काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको प्राथमिक सेयर (आइपिओ) बाँडफाँट भएको छ।

बिक्री प्रबन्धक मेगा क्यापिटलले आज कम्पनीको आईपीओ बाँडफाँड गरेको हो ।आईपीओमा १५ लाख ६५ हजार ५३० आवेदकबाट २ करोड २८ लाख ४९ हजार ६७० कित्ता माग भएको थियो । जसमध्ये दोहोरो आवेदनलगायत भेरिफाइ गर्दा ५ हजार ७२८ आवेदकको आवेदन रद्द भएको र १५ लाख ५९ हजार ८०२ को आवेदन योग्य भएको मेगा क्यापिटलले जनाएको छ ।

योग्य आवेदकबाट मेगा क्यापिटले धितोपत्र निष्कासन तथा बाँडफाँड नियमावलीअनुसार न्यूनतम १० कित्ता पुगेसम्म र नपुगेमा गोलाप्रथाबाट १० कित्ताको दरले बाँडफाँड गर्नुपर्ने व्यवस्थाअनुसार गोलाप्रथाबाट सर्वसाधारणलाई निष्कासन भएको २६ लाख ९७ हजार कित्ताको सेयर २ लाख ६९ हजार ७०० जनालाई समान १० कित्ताको दरले बाँडफाँड भएको छ । कुल योग्य आवेदकमध्ये १२ लाख ९५ हजार ८३० जना आवेदकको हात खाली भएको छ ।

कम्पनीले चैत ६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँको दरमा २९ लाख कित्ता आईपीओ बिक्री खुला गरेको थियो । त्यसमध्ये ५ प्रतिशत (१ लाख ५४ हजार कित्ता) सेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत (५८ हजार कित्ता) सेयर कर्मचारीका लागि बाँडफाँड गरिएको छ । बाँकी २६ लाख ९७ हजार कित्ता नागरिकका लागि बिक्री खुला गरेको थियो । २६ लाख ९७ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।