‘कुन अस्पताल जाने हो म्याडम म लगीदिन्छु नि !’ उताबाट टाउको हल्लाउँदै उत्तर आउँछ, ‘जाँदैनौँ।’ चाबहिलमा भएको मेडिकेयर अस्पताल अगाडि ट्याक्सीमा ग्राहकको प्रतीक्षामा रहेका उनि हुन् -सोनम लामा । सरकारले कोरोना सङ्क्रमण रोक्न आज देखी निषेधाज्ञा जारी गरेपछि अन्य मानिस बोक्ने छुट छैन उनलाई । तर भाग्यवश बिरामी भने अस्पताल ‘टु’ अस्पताल वा घरसम्म लगिदिन सक्छन् । सोनम बारम्बार यताउति कोही बिरामी आउँछ कि भनेर हेर्छन्, कोही देखिदैंनन् । फेरी ट्याक्सी भित्रै छिर्छन् । लामो सास फेर्छन् । अनि आफैँलाई सम्झाउँछन्, ‘एक दिन सबै ठिक हुन्छ ।’

जताततै कोरोनाको भय छाएको छ । टिभी रेडियो, समाचार र हुँदाहुँदै फोनको रिङ टोनले समेत कोरोनाबाट बच्ने उपायहरूबारे झकझक्याइरहेका हुन्छन् । तर सोनमलाई ती कुरा मतलब छैन । छ त केवल शान्तिले कमाएर लालाबाला पाल्ने । उनि मात्रै होइन उनि जस्ता हजारौँ ट्याक्सी चालकको इच्छा त्यहि हो ।

आज वर्णन उनिहरुकै।

सोनमको घर काभ्रे दाप्चारोसी गाउँपालिका । ०५८ साल देखी काठमाडौँमा ट्याक्सी चलाउँदै आएका अरे । ट्याक्सी चलाउने सोझो नागरिक भनेर उनि आफूलाई चिनाउँछन् । तर राजनीतिक कुराहरू बोल्ने परो भने खरो तार्दा रहेछन् उनि ।

कति घण्टा भयो मेडिकेयर अगाडि बसेको भन्ने प्रश्नमा उनि ठट्यौली जवाफ दिन्छन्, “राजा फालिएका दिन देखी हो बैनी ।” हिसाब गरेर साध्य छैन । यसो भनिरँहदा उनि घरीघरी अस्पतालको गेट र मेडिकलमा मान्छेको आउजाउलाई तन्किँदै हेरिरहन्थे । उनको अनुहारको भाव हेर्दा लाग्थ्यो पैसा कमाउन बेचैन थिए उनि । नहोस् पनि त कसरी लोन लिएर किनेको ट्याक्सीले लोन फिर्ता गर्ने त के घर खर्च चलाउन पनि गाह्रो पार्छ । उनि भन्छन्, “यो कोरोना आएपछि यस्तो भाको हो! नभए ठिकठाक नै चलिराको थियो । यत्तिकैमा उनले पठाओ लाई रिस पोख्न पनि भ्याए भन्छन्, ‘यी पठाओ चलाउनेहरूले उसै त हाम्रो रोजीरोटी खोसेका थिए । अब झन् यो कोरोना र लकडाउन थपियो ।’

छिट्टै कोरोना जाओस् र सङ्क्रमित सबै निको होउन् भन्ने चाहाना सबैको हुन्छ । तर उनि भन्छन्, ‘यो कोरोनामा राजनीति छ । सरकारले चाह्यो भन्दैमा लकडाउन हुन्छ । नभए हुँदैन ।’ हिजो पार्टी फुटफाट , त्यत्रो आन्दोलन गर्दा चाहिँ कोरोना आएन, उनले भने ‘झन्झन् टेस्ट घटाउँदै गए कोरोना निल भैसक्यो भनेँ ।’ अब फेरि चुनाव गराउन सक्ने अवस्था नआइसकेपछि चाहिँ सङ्क्रमित हाइ लेभल पुराइदिए । आफ्नो कुर्सी त बचाउनु परो नि ।

ट्याक्सीमा घुम्दा समाचार सुन्ने उनको बानी रहेछ । त्यैबाट राजनीतिका खबर सुन्दा रहेछन् । बेलाबेला आफ्ना ग्राहकहरुसंग पनि राजनीतिका गफ छाँट्छन् रे उनि ।

तर, हामी त पीडित हो, हामीले के भन्ने रु प्रश्न गर्थे !!

“अब जिन्दगीभरको कमाइ सक्किन लागी सको । उनी सुनाउँछन्, यताउति तानतुन गरेर बैंकको लोन तिरियो यो पालि पनि त्यस्तै भयो भने हामी सिद्धिन्छौँ ।

उनको चाहना बैंकले यो लकडाउनमा लोन नलिइदियोस् बरु पछि अलि बढी तिरौँला भन्ने थियो । बैंकले तिन वर्षका लागी दिएको लोन एक वर्ष लकडाउन हुँदा चार वर्ष भइदियोस् भन्ने सोनमको इच्छा थियो । यत्ति हुँदा उनलाई राहत पनि मिल्थ्यो । तर त्यस्तो भएन उनले ट्याक्सी किन्न लिएको ऋण लकडाउन अवधिमा पनि तिर्नुपर्छ ।

०५८ साल देखी ट्याक्सी चलाउन सुरु गरे पनि बिचमा उनि साउदी गए =। दुई वर्ष पसिना बगाए अनि फेरी नेपाल फिरे । जहाँ भएपनि परिवारको जिम्मेवारी त सोनमकै काँधमा थियो । काठमाडौँको टिकाथली बस्ने उनले फेरि अँगाले ‘ट्याक्सीमा मान्छे बोक्ने’ त्यहि पुरानो काम । यसपालि चाहिँ आफैले लोन लिएर कार जस्तै देखिने ट्याक्सी किने । यसो गर्दा उनले साहुलाई दैनिक हजार बुझाउन पर्दैनथ्यो । सोचेका थिए -ट्याक्सी चलाएरै बैंकको लोन तिर्छु । परिवार पाल्छु । तर कोरोनाको आगमनले उनको सबै सोचमा पानी पोख्दियो ।

दुई छोरा र श्रीमती उनको थाप्लामा छन्। भन्छन्, आफ्नो कमाइ शून्य छ । छोरालाई अनलाइन पढाउनुपर्ने रे। मोबाइल इन्टरनेटको जोहो गर्न उत्तिकै गाह्रो । अझ त्यो भन्दा गाह्रो स्कुलको ‘फी’ तिर्न । कोठा भाडा बुझाउन – उनि अमिलो अनुहार बनाउँछन् ।

लकडाउन सुरु भएको बल्ल एक दिन पुग्दै छ । तर उनको पिडा भने एक वर्ष अघि देखीको हो । एकवर्षदेखी सोनम जताततै पैसा कमाउन दौडधुप गरिरहेछन् । छोराहरूको मिठो खाने राम्रो लाउने भनेको चित्कार र श्रीमतीसँग एक छिन आनन्दले बस्ने पाउने बेचैनी पनि उनमा छ । त्यसैले त उनि दिनरात खटिएका छन् ।

‘जिउलाई सुबिस्ता खोज्न थाल्ने हो भने त यहाँ यी सपना केहि बाँकी रहँदैन’, सोनम भन्छन् ।

कुराकानी गरिरहँदा मेडिकेयरबाट एक पुरुषसँगै बिरामी वृद्ध निक्लिए । उनीहरूलाई ट्याक्सी चाहिएको रैछ, उनले टाढैबाट थाहा पाए । भन्दै गरेको कुरा रोके र हतार-हतार हात हल्लाए । ट्याक्सी चाइया… हो । उताबाट ‘हो’ मा जवाफ आयो । अनुहार उज्यालो बनाए अनि भाडामा एक छिन किचकिच गरेर ग्राहकलाई ट्याक्सीमा बसाले ।

No description available.
ग्राहकको सामान हुल्दै सोनम

उनले ट्याक्सी स्टार्ट गरेपछि फरक्क फर्कँदै भने “यो अवस्था कहिले सकिन्छ, थाहा छैन । समय बदलियो , परिवेश बदलियो, यी हेर्नुन , (मुख बिगार्दै) तर अहँ….मेरो देश कहिल्यै बदलिने भएन ! कुरा गर्यो कुरैको दुख – पछि भेटेर कुरा गरौँला । यसो भनिरहँदा उनको अनुहार हँसिलो मुद्रामा थियो ।

सोनम त ग्राहक लिएर हुइँकिए तर नजिकैका विजय लामा भने अझै बिरामीकै प्रतीक्षामा थिए । जनतालाई दुख भयो है बैनी ? उनले आफ्ना कुरा पनि राख्न चाहेको भावमा बताए । मैले मुन्टो हल्लाउन नपाउँदै फेरी भने ‘बिहान कमाउने बेलुका खाने मान्छेलाई त गाह्रो छ नि है ?’

उनि पनि काभ्रेकै रहेछन् । भन्दै थिए, ६३ साल देखी ट्याक्सी चलाएको । तर यो वर्ष भने सुख्खा राम भयो । सोनमजस्तै पिडा विजयको पनि छ । उनि चाहन्छन्, सरकारले निषेधाज्ञा पनि व्यवस्थित तरिकाले गरिदियोस् । कम्तीमा जोर-बिजोर प्रणाली लागु गरिदियोस् । विजय भन्छन् “लकडाउन हुँदा विदेशतिर त सरकारले पाल्छ सुनेको थिए ।’ हाम्रा तिर यस्तो छ हालत – उनले अलि पर रहेको प्रहरी चेकिङ हुँदा कारबाहीमा परेका मानिसलाई देखाउँदै भने ।

आजकाल प्राय अस्पतालका एम्बुलेन्स खाली नहुने हुँदा बिरामी बोक्ने सेकेन्ड एम्बुलेन्स भनेको ट्याक्सी नै हो । एम्बुलेन्स भन्दा सस्तो र छिटो पनि पुर्याउने । तर पैसा दिने बेलामा चाहिँ ग्राहकहरुले मुख छाड्ने, ‘लुटुवा’ भन्ने गरेको विजय सुनाउँछन्, “के गर्नु सहनै पर्‍यो त्यत्ति नगरे छाक टार्ने सकिन्न ।”

कतिपयले त निषेधाज्ञापछि ट्याक्सीले ठग्ने बाटो मिलेको समेत भनेको सुनेका छन् । मलिन अनुहार बनाउँदै उनि भन्छन्, “उनीहरूलाई के थाहा हाम्रा पनि बालबच्चा हुन्छन् । हामीले पनि आकासिएको पेट्रोल देखी साहुलाई बुझाउने सम्मको रकम जम्मा गर्नुपर्छ ।” यस्ता गाली त कति खाइन्छ कति ट्याक्सी ड्राइभर भएपछि तैपनि सहनै पर्‍यो । गरिजो खानु छ । आफैँलाई सान्त्वना दिन्छन् – उनि ।

ट्याक्सीलाई सेकेन्ड एम्बुलेन्स त भन्छौँ तर कोरोना बिरामी बोक्नु पर्दा कतै आफूलाई पनि सर्ने हो कि भन्ने डर लाग्छ । फेरी घरका परिवार सोच्यो यस्ता कोरोना त सजिलै फेल खुवाइदिन्छु, विजय मुस्कुराउँछन् ।

उनलाई पनि सोनमलाई जस्तै सरकारले तेलको मूल्य बढाएपछि चित्त देखेको रहेछ । भन्छन् ‘यो सरकारले जनताको दुख कहिल्यै नबुझ्ने भयो । ट्याक्सीको मिटर नबढाएको १०/१२ वर्ष भैसक्यो । पेट्रोलको भाउ बढाउँछ, मिटर बढाउँदैन ।’

केहि सम्झेँ जस्तो गरेर उनले फेरी भने “साँच्चि यो सरकारले के नाटक गरेको ? फेसबुकमा हिजो आ.. थ्यो प्लेन चल्न दिने रे त्यसको अर्थ के हो ? हामी सोझासाझा नै चेपिनुपर्ने जहिले ? फेरी आफैँ उत्तर दिन्छन् , ” हुन त राजाकै पाला देखी यही हुँदै आ’छ !’

यो देशमा बोल्ने बाठोले जे गरेनि हुन्छ नबोल्नेले जे गरेनि हुँदैन दुख छ सोझालाई । कुराकानिमै, उनका पनि ग्राहक आउँछन्, भाग्यमानी ठहरिए उनि पैसाका लागी किचकिच गर्नुपरेन । भनेको मूल्यमा ट्याक्सीको ढोका तानेर पसिहाले ।

No description available.
ग्राहकसंग डिल गर्दै विजय । 

ग्राहक पसेपछि उनले पनि ट्याक्सी भित्र पसेर भने , “यो लकडाउनले मजस्ता कतिको घरबार उजाडिने हो कुन्नि ?”