जनकपुरधाम। सप्तरी जिल्लाको शम्भुनाथ नगरपालिका वडा नम्बर ६ मा सडक दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत स८प ७३३० र स६प ५२४३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा ५२४३ नम्बरको मोटरसाइकल चालक खडक नगरपालिका–९ सर्पाका ३५ वर्षीय मो.अनवर अलिको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका अलिको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

उनका अनुसार मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उता, स्थानीयहरू भने नियन्त्रणमा लिइएका मोटरसाइकल चालक अर्कै व्यक्ति रहेको दाबी गरेका छन् ।

ठक्कर दिने सक्कली चालकलाई उम्काउनको लागि नक्कली चाकललाई इलाका प्रहरी कार्यालय कल्याणपुरमा हाजिर गराइएको उनीहरूको भनाई छ । मधेशलाइभसँग कुरा गर्दै एक स्थानीयले भने चालक हेरफेर गर्न डेढ लाख रुपैयाँको चलखेल भएको छ ।

सो दुर्घटनामा मृतकका बच्चाहरू पनि घाइते भएर उपचारार्थ आइसियुमा छन् । यद्यपि, सो विषयमा प्रहरीसँग जानकारी छैन । प्रहरी नायव उपरीक्षक काफ्लेले भने–‘अन्य घाइतेहरू भए हामी रिपोर्ट पठाउँछौँ । तर रकम लेनदेनको कुरा छैन । उनले त्यसो भएको पाइए संलग्नलाई कारबाही गर्ने बताए ।