काठमाडौँ । करिब अपराह्न ३:२० बजे, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले प्रधानमन्त्री केपी ओली र माधव नेपाल मेरियट होटलको झ्यालबाट बाहिरको खुला आकाशलाई नियाल्दै गरेको तस्विर सामाजिक संजालमा पोस्टाए । उक्त तस्बिरमा भर्खरै पानी थामिएर घमाइलो बनेको राजधानीलाई  बढो रोमान्चक ढङ्गबाट ओली-नेपालले नियालिरहेका देखिन्थे ।

May be an image of one or more people, people standing, people sitting and sky
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले र माधव नेपालबिच भएको ‘वान टु वान वार्ता’मा राजधानी नियाल्दै नेताद्धय । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

नेकपा एमालेमा भुँइचालो जानै लागेको अवस्थामा यसरी पार्टीका दुई शीर्ष नेता ‘वान टु वान’ वार्तामा आएको चार महिना भन्दा बढी समयपछि हो । हिजो सुरु भएको ओली-नेपालको वार्ताको निरन्तरता आज थियो । उनीहरुबीचको यो भेटघाटपछि धेरैले अब भने एमाले एकै धारमा उभिने अड्कल काटिसकेका थिए । तर अभाग्यवश त्यसो भएन । 

वार्तापछि छुट्टाछुट्टै निस्किएका नेताद्धयहरुको उत्तर आशलाग्दो थिएन । नत उनीहरूले दिएको प्रतिक्रिया नै चित्त बुझ्दो । हिजो साँझ ओलीसंगको भेटमा मुस्कुराउँदै निस्किएका नेता नेपाल आज दिउँसोको भेटमा भने निराश देखिन्थे । उनले सञ्चारकर्मीहरू सँग छोटो प्रतिक्रिया दिदैं बोल्नुपर्ने जस्तो केहि वार्ता नभएको बताएका छन् ।

छलफलपछि नेता नेपालले छोटकरीमा जिएनएनलाई भने, ‘हिजो केहि निष्कर्षमा पुगिएला जस्तो लागेको थियो, तर आजको   संवाद  पछि कुरो झनै बिग्रियो ।’ 

यो बाहेक उनले प्रतिक्रिया दिन चाहेनन् ।  तर, प्रधानमन्त्री छलफलमा सहभागी भएका प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतीलाल दुगडले भने वार्ता सकारात्मकताकै बाटोतिर गएको बताएका छन् । 


कुरा कहाँ अड्कियो ?

ओली नेपालको यो भेटले एउटा कुरा प्रस्ट गर्छ -दुवै नेता पार्टी  फुट होइन ‘एकता’ चाहन्छन् । तर कुरा कहाँ अड्कियो त भन्ने प्रश्नमा  राजनितिक विश्लेषक भन्छन्, ‘नेपाल पार्टीलाई जेठ २ गतेको अवस्थामा फर्काउन चाहन्छन् जुन ओलीलाई गर्न मन छैन ।’ किनभने जेठ २ को अवस्थामा फर्कदा ओली अल्पमतमा पर्छन् भने माओवादी छोडेर एमाले आएका राम कुमार थापा, बादल, मणी थापा, टोपबहादुर रायमाझीलगायतका नेतालाई उनले छाड्न पर्ने हुन्छ । 

माधव नेपालले आफूपक्षिय नेताहरूलाई हिजो भएको भेटको ब्रिफिङ गर्दा पनि यही कुरा भनेका थिए । नेता नेपालले आफूहरू जेठ २ मा फर्किएपछि मात्रै ओलीसँग मिल्न सक्ने क्लु ओली पक्षलाई दिएका थिए । 

त्यस्तै, ओलीइतरका एक नेता भने वार्तामा नेपाल समूहलाई बिना सर्त एकता कायम राख्न प्रस्ताव गरेको बताउँछन्  । ती नेताले नेपाललाई प्रचण्डको बोली बोलेको आरोप लगाउँदै भने, ‘आपतमा साथ दिने सांसद (माओवादी नेताहरु)  लाई छोडेर हिजो दुख दिने आफ्नाहरुसंग फर्किन सकिन्न । उहाँहरु चुप लागेर आउनु हुन्छ भने स्वागत गर्छौ ।’ 

तसर्थ, हिजो र आज गरि वरिष्ठ  नेताद्धय ओली नेपालबिच करिब साढे तीन घण्टा वार्ता गरेपनि अर्थहीन देखीएको छ ।  हिजोको वार्तामा केहि आस भएपनि  आजको यो बैठकले उक्त नेताहरूबिचको सम्बन्ध झनै बिग्रिएको देखिन्छ । यसोमा अबको एमाले पार्टीको राजनीति कुन धारमा जाला प्रधानमन्त्री ओलीको कदमले तय होला ।