काठमाडौँ । पछिल्लो समय कोरोनाको महामारीका कारण देशमा भयावह स्थिति सिर्जना हुँदै छ । दिन प्रतिदिन कोरोना सङ्क्रमित हुनेको सङ्ख्यामा वृद्धि भैरहेको छ । आज शनिवार मात्रै पनि २६ सय बढीमा कोरोना देखिएको तथ्याङ्क सार्वजनिक भएको छ । भने हिजो र अस्ति लगातार २३ सय र २४ सयकै हाराहारीमा कोरोना सङ्क्रमित हुने व्यक्ति थपिएका थिए । कोरोनाको पहिलो लहरमा ज्येष्ठ नागरिकमा बढी सङ्क्रमण पुष्टि भएको थियो । तर यस लहरमा भने बालबालिका र युवामा बढी पोजेटिभ देखिएको छ । जसका कारण जनस्वास्थ्यविदहरु पनि चिन्तामा छन् । एकातर्फ देशमा कोरोना नियन्त्रण बाहिर गैरहेको छ भने अर्कोतर्फ मानिसहरूले सरकारले तोकेको मापदण्डसहित स्वास्थ्यका मापदण्डहरू समेत पालना गरेका छैनन् । जसका कारण अबको केहि हप्तामै सङ्क्रमित हुनेहरूको सङ्ख्या चरम उत्कर्षमा पुग्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका क्लिनिकल रिसर्च युनिटका प्रमुख डाक्टर शेरबहादुर पुन बताउँछन् । डाक्टर पुन कोरोनाको यो दोस्रो लहर खेलाँची नभई सुरुको ट्रेलर मात्रै भएको व्याख्या गर्छन् । सतर्कता कहिबाट पनि अपनाइएन भने कोरोना सोचेभन्दा उचाइमा पुग्ने उनको ठहर छ ।

डाक्टर पुन मात्र यस्ता जनस्वास्थ्यविद् हुन् । जसले महिनौँ अघि देखी नै बारम्बार देशमा कोरोनाको नयाँ भेरियन्ट फैलने चेतावनी दिएका थिए । हाल पनि उनि कोरोनाको बढ्दो जोखिमलाई सरकार र जनता दुवैलाई सजग रहन आग्रह गर्दछन् । तीनै डाक्टर पुनसंग कोरोना भाइरसलाई लिएर सबैको मनमा उब्जने प्रश्नलाई लिएर गरिएको अन्तरवार्ताको सम्पादित अंश यस्तो छ ।

कोभिड-१९ को गत वर्षको पहिलो लहर र यस वर्षको दोस्रो लहरमा कुन बढी खतरनाक छ ?

कोरोनाको पहिलो लहर लगभग मत्थर भएको हो । तर पनि जोखिम भने घटेको थिएन । बिचमा ७०/८० जनालाई दैनिक कोरोना देखिन्थ्यो । उनीहरूलाई समुदायबाट कोरोना सर्ने गर्दथ्यो । यो भन्दै गर्दा भारतमा अत्यधिक मात्र कोरोना बढ्दै गयो । त्यहाँबाट आउने मानिसहरू पनि बढ्न थाले र कोरोना पनि बढ्न थाल्यो । तर तत्काल पहिले र अहिलेको अवस्थालाई तुलना गर्न नमिल्ला । यद्यपि पहिलो लहरमा जुन उत्कर्षमा पुगेको अवस्था (भेन्टिलेटर अभाव, आइसियु कमी, बेड कमी) थियो , त्यो अहिले पहिलो चरणमै देखिन थालेको छ । मैले भन्दै आएको हो अबको सङ्केत राम्रो छैन ।

अस्पतालमा आएर जाँच नगर्ने तर परामर्श भने लिने थुप्रै मानिसहरू छन् । यसले घरघरमा कोरोना पुगिसकेको तर अस्पताल आउन नचाहने व्यक्तिहरू पनि टन्नै भएको सङ्केत गर्छ ।

कोरोना संक्रमणदर उत्कर्षमा पुग्छ भन्नुको मतलब ?

उत्कर्ष भन्नाले कोरोना हुनेहरूको सङ्ख्या अनियन्त्रित हुनु हो । सम्भवतः केहि हप्तामै त्यस्तो देखिएला । स्वास्थ्य मन्त्रालयले असार मसान्तसम्म तीन लाख सङ्क्रमित पुग्छ भनेर प्रक्षेपण समेत गरेको छ । यदि बेलैमा स्वास्थ्यका मापदण्डहरू पालना गरिएन भने त्यो भन्दा बढी पनि सङ्क्रमित हुन सक्लान् । अर्कोतर्फ परीक्षण गराउन नआउने तर कोरोना पोजेटिभ हुनेको आँकडा पनि उत्तिकै छ ।

नेपालमा भारतबाटै कोरोना भित्रिएको हो त र ?

कोरोनाको नयाँ भेरियन्ट भारतबाट मात्रै आएर फैलिएको होइन । राजधानीमा पहिले देखी नै थियो । अहिले झन् बढेको हो ।

दुई ओटा कुरा छ यसमा । पहिलो भारतमा नेपाली कामदार प्रशस्त छन् । आवतजावतमा पनि केहि रोकावट छैन । त्यहाँबाट भाइरस नेपाल प्रवेश गर्दै आएको सत्य हो । तर अहिले चाहिँ राजधानीमै कोरोना छ । किन भन्दाखेरि केहि समय अघि निकै थोरै मानिसमा कोरोना देखिन्थ्यो । भ्याक्सिन आउने कुराले मानिसहरूले सामाजिक दुरी देखी मास्क समेत लाउन छोडिसकेका थिए । जसले गर्दा कोरोना हराउन पाएको थिएन । त्यसमाथि भारतबाट पनि कोरोना आएर थोपरिदा डबल, ट्रिपल म्युटेसन भयो । त्यसैले एउटा भारतबाट आउने छाललाई रोक्नुपर्ने छ । भने अर्को मानिसहरू आफैँ सजग हुन जरुरी छ ।

नेपालमै उत्पत्ति भएको कोरोना भाइरस छ त र?

युके, बाज्रिल, भारतमा कोरोनाको भेरियन्टहरु उत्पत्ति हुने क्रम जारी छ । त्यहाँ उत्पत्ति हुन सक्छ भने नेपालमा पनि कोरोना उत्परिवर्तन भैरहेको होला । कोरोना त्यो देशमा उत्परिवर्तन हुन्छ जहाँ अत्यधिक यसको प्रचारित हुन्छ । त्यसैले नेपालमा पनि नहुनि भन्नी छैन । सायद आगामी दिनहरूमा खोज गर्दा फरक किसिमका नेपाली भेरियन्ट भेटिन सक्ला ।

उसो भए नेपाली भेरियन्टको खोजी कसले गर्ने त ?

भाइरसको खोज प्रयोगशालासँग सम्बन्धित छ । यसको लागी महँगा उपकरण चाहिन्छ । त्यसलाई चलाउने, अनुसन्धान गर्ने जनशक्ति चाहिन्छ । जुन हामीसंग छैन ।

त्यो कुरालाई थाती राख्दै पहिले ज्येष्ठ नागरिक बढी सङ्क्रमित हुन्थे उहाँहरूको छुट्टै लक्षण थिए । अबको केस त्यस्तो छैन । बालबालिका र युवामा सङ्क्रमण ज्यादा देखिएको छ । त्यसो हुँदा कोरोनाको लक्षणहरू परिवर्तन भएका छन् कि छैनन् ?

पहिलो कुरा अहिलेको भाइरसले उमेर समूह परिवर्तन गर्‍यो । अहिले बालबालिका सङ्क्रमित मात्रै नभई अस्पताल भर्ना हुने समेत सङ्कट आएको छ । टेकुकै आकडां हेर्ने हो भने पनि दैनिक ३० देखी ५० सम्म युवा भर्ना भएका छन् । त्यसले गर्दा हामीसंग भएको अनुभव मात्र पर्याप्त नहुँदो रहेछ । अहिले उमेर समूह परिवर्तन भएको हुँदा हामी डाक्टर आफैँ के गर्ने भनेर दोधारमा छौँ । मैले २० वर्षको अवधिमा यस्तो खालको अबस्था देखेको थिइन । मेरो मात्रै होइन ।

कोरोनाको यो म्यून्टेट वैज्ञानिकहरूकै टाउको दुखाई बनेको छ । के गर्छ गर्छ रु बल्ल (बल्ल भ्याक्सिन बनाएर विश्वले लाउन मात्रै लागेको थियो अर्को भेरियन्ट आइदियो । यही औषधि भन्ने खासै छैन । एउटा उमेर समूहका लागी भ्याक्सिन बनायो अर्को उमेर समूह तिर सर्छ । यो अस्थिर भाइरस हो । जसलाई अनुमान गर्न पनि सयौँ पल्ट सोच्नुपर्ने हुन्छ । यसका वावजुत ठुला सङ्क्रमितलाई उपचार गर्न डाक्टरहरू केहि हदसम्म सक्षम छन् । तर यो भाइरस बालबालिकामा बढी देखियो । जसको तयारी हामीसंग छैन । विशेष गरी नेपालमा बालबालिकाको अस्पताल उसै त कम छन् । बाल चिकित्सक पनि कम्ती नै छन् । अन्य ट्रेन जनशक्ति पनि न्यून छन् । महत्त्वपूर्ण कुरा भनेको बालबालिकालाई भ्याक्सिन नै छैन । यो नेपालको लागी मात्रै होइन विश्वकै लागी चुनौतीको विषय हो । सङ्क्रमित बालबालिकाको सन्दर्भमा हामीले जिरो बाट नै सोच्नु पर्ने हुन्छ ।

लक्षणका सालमा बालबालिकालाई सामान्यतया वान्ता, ज्वरो, सास फेर्न गाह्रो हुने लक्षण देखा पर्दछ । तर पनि यकिनका साथ भन्न सकिदैंन । एकै पटक डेढ दुई महिनासम्म देखिने लक्षणहरू पनि छन् । अहिले देशमा कोरोनाको कारण मृत्यु हुने बालबालिकाको दर पनि बढी रहेको छ । त्यस्तो हुनुको कारण भनेको अस्पताल ढिलो पुग्नु, विशेषज्ञ तथा उपकरण पर्याप्त नहुनु हो ।

खासमा कोरोना डेथ ट्रेन्ड के हो र? कोरोना लागेको व्यक्तिका मृत्यु हुने चरणहरू केके हुन् र?

स्वास्थ्य मन्त्रालयले पनि भनेको छ – यदि कोही गम्भीर सङ्क्रमित भएको व्यक्ति अस्पताल ढिलो गरी पुग्छ र जनरल बेडमा भर्ना हुन्छ । त्यसपछि उसलाई अक्सिजन आवश्यक पर्छ । त्यसले काम गरेन भने आइसियुमा राख्न पर्दछ । र अन्तिममा कुनै पनि उपायबाट सुधार नभए भेन्टिलेटरमा लगिन्छ । भेन्टिलेटरमा जानु भनेको बचाउने सम्भावना ज्यादै कम हुनु हो । यसलाई कोरोनाको डेथ ट्रेन्ड भनिन्छ ।

त्यसैले पनि यस्तो गम्भीर अवस्थामा पुग्न नदिन मानिस आफैँ सचेत हुन पर्छ । अझै बालबालिकाको केसमा कुरा गर्ने हो भने यहाँ पर्याप्त जनशक्ति छैनन् । विज्ञ आफै पनि अनविज्ञ छन् । मान्छेहरू प्राय बालबालिकालाई वान्ता, डाइरिया भए गर्मी महिना छ ठिक हुन्छ भनेर बस्छन् । तर त्यति खेरसम्म समस्याहरू आइसकेको हुन्छन् ।

अनि कोरोनाको भ्याक्सिन लगाइसकेको व्यक्तिलाई चाहिँ फेरि कोरोना हुने सम्भावना छ कि नाइँ ?

त्यो सम्भावनाको कुरै छोड्नुस्, मैले कतिपय चिनेकै मानिसलाई कोरोना भएको छ । जसले भ्याक्सिन लगाएको थियो । तर भ्याक्सिन लगाइसकेका व्यक्तिहरूमा कडा भएर मृत्यु भयो भन्ने सुन्नमा आएको छैन । हालसम्म भ्याक्सिन लगाएका निकै कम मात्रै सङ्क्रमित भएका छन् । यद्यपि भ्याक्सिन लगाएका लाई सङ्क्रमण हुन सक्छ र उहाँहरू भ्याक्सिन नलगाएका ठुलो समूह (जो भ्याक्सिन लगाउन पर्खी रहनु भएको छ) त्यहाँसम्म पुर्याउने माध्यम बन्न सक्नुहुन्छ ।

हाम्रो देशमा पनि भारतकै जस्तो कोरोनाको उछाल आउला र ?

यस्तै हो भने आउँला । यसबारे हामी बेलैमा सचेत हुन जरुरी छ । रेम्डेसिविर, अक्सिजनको समस्या आउन सक्छ भनेर मैले पहिलै भनेको हो । किनभने कोरोना लागेपछिको पहिलो उपचार भनेको अक्सिजन थेरापी हो । औषधि नपाए पनि अक्सिजनबाट एकदम धेरै मानिसलाई बचाउन सकिन्छ । कोरोना थपिने क्रम यही गतिमा रह्यो भने छिट्टै चरम उत्कर्षमा पुग्छ । त्यो बेला महत्त्वपूर्ण भूमिका खेल्ने रेम्डेसिविर, अक्सिजनले हो । भारत आफैँ कोरोनाको नयाँ रेकर्ड राख्दै गएका बेला नेपालले ती औषधि पाउने सम्भावना कम हुन्छ । त्यसैले हामी अहिलै सुरक्षित हुन जरुरी छ ।

अन्तिममा लकडाउन गन पर्ला कि नपर्ला र?

यो सुभ सङ्केत होइन । हरेक तर्फबाट नागरिकले पनि आफ्ना कर्तव्य पालना गर्ने गरेमा लकडाउन गर्ने नपर्ला । तर लकडाउन पनि नचाहने अनि सामाजिक दुरी पनि कायम नगर्ने हो भने विकल्पमा लकडाउन गर्ने स्थिति आउला । तथापि एक वर्ष अघिको अनुभवले पनि लकडाउन हुने भएमा पिडा तल्लो तहका मानिसलाई हुन्छ भन्ने देखाई सकेको छ । यसमा हामी पनि परिवर्तन भएनौँ सम्बन्धित निकायका प्रयासहरू पनि फेल खायो भने लकडाउन गर्नै पर्छ ।

थप भिडिओ हेर्नुहोस् ।