काठमाडौँ । स्वास्थ्यमन्त्री  हृदयेश त्रिपाठीले मङ्गलवार (हिजो)  भनेका थिए कोरोनाकै कारण विगतमा देश र जनताले  ठुलो क्षति व्योहोरी सकेका छन् अब सरकारले कदापि लकडाउन गर्ने  छैन । कोरोनाको दोस्रो लहर आए पनि नागरिकले चाहेमा त्यसलाई सजिलै अपदस्त गर्ने सक्ने उनको भनाई थियो । उनले स्वास्थ्य मन्त्रालयले जारी गरेका मापदण्डको पूर्ण पालना  गर्न जनतालाईआह्वान गर्दै सरकारलाई लकडाउन गर्न बाध्य नबनाउन सुझाव दिएका थिए ।
पत्रकारहरूसँगको छलफलमा स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले पनि हाम्रा लागि नौ हप्ता अर्थात् ६३ दिन ज्यादै कठिन भएको उल्लेख गरेका थिए । जसमा हामीले ३५ दिन पार गरिसकेका छौँ । सचिव अर्यालले स्वास्थ्यका मापदण्ड पूर्ण रूपमा पालना गरे  छिटै कोरोनाबाट छुटकारा पाउन सकिने जनाएका थिए । कोरोना महामारीलाई पराजित गर्ने एउटै मात्र औषधि जनस्वास्थ्यका मापदण्डको पूर्ण रूपमा पालना गर्नुपर्ने निष्कर्ष स्वास्थ्यविद्हरूको रहँदै आएको छ । तर अब जनस्वास्थ्यका मापदण्ड लाई  पालना गराउन देशलाई पुन लकडाउन नै गर्नुपर्ने स्थिति आइलागेको छ । 

देशमा हिजोभन्दा आज द्रुत गतिमा भाइरस फैलिरहेको छ । बुधवार मात्रै  ९ हजार ६ सय ४७ परीक्षण गर्दा २ हजार ३ सय ५१ जनामा कोरोना पुष्टि भएको छ । यहि गतिमा कोरोना संक्रमण हुनेको सङ्ख्यामा वृद्धि हुने हो भने नेपालसँग भएको संरचनाहरूले धान्नै नसक्ने गरी बिरामीको सङ्ख्या बढ्ने सङ्केत प्राप्त भएको समेत स्वास्थ्य मन्त्रालयले चेतावनी दिई सकेको छ । बुधवार को प्रेस ब्रिफिङमा  मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हरेक ४ दिनमा कोरोना संक्रमणदर डबल भएको उल्लेख गरेका छन् । ‘सङ्क्रमणको दर अत्यधिक बढेको बताउँदै डा. गौतमले अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन समेत सचेत गराएका छन् । 

जति धेरै पिसिआर परीक्षण उति धेरै सङ्क्रमित 

जति धेरै पिसिआर परीक्षण उति धेरै सङ्क्रमित – यो कुरा पहिलो चरणको कोभिड -१९ फैलँदा पनि चर्चामा आएको थियो । स्वास्थ्य मन्त्रालयको कोरोना संक्रमण हुनेको आकंडा हेर्दा सोही कुरा फेरि दोहोरिएको देखिन्छ । किनभने भारतमा कोरोना फैलिए लगत्तै नेपालमा पनि कोरोनाको नयाँ भेरियन्टले पाइला टेक्यो । त्यसपछि पिसिआर परीक्षण गराउनेको सङ्ख्यामा ह्वात्तै वृद्धि भयो ।  मन्त्रालयको तथ्याङ्क केलाउदा पछिल्लो एक साताको अन्तरमा मात्रै ४५.६१ प्रतिशतले संक्रमणदर बढेको छ । अर्थात् यो सातामा धेरै परीक्षण भएको थियो, त्यसैले कोरोना सङ्क्रमित हुनेको सङ्ख्यामा पनि वृद्धि भयो ।

 उदाहरणका लागी सोमबार सात हजार जनाको पीसीआर गर्दा १२ सयमा कोरोना देखियो । मङ्गलवार आठ हजार बढीमा परीक्षण गर्दा १७ सयको पोजेटिभ नतिजा आयो । त्यस्तै आज झन्डै नौ हजार हाराहारीमा परीक्षण गर्दा २३ सय बढीमा कोरोना भेटियो । यी कोरोना पोजेटिभ आउनेमध्ये अझै कयौँका कनट्याक्ट आएका व्यक्तिहरू परीक्षण गर्नबाट छुटिरहेका छन् । यसरी हेर्दा जति धेरै परीक्षण उति धेरै कोरोना सङ्क्रमित भेटिने निश्चित भएको विज्ञहरू पनि स्विकार्छन् । सरकारले परीक्षणको दायरा बढाएमा २० जना मध्ये एक जनालाई कोरोना सङ्क्रमण हुने प्रक्षेपण स्वास्थ्य विद्को छ । 

“एक जनालाई सङ्क्रमण भए त्यसको पुरै समुदाय सङ्क्रमित हुन्छ ” 

स्वास्थ्यविद् डाक्टर रवीन्द्र पाण्डे भन्छन्, यदि कुनै व्यक्तिलाई नयाँ भेरियन्टको कोरोना सङ्क्रमित हुन्छ भने त्यसको समुदाय सबै रेड जोनमा पर्छन् । कोरोनाको यो नयाँ भेरियन्ट चाँडो फैलन सक्ने हुँदा एक जनालाई कोरोना भए उसले सय भन्दा बढीमा फैलाउन सक्छ । अर्थात् डाक्टर पाण्डेको हिसाबले कोरोना भनेको एउटा चेन जस्तै हो ।

बुझ्नका लागी – यदि कुनै व्यक्तिलाई कोरोना पोजेटिभ भयो उसले दुई दिनको अन्तरालमा कम्तीमा पनि प्रत्यक्ष सय जनालाई भेटेको हुन्छ । ती सय जनाले अन्य हजारलार्ई भेटेका हुन्छन् । र अन्य हजारले  दश हजारलाई भेटेका हुन्छन् । कोरोना यसरी नै फैलने हो । र यहीबिचमा नयाँ भाइरसको पनि उत्पत्ति हुने हो । 

कोरोनाको फैलावटलाई अंकगणितिय हिसाबले जोड गर्ने हो भने यहाँ हरेक व्यक्ति सङ्क्रमण हुन सक्ने डा. पाण्डेको विश्लेषण छ । त्यसैले सरकारले कोरोना परीक्षणको दायरा जतिसक्दो धेरै बढाउन जरुरी भएको डा. पाण्डे बताउँछन् । 

समुदायमा टेस्टको  मात्रामा बढोत्तरी र कन्ट्र्याक्ट ट्रेसिङ प्रभावकारी भए अहिले देखीएको कोरोनाको आकंडा भन्दा अझ बढी सङ्क्रमित भेटिन सक्ने स्वास्थ्यविद्को भनाई छ । 

सोही कारण एक जना कोरोना पोजेटिभ भएको व्यक्तिले हजारौँ जनालाई सङ्क्रमित बनाउन सक्छ । कोरोनाका पहिलो चरणमा दक्षिण कोरियामा एक जनाले १२ सय सम्मलाई कोरोना सारेको रेकर्ड छ । त्यसैले स्वास्थ्यको मापदण्ड पालना गर्नु हाम्रै दायित्व हुन आउँछ ।