काठमाडौं । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई कारबाही गर्ने भएको छ । पार्टीले थापालाई कारवाहीको पत्र तयार गरेको स्रोतले बताएको छ ।

स्रोतका अनुसार आजै सो पत्र संसद सचिवालयमा दर्ता गराउने तयारी भएको छ । यसैगरी अर्का सांसद चन्द्रबहादुर खड्कालाई पनि कारबाहीसहित स्पष्टिकरण माग्ने तयारी माओवादीले गरेको छ ।

यसअघि माओवादी केन्द्रले केपी ओली सरकारमा रहेका चार जना प्रतिनिधिसभाका सांसदलाई पदमुक्त गरिसकेको छ ।

थप:

माओवादीका ४ सांसद पदमुक्त

नेकपा माओवादी केन्द्रका तर्फबाट कारबाहीमा परेका उद्योगमन्त्री लेखराज भट्ट, सहरी विकासमन्त्री प्रभु शाह, श्रममन्त्री गौरीशंकर चौधरी र ऊर्जामन्त्री टोपबहादुर रायमाझी बिहीबारदेखि सांसद पदबाट मुक्त भएका छन्।

माओवादीले संसद सचिवालयमा उनीहरु एमाले प्रवेश गरेका कारण उनीहरुलाई पदमुक्त गर्न पत्र पठाए बमोजिम उनीहरुको पद खोसिएको हो।

सभामुख अग्नि सापकोटाले यी चार सांसद पदमुक्त भएको जानकारी संसदमा बिहीबार गराएका हुन्।

माओवादी केन्द्रका यी चार सांसद पद मुक्त हुने सम्भावना

काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुखले माओवादी केन्द्रका चार सांसद पद मुक्त भएको जानकारी गराउने सम्भावना छ ।

नेकपा एकीकरण सर्वोच्चको फैसलाबाट भंग भई एमाले र माओवादी एकीकरणको पूर्वको अवस्थामा गएपछि एमाले तिर बसेका चार सांसदलाई पदमुक्त गर्ने निर्णय माओवादी केन्द्रले गरेको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गएको मंगलबार सांसदलाई पदमुक्त गर्ने निर्णयसहितको पत्र संसद सचिवालयमा बुझाएका थिए । प्रचण्डले संसदलाई पत्र लेखेर लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीलाई सांसद पदबाट मुक्त गर्न आग्रह गरेका हुन् ।