काठमाडौँ । भारतमा कोरोनाको सङ्क्रमण लगातार बढ्नाले त्यहाँको अवस्था नाजुक बन्दै गएको छ । भारतमा हालसम्म १३ करोड भन्दा बढी कोरोना भ्याक्सिन लगाएको बाबजुद पनि दैनिक साढे दुई देखी तीन लाखको हाराहारीमा सङ्क्रमितको सङ्ख्या थपिदै  गएको छ । भारतमा कोरोनाले थामिने नाम दिनु त परै जाओस् हरेक दिन नयाँ रेकर्ड कायम राख्दै गएको छ । 

भारतीय स्वास्थ्य मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा मात्रै  दुई लाख ९५ हजार भन्दा बढीमा कोरोना सङ्क्रमण देखिएको छ । भने २ हजार बढीको मृत्यु भएको छ । यससंगै भारतका कयौँ राज्यहरूमा लकडाउन, कर्र्फु लगाइएको छ । तर पनि भारतले कोरोना संकटको जङ्ग भने हार्ने स्थितिमा पुगेको छ । 


भारतको राजधानी दिल्लीमा अक्सिजनको कमी 

कोरोना महामारीको चपेटा यतिखेर भारतको राजधानी दिल्ली सबैभन्दा बढी परेको छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार दिल्लीमा दिल्लीका धेरै अस्पतालहरूमा अक्सिजनको ठुलो अभाव छ, जसका कारण बिरामीहरूको ज्यान गएको छ।  त्यहाँका अस्पतालहरूमा केहि घण्टाको लागी मात्रै अक्सिजन बाँकी रहेको छ । एक तर्फ अस्पतालमा बेड, आइसियु, भेन्टिलेटरको कमी हुँदै गैरहेको छ भने अर्कोतर्फ अक्सिजनको समेत कमी हुँदा त्यहाँका मुख्यमन्त्री अरविन्द केजरिवाल चिन्तामा देखिएका छन् । 

आप्रवासीहरू धमाधम घर फर्किँदै 

भारतमा कोरोनाले रोक्ने नाम नलिएपछि त्यहाँ मजदुर गर्न गएका लाखौँ एसियाली मजदुरहरू आफ्नो देश फर्किने क्रम जारी छ । विशेष गरी नेपालको भारतसँग खुला सिमाना भएको कारण त्यहाँबाट नपाल फर्किने नेपालीहरू पनि टन्नै रहेका छन् । यसरी नेपालीहरू धमाधम पिसिआर परीक्षणबिना नेपाल पस्ने समस्या पनि बढ्दै गएको छ । बाँकेको सहायक जिल्ला अधिकारी समेत रहेका  सूचना अधिकारी दिर्घराज उपाध्यायका अनुसार नेपालमा गौरिफन्टा नाका हुँदै ६ देखी आठ हजारको हाराहारीमा दैनिक भारतबाट नेपाली नागरिक आउने गरेका छन् । तर तिनीहरूलाई नाकामा पिसिआर तथा एन्टिजेन परीक्षण गर्ने व्यवस्था छैन । सूचना अधिकारी उपाध्याय भन्छन् दैनिक  २० देखी ३५ जिल्लाका हजारौँ मानिसहरू भारतबाट आउन थालेका छन्, उनीहरू सबैलाई क्वारेनटिनमा राख्ने वा परीक्षण गराउने क्षमता छैन । त्यसैले उनीहरूलाई आफ्नै जिल्लामा गएर १० दिन सम्म होम आइसोलेसनमा बस्न भनेका छौँ, उनले बताए । 

त्यस्तै देशका अन्य नाकाबाट पनि  भारतमा गएका नेपालीहरू फर्किने क्रम जारी छ । तर उनीहरूसँग नत पिसिआर गरेको रिपोर्ट हुन्छ नत घर पुगेपछि होम आइसोलेसनमै बस्छन् ।  भारतबाट यसरी आउने नागरिकहरू देशभर छरिएका हुँदा पनि अब झन् नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दिनकै वृद्धि हुने प्रक्षेपण जनस्वास्थ्यविद्हरुले गर्दै आएका छन् ।