदा मुलुकलाई अर्बौं बढी आर्थिक भार थपिएको पनि थापाले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा सबैभन्दा धेरै विकास भयो भनेर भन्ने गरेकोप्रति पनि उनले कटाक्ष गर्दै भने- ‘यति धेरै विकास निर्माणको काम त कहिल्यै भएको थिएन, यो त चमत्कार भयो भनिरहनुभएको छ । प्रधानमन्त्रीलाई चमत्कार भयो भन्ने किन लागिरहेको छ ? यसमा दुईवटा कारण हुनसक्छ,’ थापाले भने, ‘एउटा कारण, वास्तविकता के छ भन्ने प्रधानमन्त्रीलाई ज्ञान छैन, चरम अल्पज्ञान वा ढाँट्ने बानी लागेको छ, विकृत असत्य भाषण । यो दुवै कुरा राष्ट्रका निम्ति हानिकारक छ, खराब छ ।’