काठमाडौँ। निजामती कर्मचारी युनियन संघको शुक्रबार काठमाडौंमा गरिएको विधान अधिवेशन उद्घाटनका क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले देशमा देखिएको राजनीतिक संकटको प्रमुख दोषी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भएको बताएका छन्।

२०७४ को स्थानीय तह निर्वाचनमा चितवनमा रेणु दाहाललाई जिताउन तालमेल गरेका देउवाले आमनिर्वाचनपछि पनि आफूले त्यही प्रस्ताव प्रचण्डलाई राखेको बताए। ‘आमनिर्वाचनपछि मैले प्रचण्डलाई प्रधानमन्त्री बन्‍न प्रस्ताव गरेको थिएँ। तर वाम एकता भन्दै प्रचण्डजीले ओलीलाई सत्ता सुम्पिदिए। मैले पटक पटक प्रधानमन्त्री बन्‍नु भनेँ तर मानेनन्। आफैँ ओलीलाई सत्ता बुझाएर खुट्टा नटेक्नेलाई अहिले ओलीले लात हानेपछि ठीक भएको छ। वास्तविक कुरा यो नै हो।’

देउवाले नेपालको संविधान अनुसार एक चौथाइ सदस्यले कुनै विषय लिएर संसद बोलाउन माग गर्न सक्ने बताए। तर आफूसँग त्यो संख्या पनि नभएकाले समस्या भएको सुनाए। ‘ओलीलाई हटाउने सांसद संख्या अझै पनि हामीसँग पुगिसकेको छैन’, उनले भने, ‘हटाउन संख्या त पुग्नुपर्यो नि! त्यतिकै हटाऊँ हटाऊँ भनेर मात्रै हुन्छ?’

उनले कांग्रेसलाई भोटै नहालेर जनताले सानो पार्टी बनाइदिएकाले चुनावमा जाऊँ भनेको बताए। ‘दुइटा पार्टी मिले जनताले भोट हाले त हामीले के गर्नु। जनताले हराए त हामीले के गर्नु। त्यही भएर हामी जनताको घर दैलोमा जाऊँ भनेको’, उनले भने, ‘हामी कांग्रेस हौँ, धाँधली गर्दैनौँ। जनताको भोट हामीले पाउनुपर्छ। ओलीलाई हटाउने त हो तर भएन भने पनि हामी चुनावमै जानैपर्छ। चुनावबाहेक अर्को बाटो हुन सक्दैन।’

उनले कांग्रेसलाई भदौमा महाधिवेशन गर्नैपर्ने बाध्यता रहेको सुनाए। ‘हाम्रा लागि कसैले संविधान संशोधन गरिदिँदैन’, उनले भने, ‘संविधान संशोधन गर्न पनि दुईतिहाइ चाहिन्छ। अहिले त्यो अवस्था छैन। अब हामीले महाधिवेशन पनि गर्नै पर्नेछ।’