१६ वर्षीया प्रमिला चेपाङको तस्बिर हेरेपछि कसको आँखा नरसाउला ? गत कात्तिकसम्म ३८ केजी तौल भएकी प्रमिलाको चैतको अन्तिममा अस्थिपञ्जर मात्र बाँकी रहने गरी अस्वाभाविक रूपमा तौल घट्नु सामान्य कुरा होइन । तर अभाव, गरिबी र चेतना अभावमा उनी अहिले जीवन–मरणको दोसाँधमा छिन् ।

राजनीतिक दल तथा सरकार आआफ्नो राजनीति बचाउने रणनीतिमा लागिरहँदा सामान्य नागरिकका पीडा कसलाई सुन्ने फुर्सद छ र ? तर पनि नागरिकबिनाको मुलुक हुँदैन भन्ने कुराको हेक्का सरकारले नराख्दा यस्ता पीडादायी समाचारको कमी छैन ।

बेनीघाट रोराङ गाँउपालिका वडा नं. ४ हटुवाडाँडा घर भएकी प्रमिलाको आर्थिक अवस्था निकै कमजोर छ । उनको परिवारमा सात जना छन् । उनी काकाको घरमा बस्दै आएकी थिइन् । उनका भाइले किन अरूको घरमा बस्छेस् ? भनेपछि उनी घर आइन । केही समय उनी मामाघर पनि गइन् । मामाघर हुँदा बिरामी परेकी उनी बिस्तारै गल्दै गइन् । बिरामी अवस्थामै माघमा घर फर्केकी उनी झन्झन् गल्दै गइन् । न उपचार न पोसिलो खाना खान पाइन । उनका काका राकेश चेपाङ स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार आफूले गराएको बताउँछन् । उनको परिवार आर्थिक रूपमा निकै कमजोर रहेकाले उपचार गराउन नलागेको राकेशले बताए ।

प्रमिलाको बुबा सन्तबहादुर चेपाङ मदिरामा बढी रमाउने भएका कारण पनि प्रमिलाको स्वास्थ्य अवस्था नाजुक भएको राकेशले बताए । उनीहरूको परिवारलाई चार महिनाजति मात्र खान पुग्छ । बाँकी समय ज्याला–मजदुरी गरेर बाँच्नुपर्ने हुन्छ । लामो समयसम्म खाना र उपचार नपाएकी उनलाई बल्ल अस्पताल त लगिएको छ, तर उपचार खर्चको अर्को समस्या चेपाङ परिवारमा थपिएको छ । दुई दिनअघि प्रमिलाको अवस्थाबारे जानकारी पाएपछि तत्काल उद्धार गरेर कान्ति बाल अस्पताल पु¥याएको शान्ति नेपालकी सीता सेढाईले बताइन ।

शान्ति नेपाल पोषण सुधारको क्षेत्रमा काम गर्ने संस्था भएकाले उद्धार गरेर उपचार गराउन अस्पताल पु¥याएका हो । खासगरी पाँच वर्षमुनिका बालबालिका र आमाहरूको पोषण सुधारमा काम गर्ने भए पनि प्रमिलाको अवस्था देखेर उद्धार गरेको सेढाईले बताइन् ।
पानी निल्न नसक्ने अवस्थामा कान्ति बाल अस्पताल पु¥याएकी प्रमिला अंगुर, जुस खान थालेको शान्ति नेपालकी गोमा पण्डित बताउँछिन् । डाक्टरहरूले प्रमिलाको अवस्था सुधार आउने बताएका छन् । तर उनको उपचार गराउन सरकारी सुविधाले मात्र पुग्ने अवस्था छैन ।

प्रमिला पूर्ववत अवस्थामा फर्कन अस्पतालको उपचारपश्चात् पनि निकै लामो समय लाग्ने अनुमान गरिएको छ । प्रमिलाका काका राकेश अहिले उपचार खर्च कसरी जुटाउने भनेर भौंतारिरहेका छन् ।

बेनीघाट रोराङ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख शंकरबाबु दुवाडीसँग सम्पर्क गर्दा आफूले पनि शान्ति नेपालले उद्धार गरेपछि सामाजिक सञ्जालमार्फत जानकारी पाएको बताए । अहिलेको अवस्थामा पनि कुपोषणले गाँज्नु दुःखद भएको दुवाडीको भनाइ थियो ।
संविधानले खाना, छाना र उपचारलाई मौलिक अधिकारको रूपमा व्यवस्था गरे पनि राजधानी काठमाडांैसँग जोडिएको धादिङको यो अवस्था र स्थानीय सरकारको पनि यसप्रति चासो नदिनुले जनताप्रति सरकारले आफ्नो दायित्व भुलेको देखिएको छ । यसबेला त अझ तीन तहको सरकार छ, गाउँ गाउँमा सिंहदरबार छ, तर पनि नागरिकको जीवनमा कुनै परिवर्तन आएको देखिन्न । यसबाट स्वाभाविक प्रश्न उठ्छ, राजनीति केका लागि, कसका लागि ?

कारोबार दैनिक