काठमाडौं । कोरोना भाइरसको गति तिव्र बनेपछि कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले अति प्रभावित १० मुलुकबाट नेपालसँग हुने अन्तर्राष्ट्रिय उडानमा रोक लगाउन मन्त्रिपरिषद्मा सिफारिस गरेको छ ।

पर्यटनमन्त्री भानुभक्त ढकालका अनुसार अन्तराष्ट्रिय उडानका साथै आन्तरिक उडानमा पनि रोक लगाउन सरकारलाई सिफारिस गरिएको छ ।

आन्तरिक उडान ह्वात्तै घट्यो

काठमाडौं लगायतका शहरि जिल्लाहरुमा निषेधाज्ञाका कारण यातायात बन्द भएसंगै सक्नेजति मानिसहरु उडानमार्फत आफ्ना घर जाने गरेका छन् । यद्यपि विमानस्थलका अनुसार उपत्यकामा जारी निषेधाज्ञाको असर मुलुकको आन्तरिक हवाई उडानमा देखिएको छ । अघिल्ला दिनको तुलनामा विमानस्थलको आन्तरिक उडान ह्वात्तै घटेका छन् । शुक्रबार ७७ उडान भएकामा आज शनिवमरका ६५ उडान निर्धारण गरिएको छ ।

निषेधाज्ञा शुरु भएको पहिलो दिन बिहिबार विमानस्थलमा आन्तरिकतर्फ कूल २०८ उडानमार्फत आठ हजार २६९ यात्रुले हवाई यात्रा गरेका छन् । यीमध्ये काठमाडौँबाट पाँच हजार ४५३ हवाई यात्रु बाहिरिएका छन् भने दुई हजार ८१६ हवाई यात्रु काठमाडौँ भित्रिएका विमानस्थलले जनाएको छ ।