भारतमा इस्ट इन्डिया कम्पनी र त्यसपछि अंग्रेज सरकारले सोझै शासन गर्दा नेपालले आफ्नो भूमि जोगाउन कैयन् पटक अनेकन् यत्न गर्नुपरेको इतिहास छ। आफ्नो साम्राज्य विस्तारको होडमा रहेका अंग्रेजहरू जसरी हुन्छ हिमालको काखमा रहेको नेपाली भूमि हडप्न चाहन्थे। आधुनिक सञ्चार व्यवस्थाको परिकल्पना पनि नभएको त्यस समयमा नेपालको सूचना आदानप्रदानको आफ्नै शैली थियो। काठमाडौँ खाल्डोमा रहेका शासकहरूले देशका दूरदराजबाट पाएका सूचनाको भरमा आफ्नो शासन व्यवस्थालाई चुस्त पार्थे। नेपालको पूर्वी सिमानमा अंग्रेजहरूले बढाएको सैन्य चहलपहलका खबर समेटेर काठमाडौँमा रहेका तत्कालीन मुख्तियार जनरल भीमसेन थापा र उनका सहायक काजी रणध्वज थापालाई लेखिएको १ सय ९५ वर्ष पुरानो हस्तलिखित पत्र नेपालले फेला पारेको छ। उक्त पत्र इस्ट इन्डिया कम्पनीको राजधानी कोलकातामा खटाइएका नेपाली दूत चन्द्रशेखर उपाध्यायले लेखेका हुन्।

चन्द्रशेखर तिनै व्यक्ति हुन्, जो विसं १८७२ मा सुगौली सन्धि हुँदा नेपालका तर्फबाट प्रतिनिधिका रूपमा खटिएका थिए।चन्द्रशेखरले आफ्नो पत्रमा भीमसेन थापा र रणध्वज थापामा संस्कृत भाषामा प्रशस्ति लगाई आशीर्वाद दिई पत्रको पेटबोली सुरु गरेका छन्। विसं १८७५ वैशाख कृष्ण द्वादशीका दिन लेखिएको उक्त पत्रमा चन्द्रशेखरले धेरै कुरा खुलाएका छन्। उनले पत्रमा लेख्न नमिल्ने कुराचाहिँ कोलकाताबाट नेपालमा पठाइने मालसामानको साथमा जाने मानिसको हातमा पठाएको कुरा उल्लेख गरेका छन्। पहिलो पत्र विसं १८७५ वैशाख कृष्ण नवमी बुधबार लेखेको र तेस्रो दिन अर्थात् विसं १८७५ वैशाख कृष्ण द्वादशी शनिबारका दिन उनले थाहा पाएको नयाँ कुरा समेटेर यो पत्र लेखेको देखिन्छ। यताबाट दूतहरूले आफ्नो सरकारलाई बारम्बार पत्र पठाउँथे भन्ने पनि थाहा पाइन्छ।सुगौली सन्धिपछि पूर्वपट्टि नेपालको पूर्वी सिमाना कायम भएको मेचीभन्दा पूर्वको अंग्रेज राज्यमा भएको सैन्य गतिविधिका बारेमा उन्ले पत्रमा उल्लेख गरेका छन्- त्यताको अंग्रेजी सेनामा रहेका सिपाही डबल थपिएका छन्, ५/६ सय घोडचढी सेना पनि थपिएका छन्, त्यहाँ दुई कम्पनी फौज छ भन्ने सुनिन्छ।

अंग्रेजहरूले मित्रता गरेको जस्तो नाटक गरे पनि भित्री उद्देश्य भने त्यो ठाउँमा आफू बलियो भई नेपालसँग लड्ने नै उद्देश्य रहेको बुझिन्छ। यसमा यहाँहरूले पनि विचार गर्नुभएकै होला। अझ बढी विचार गर्नुहुनेछ।यस पत्रबाट इस्ट इन्डिया कम्पनीको सेनामा भर्ना भएका नेपालीका बारेमा पनि केही कुरा थाहा पाउन सकिन्छ। विसं १८७१/७२ मा भएको नेपाल-अंग्रेज युद्धमा नेपालीको रणकौशल देखेका अंग्रेजले उक्त लडाइँ नथामिँदै नेपालीलाई आफ्नो सेनामा भर्ना गर्न सुरु गरसिकेका थिए। ‘यहाँबाट चार/चार जना र पाँच/पाँच जना सिपाहीलाई घर पठाउने बहाना गरी पछि फर्कंदा आठ/आठ जना दस/दस जना ल्याउने’ कुरा गरेको पत्रमा लेखिएको छ। यो तथ्यले अंग्रेजले नेपाली युवालाई आफ्नो सेनामा भर्ती गर्न कस्तो चातुर्य गरेका थिए भनेर बुझ्न सकिन्छ।नेपाली शासकहरूले अंग्रेजले आफ्नो सेनामा नेपालीलाई भर्ती गर्न खोज्दा प्रत्यक्ष विरोध गर्न नसके पनि भित्री तवरबाट नेपाली अंग्रेज सेनामा भर्ती हुन नजाऊन भन्ने इच्छा राखेको कुरा प्रस्ट छ।

‘अंग्रेजको नेपालप्रति राम्रो भावना छैन र आवश्यक होसियारी गर्नुभएकै होला। अझ पनि गर्नुहुनेछ’ भनेर पत्र टुंग्याइएको छ। त्यस बेलाका नेपाली दूतहरू आफ्नो राष्ट्र रक्षाका लागि कति तत्पर थिए र मूल शासकहरूलाई कसरी सुसूचित गररिहन्थे भन्ने तथ्यको बलियो प्रमाण पनि हो, यो पत्र।

श्री दुर्गा सहायस्वस्ति
श्रीसर्वोपमायोग्यशौय्यौदाय्यदयानदाक्षिण्यादिसकलसद्गुणगणालंकृतस्तूय—मानकीर्त्तिराजभारसमर्थश्रीश्रीश्रीजनरलभिमसेनथापामहाशयेषु तथा श्रीश्रीश्रीकाजिरणध्वज—थापायोग्यतमेषु इतः शुभेच्छु चंद्र्रशेखर उपाध्यायको शुभाशीर्वादपूर्वकं पत्रं. कृपाले ञाहां कुशल छ तांहांको कुशल मंगल सर्वदा चाहियें आगे ञाहांको समाचार भलो छं उप्रान्त आजकाल ञाहां पाया सुन्याका हाल्सूरतको विस्तार सबै वैशाषवदि ९ बुधवारका दिन डाकमा हालि रवाना गर्‍याका चिठिमा लेष्याको छ पुगि विदित होलां डाकका चिठिमा लेष्न असजिला १।२ कुरा मालसित जान्या मानिस्हात पठायाका चिठिमा लेष्याका छन् भनि बिन्ति गरी पठायाको हों सो कुरा आजकाल मेचिपूर्वका किरात पाहाडतिर पनि इन्को लस्कर फाट्फूट् गरी गैकन जामन लागीरहेछं हालुक्वाडिमा पनि अघिभन्दा आजकाल सिपाहि दोबर ज्र्यादा थपियां तुरुक्सवार पनि अघि रह्याका थियेनन् आजकाल ५।६ सय गैरहृयाछन् नेपाल्वालासित फेर बिग्रला कि भन्न्या कुरा आजकाल् ञाहां कोहि मानिस् बोल्छन् इनहरुको ढब्देष्ता जाहर्दारी भन्या दोस्तिको ढब् पान्र्या जिगरी इरादा भन्या जस् पाठले भयो तांहां अप्नु पयर बलियो गरी जाम्न्या पाठ गर्‍या जस्तो बूझिन्छ तांहां रहन्याका साथमा २ कंपनी छ भन्न्या कुरा सुनिन्छन् . इन्ले तेति राष्न पायापछि वांहांवाट ४।४।५।५ सिपाहिलाइ घर पठाउन्या बाहानाले ढुंरा नलि षालिपठाउन्या उनै एताबाट जांदा १०।१०।८।८ आदमि भै ढुंरासमेत लिजान्या या अरु बाहना प्रकारले पनि मानिस ढुंरा प्रभृति सब कुराले वांहा आप्नु जमाव दिन्पर्दिन् भारी हुन्या पाठ गर्नन् सो इन्को फ्रेब वांहाका आदमीलाइ थाह रहैनं इन्ले टेक्याको छोड्दैनन् भन्न्या कुरा पनि ञाहां बोल्छन् आप्ना चित्तमा पनि इन्को स्वभाव देषि सुनि चित्तमा शंका हुंनाले सुन्याको बिन्ति लेष्याको हों गन्र्या कुराको होशियारी तपाईहंरुले गर्नै भयाको होलां अझ पनि गर्नै हुन्याछ ज्यादा किमधिकमिति

वैशाषवदि १२ रोज ६ मुकाम कलकत्ता संवत् १८७५ शुभम्