एकजना युवा बिहानै उठ्छ । देशको पछिल्लो राजनीति कता होमिदै छ भन्दै विभिन्न पत्रपत्रिकाहरुका साइटहरु खोल्न थाल्छ । उसले ती पत्रपत्रिकाहरुका ब्यानरमा कसैका प्रेरणाका कथाहरु कहिल्यै पढ्न पाउँदैन । मूलधारका मिडियाहरुले सञ्चालन गरेका पत्रपत्रिका र अनलाइनहरुका ब्यानरमा देशको राजनीति बाहेक अरु कुरा गौण हुन्छन् । त्यस्ता बिरलै सञ्चार माध्यम होलान जसले राजनीतिलाई खासै चासो नदिएका हुन ।

वर्तमान नेपाली राजनीतिको चर्चा यतिविधि बढेको छ कि देशभरका कुनाकाप्चासम्म यसको वर्जस्व रहेको छ । चिया पसलदेखि सभा, सम्मेलनहरुमा नेपाली राजनीतिको चर्चा परिचर्चा चलिरहेको हुन्छ ।

नेपालको पछिल्लो राजनीतिले जोकोहीलाई पनि औडाहा उत्पन्न हुन्छ । क्षणभरमै परिवर्तन हुने यो राजनीतिले नेतृत्व पंक्तिलाई समेत सन्तुष्टि दिन सकेको छैन । पुष ५ यता नेपाली राजनीतिमा जति पनि दृश्यहरु देखा परेका छन् ती सबैले नेपाली जनताको मस्तिष्कमा नकारात्मक प्रभाव पारेको देखिन्छ । तर नेतृत्व पंक्ति भने जनतामाथि गरेको कुठाराघातको मूल्य चुकाउने पक्षमा छैन । बरु जसरी हुन्छ सत्ताको कुर्सी हत्याउने दाउमा नेतृत्व देखिन्छ । प्रतिनिधिसभा विघटन पछि अलग भएको नेकपाभित्रको विवाद यतिबेला नेकपा एमालेसम्म पुगेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको यो रस्साकस्सीले आम कार्यकर्ता र पार्टी पंक्तिमा निराशा पैदा भएको छ । कार्यकर्ताहरु आपसमा विभाजित भएका छन् ।

कहिले पाउला राजनीतिले निकास ?

केपी शर्मा ओली नेतृत्वको सरकारले राजनीतिको सकारात्मक सन्देश प्रवाह गर्न सकेको छैन । सरकारका गतिविधिले जनता आक्रान्त छन् । ओली सरकार जनतालाई उपभोग गर्ने रणनीतिमा अघि बढेको हुँदा देशमा राजनीतिक परिदृश्यहरुमा उत्तारचढाव आइरहेको छ । यतिबेला विशेषगरी प्रतिपक्ष दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपाली राजनीतिको निर्णायक बिन्दुमा छन् । यी दुबै पार्टीले जे चाहन्छन् राजनीति त्यतैतिर मोडिने स्थिति छ । तर दुबै पार्टीभित्र फरकफरक मत देखिएका कारण कुन आधारमा आधिकारिक निर्णय लिने भन्ने कुरा अझैं अन्योलमै छ ।

प्रधानमन्त्री ओली कांग्रेस र जसपाको समर्थन लिएर यही सरकार टिकाउने दाउमा छन् । उता माओवादी केन्द्र पनि सोही कुरालाई निरन्तरता दिएर ओली सरकार पतन गर्ने यात्रामा होमिएको छ ।

नेपाली राजनीतिमा देखिएका यी परिदृश्यहरुले तत्कालै राजनीतिले निकास पाउला भन्नेमा कसैको विश्वास छैन । सर्वसाधारणदेखि बौद्धिक वर्गसम्मले यो राजनीतिक कोर्स थप जटिल बन्ने निष्कर्ष निकालेका छन् ।

राजनीतिले निकास नपाउँदा व्यवस्था नै संकटमा देखियो : रामचन्द्र पौडेल, नेपाली कांग्रेस वरिष्ठ नेता

हाम्रो पार्टी सभापतिले मुख्य भूमिका निर्वाह गर्नुपर्ने हो । तर अहिले त्यसो हुन सकिरहेको छैन । हामीले उहाँलाई यो बदलिँदो राजनीतिक कोर्सलाई अगाडि बढाउनुहोस् भनेर खबरदारी गरिरहेका छौं । अबको राजनीतिले छिट्टै नै निकास पाउनुपर्छ । राजनीतिले निकास नपाउँदाखेरि मुलुकलाई अप्ठ्यारो भएको छ । यसले यो व्यवस्था नै संकटतिर जाँदैछ । यो राष्ट्रिय संकटको स्थितिबाट कसरी बच्ने हो भन्ने विषयमा हामी मुख्य भूमिकामा छौं । यसबाट कसरी बच्ने भन्ने विषयमा बहस जारी छ ।

गाउँका कुनाकाप्चासम्म विद्रोहको तयारी हुँदैछ : भीम उपाध्याय, नेपाल सरकारका पूर्व सचिव

देशमा सरकार हाँक्ने अभिभावक छैन । जनतालाई समस्या पर्यो भने यसको समाधान कहाँ गएर गर्ने भन्ने चिन्ता छ । देशमा सरकार नै नभएपछि जनताले आलोचना र विरोध गर्न छोडिसके । कोरोना महामारीले देशको अर्थतन्त्र धराशायी भएको छ । यस्तो अवस्थामा कुनैपनि सरकारी निकायले राम्रोसँग काम गरेको देखिदैन । यो राम्रो संकेत होइन ।

मेरो विचारमा गाउँका कुनाकाप्चासम्म विद्रोहको तयारी हुँदैछ । अहिलेको राजनीतिक व्यवस्था प्रतिगमनमा गयो । यसलाई अब अगाडि लग्न सकिँदैन । अन्तर्राष्ट्रिय दबाब बढ्न थाल्यो भने यसको अन्तिम विकल्प गाउँगाउँबाट विद्रोहको संकेत देखिन्छ । अधिकांशको मनस्थिति यो सत्ता केन्द्रित राजनीतिभन्दा विद्रोह केन्द्रित राजनीति गर्नेतिर देखिएको छ ।

विभिन्न विकटका विद्यालयहरुलाई हेर्ने हो भने त्यहाँ हालका राजनीतिक दलहरुलाई परास्त गर्नका लागि विद्यार्थी संगठनहरु विस्तार भइरहेका छन् । नेपाली राजनीतिमा उल्टिने पल्टिने चक्र घुमिरहेको छ । व्यवस्थालाई वर्तमान नेतृत्वले हाँक्न नसकेका कारण व्यवस्था नै असफल भएको छ ।