विश्वका विभिन्न मुलुकहरुमा कोरोना भाइरसको दोस्रो र तेस्रो लहरहरु चलिरहेको बेला छिमेकी देश भारतमा भने कोरोनाको दोस्रो लहर देखिसकेको छ।

हाम्रो देश नेपालमा पनि कोरोनाको दोस्रो लहर देख्न नसकिएला भन्न सक्ने स्थिति छैन। छिमेकी मुलुकहरुमा नै कोरोनाको दोस्रो लहरले उग्र छलाङ मारिरहेको बेला नेपालमा पनि त्यस्तो स्थिति नआउला भन्न सकिंदैन।

हामी भन्दा पनि विकसित मुलुकहरुले कोरोना रोक्न सकेका छैनन् भने अझ हाम्रो जस्तो देशमा कोरोनाको दोस्रो र तेस्रो लहर चल्यो भने हालत के होला भन्ने कल्पना समेत गर्न सकिँदैन।

छिमेकी मुलुकबाट हामीले केही सिकेर अहिलेबाट नै सचेत हुन जरुरी छ । ताकि हामीले भविष्यमा पछुताउनु नपरोस।अहिलेको स्थितिलाई मध्यनजर गर्ने हो भने नेपालले दोस्रो र तेस्रो लहरको कोरोनाको लागि केही पनि तयारी नगरेको देखिन्छ। येस्तै रहिरहने हो भने अबको एकदुई महिनामै नेपालमा कोरोनाको बिगबिगी बढ्ने देखिन्छ।

नेपाल सरकारले अहिले एउटा सूचना निकालेको छ तर त्यसको कार्यान्वयन भने पटक्कै भएको देखिदैन। त्यही एउटा सूचनाको भरमा नेपाल सरकार ढुक्क छ कि कोरोनाको दोस्रो र तेस्रो लहर नेपालमा देखिने छैन। नेपाल सरकार कोरोना फैलिंदैन भन्दै ढुक्कका साथ पन्छिन खोजिरहेको छ।

नेपाल सरकारले अब पनि केहि गृहकार्य नगरी चुपचाप बस्यो भने नेपालको अवस्था स्पेन, इटाली, अमेरिका जस्तो बन्न केहीबेर पनि लाग्ने छैन। समय छदैं कोरोनाबाट हुनसक्ने नोक्सानीबाट कसरी बच्न सकिन्छ भन्ने उपायहरू खोज्न सक्नुपर्छ, कार्यविधि बनाउनुपर्छ र त्यसको पालना पनि गराउन सक्नुपर्छ।

कोरोना भाइरसले हाम्रो समाजका आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा विविध नकरात्मक प्रभाव पार्ने निश्चित छ। केही प्रभाव भइसकेका छन्। त्यसैले कोरोनाको रोकथाम र यसले हाम्रो सामाजिक, आर्थिक र सांस्कृतिक जीवनमा पार्ने प्रभावलाई न्यूनीकरण गर्न हाम्रा सबै सार्वजनिक संस्थाहरु, निजी क्षेत्र, तिनमा कार्यरत कर्मचारी र सबै सचेत नागरिकहरुले आ–आफ्नो सामाजिक उत्तरदायित्व गम्भीरतापूर्वक पालना गर्नुपर्ने देखिन्छ।

युवायुवतिहरुले कोरोना भाइरसलाई अलि बढी नजरअन्दाज गरेजस्तो देखिन्छ। तर युवाले यस्तै बेफिक्री चाल देखाउने हो भने कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सार्न मुख्य संवाहक बन्ने जोखिम यही समूहमा उच्च देखिन्छ। दक्षिणी नाका छेउछाउ बस्ने जनसंख्या यसको उच्च जोखिममा देखिएको छ। त्यतातिर पनि हाम्रो पर्याप्त ध्यान नगएको हो कि ?

हामीले चीन र इटालीकै दृटान्तलाई लिने हो भने पनि चीनमा कोरोना भाइरस प्रभावित क्षेत्रका जनताले लकडाउनलाई आफ्नो सामाजिक उत्तरदायित्वका रुपमा लिँदै त्यसलाई निर्ममतापूर्वक पालना गरे भने इटालीका कोरोना भाइरस प्रभावित क्षेत्रका जनताले गैरजिम्मेवार हुँदै पर्याप्त सावधानी अपनाउनतिर लागेनन्।

त्यसैले चीनमा यो नियन्त्रणमा आयो भने इटाली यसको चरम चपेटामा पर्‍यो। त्यसैले यो संकटको घडीमा हामीले जिम्मेवारपूर्ण सामाजिक व्यवहार देखाउने कि नदेखाउने भन्ने कुराले नै हाम्रो भावी दिशा र दशा दर्साउने निश्चित छ।

त्यसैले समय छदै भइपरी (भविष्यमा) आउने समस्यासँग जुध्न तयार भएर बसौ । समय छँदै समस्याको बाटो नखोजे पछि नेपालको हालत पनि स्पेन, ईटाली र अमेरिका जस्तो नहोला भन्न सकिँदैन। त्यसैले आजैबाट भइ परिआउने समस्याको समाधान खोज्न तिर लागौ।

अन्ततस् भिडभाडमा नजाउ, माक्स लगाउँ, साबुन पानी वा सेनिटाइजर को प्रयोग गरौ ,बिना कुनै काम घरबाहिर ननिस्कौ। कोरोनाबाट आफु बचौ अरुलाई बचाऔ।

लेखक : बाल गोपाल देवकोटा
जुम्ला घर भएका देवकोटा एभरेस्ट इन्जिनियरिङ्ग कलेज सानेपा, ललितपुरका ब्याचलर इन सिभिल इन्जिनियरिङ्ग तेस्रो वर्षमा अध्यनरत विद्यार्थी हुन् । उनले साहित्यिक र समसामयिक बिषयमा कलम चलाउन रूचाउँछन्।