आज मे १ अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस । आजको दिन ती तमाम श्रमिकहरूको हो – जो दिनरात खटिएर पेट पाल्छन् । आजको दिन ती श्रमिकहरूको पनि हो -जो देशमा श्रम नपाएर बिदेसिन्छन् । आज घर बनाउनेदेखि देश बनाउने सम्मका श्रमिकहरूका दिन हो । तर विडम्बना घर बनाउनेहरू अहिले घर विहीन बनेका छन् । देश बनाउने होडमा लागेकाहरु दरबारमा । ट्याक्सीदेखि रिक्सा हुँइक्याउनेहरु आज भौँतारिरहेका छन् । देश हुइँक्याउन खोज्नेहरू  ऐस आराममा । 

आजको गाथा तीनै श्रमिकहरूको । 

पर्खी बसे आउँला भनी मेरो उठ्ने पालो..
मेरो उठ्ने पालो कुर्दा कुदैं जिन्दगी नै भैगएछ कालो कालो…. 

उनी लामो स्वर तानेजस्तो गर्थे । नारायण गोपालको जस्तै । त्यस्तै निकाल्न नसके पनि आफू अगाडिको खुला सडकलाई मिलिक्क हेर्थे । अनि फेरी गीतको सुरु मिलाउने धाउन्न मा हुन्थे । उनको गीतसँगै आकाशबाट काग पनि कराइरहेको हुन्थ्यो । उनी फेरि आकाशतिर फर्किन्थे अनि एक्लै बरबराउँथे “अब मैले यहाँ बसेर गीत पनि गाउन नपाउनु ?”

उनी अर्थात् मानबहादुर तामाङ । दिनभर सहरतिर रिक्सा डुलाएर साँझपख घर फर्कनु ‘नौ’ वर्षदेखिको दैनिकी थियो उनको । तर अब ठप्प । सरकारले कोरोनाको दोस्रो भेरियन्टको चेन ब्रेक गर्न राजधानी काठमाडौँलगायत अन्य सहरी क्षेत्रमा निषेधाज्ञा लगाएको आज  तीन दिन टेक्यो  । तर त्यस्तो लकडाउनको असर परेको छ -दिनमा कमाएर रातमा खानुपर्ने मान्छेलाई । 
त्यही दिउँसो कमाएर राती एक छाक मात्रै खानुपर्ने व्यक्ति हुन् । मानबहादुर । उनलाई न कोरोनाको डर छ नत सरकारले लगाएको निषेधाज्ञाको । पैसा कमाएर एक छाक खान पाए पुग्छ उनलाई । तर कोरोनाको नयाँ भेरियन्टसंगै उनका भोक बस्ने दिनहरुपनि आए निषेधाज्ञाका रूपमा । उनको भाग्य त्यही रिक्सामा अड्किएको छ । चले खान पाउने नचले भोकै । कोरोनाले मानबहादुरको भान्छा खोस्यो । अनि भाग्य पनि । 
मानबहादुर सुनाउँछन्, “पहिलेको लकडाउन हुँदा बल्लतल्ल यताउति गरेर जीवन धानियो -यसपालि त खाना बाँड्ने मान्छे पनि देख्दिन । सायद पैसा सकियो होला तिनीहरूसँग ।”  

पोहोर सालको लकडाउन हजारौँ श्रमिक भोक भोकै बस्न थालेपछि विभिन्न समूहले खुलामञ्चमा खाना बाँडेका थिए । यसपालि  रिक्सा चालकहरू खुलामञ्च र वीर अस्पतालको बिचमा बसेका छन् । जता पायो उतै जान । वीर अस्पतालबाट ग्राहक  ओर्लिए, त्यतै समात्न । खुलामञ्चमा खाना बाँडे उतै समात्न । यही अवस्था छ राजधानीका अधिकांश रिक्सा चालकको । ‘तर के गर्ने कसैलाई मतलब छैन,  मानबहादुर ठुस्स अनुहार पार्दै सुनाउँछन्, ‘यही रिक्सा चलाएर पेट पालेको नौ वर्ष भइसक्यो, खै अझै पेट भरिएन ।’ 

रिक्सा चालकहरूलाई अरू बेला पनि राजधानीको ठमेल, दरबारमार्ग, न्युरोड, जमल लगायतका ठाउँमा मात्रै जान अधिकार छ । त्यही  पनि उनीहरूले बिहान अफिस टाइम र बेलुका जाम हुने समय डुलाउन पाउँदैनन् । झन् जाम हुन्छ भनेर ।  त्यसैले उनीहरू गल्लिगल्लि चहार्छन् । अरू सवार भन्दा रिक्सा केही महँगो पनि हुन्छ । मानबहादुरले पनि नेपाली भए सस्तो र विदेशी भए अलि मंहगो ‘फी’ लिने गरेको कुरा सुनाए ।  ‘तर अब त त्यही अवस्था पनि छैन , उनी सरकारलाई रिस पोख्छन्, ‘यो सरकारले कि हामीलाई राहत दिन पर्‍यो  कि त काम गरेर खान । कति लकडाउन गर्न सकेको होला ?’ प्रश्न गर्छन् अनि फिस्स हाँस्छन्, जवाफ चाहिँदैन उनलाई । 

अनि आज  त श्रमिकहरूको दिवस हो नि प्रश्नमा उनी हात तन्काउँदै भन्छन्, म श्रमिक होला तर , हामी  आफ्नै बलबुँतोमा काम गरिरहेछौँ । श्रमिक त यो सरकार हो । मुख बिर्गाछन् अनि लामो सुस्केरा हाल्दै भन्छन्, ‘यो सरकारलाई हामीले भोट हालेर देश बनाउने जिम्मा दियौँ । तर धरहरा र भ्यु टावर बाहेक केही बनाइदिन सकेन ।’  

अनि आज  त श्रमिकहरूको दिवस हो नि प्रश्नमा उनी हात तन्काउँदै भन्छन्, म श्रमिक होला तर , हामी  आफ्नै बलबुँतोमा काम गरिरहेछौँ । श्रमिक त यो सरकार हो । मुख बिर्गाछन् अनि लामो सुस्केरा हाल्दै भन्छन्, ‘यो सरकारलाई हामीले भोट हालेर देश बनाउने जिम्मा दियौँ । तर धरहरा र भ्यु टावर बाहेक केही बनाइदिन सकेन ।’  

धरहराको निर्माण गर्दा उनका पनि एक आफन्त भाइहरू खटिएका रहेछन् । तीनै भाइमध्ये एकको हातमा चोट लागेको रहेछ । उनी भन्छन्, ‘मेरा जस्ता कयौँका भाइले दिनरात धरहरा ठडाए । तर जस भने केपी ओलीले पाए ।’ उनी फुर्तीका साथ गर्व  मिश्रित भावमा बोल्छन्, ‘रिक्सामा हिँड्दा परैबाट धरहरा हेर्छु । अनि तल फोटो खिचिरहेका मानिसहरूलाई नियाल्छु । भाइहरूको अनुहार सम्झिन्छु खुसी लाग्छ ।’ 
उनले प्रश्न गरे, आज श्रमिक दिवस होइन ? अस्ति धरहरा उद्घाटनमा आएका मान्छे आज त्यही धरहरा बनाउने मान्छेलाई खोज्दै किन नआएका ? पत्रकारदेखि आम मानिसले सरकारले बनाएको धरहरा भन्दै डिन्डोरा पिटे । तर के कसैले धरहरा बनाउने असली जवानहरूको बारेमा सोधखोज गर्‍यो ? आफैँ उत्तर दिन्छन् अहँ… गरेन । 

मानबहादुरका ती कुरा उनका व्यक्तिगत कुण्ठा अवश्य  होलान् । तर  त्यो सत्य हो । हामी सञ्चार माध्यमले धरहरा कति वटा बने छाप्यौँ । कति पैसामा बन्यो छाप्यौँ । कसै कसैले प्रधानमन्त्री ओलीका गुणगान पनि गायौँ । तर कसैले पनि त्यति  सुन्दर बनाउने श्रमिकका बारेमा कभर गरेनौँ । ती श्रमिकहरू दिनरात खटिए । तर उद्घाटनमा बोलाइएनन् । मानबहादुरको चित्त दुखाइ यहीँनेर हो । 

मानबहादुरका ती कुरा उनका व्यक्तिगत कुण्ठा अवश्य  होलान् । तर  त्यो सत्य हो । हामी सञ्चार माध्यमले धरहरा कति वटा बने छाप्यौँ । कति पैसामा बन्यो छाप्यौँ । कसै कसैले प्रधानमन्त्री ओलीका गुणगान पनि गायौँ । तर कसैले पनि त्यति  सुन्दर बनाउने श्रमिकका बारेमा कभर गरेनौँ । ती श्रमिकहरू दिनरात खटिए । तर उद्घाटनमा बोलाइएनन् । मानबहादुरको चित्त दुखाइ यहीँनेर हो । 

कुरो मोडौँ रिक्सातिर । 

This image has an empty alt attribute; its file name is imgpsh_fullsize

प्राय रिक्सा चालकको घरै रिक्सा हो । उनीहरू रिक्सामै खान्छन् । त्यही सुत्छन् । र त्यहीँबाट पैसा कमाउँछन् । ‘मेरोचाहिँ घरमा जहान भएकाले कोठा छ, उनले सुनाए  ।  तर मैले चिनेका आदिको त रिक्सा नै संसार हो, कोठा हुँदैन ।  कोठा नखोज्नुको कारण के भन्ने प्रश्नमा उनी उत्तर दिन्छन् -यो रिक्साले कोठामा बस्ने जति कमाइदिनु पनि पर्‍यो नि ? 

कोरोनाको चेन ब्रेक गर्न सरकारले लकडाउन गरेको हो । तर रिक्सा चालकको पनि मान्छे बोक्ने यात्रामा ब्रेक लागेको छ । सँधैजसो ठमेल र जमलका गल्ली डुल्ने रिक्साको प्याडल रोकिएको छ । परिस्थिति अनुरूप ढल्न सक्ने मान्छेमा मानबहादुर आफूलाई राख्छन् । भन्छन्, ‘लकडाउन भए पनि परिस्थिति अनुसार चल्नै पर्‍यो ।’ मास्क फुकाल्दै फेरी फेहरिस्त सुनाउँछन् ” तर म यो फुङ्लो ( मास्क) भने पटक्कै लाउन सक्दिन ।”  ट्राफिकलाई देखाउन मात्रै लाएको हो । देखे भने दिनभरि राख्दिन्छन् । संक्रमणविरुद्धको लडाइमा सरकारले मास्क अनिवार्य लाउनु भनेको छ । तर उनीजस्ता कयौँ रिक्सा चालकलाई मास्क लाउन मन लाग्दैन । ‘उमेरले ६० कटिसक्यौँ । काठमाडौँमा धुलो कति निल्यौँ कति ; तर यो मास्क भन्ने चिज कहिल्यै भिरेनौँ, मानबहादुर भन्छन्, ‘कोरोना आएपछि जबरजस्ती लाउनै पर्‍यो । यत्ति गरेपछि सरकार पनि खुस ।’

यसो भनिरहँदा उनका आँखामा  कोरोना प्रति कुनै भय थिएन । ‘रोग  हामी नेपालीलाई मात्रै होइन  संसारलाई लाग्छ । घर बसे नि लाग्छ बाहिर हिँडे पनि । मर्ने मान्छे जसरी पनि मर्छ ।’ मानबहादुरको आफ्नो धारण सुनाउँछन्, ‘यस्तो कोरोनासंग डर लाग्दैन । हामीजस्ताले  डराउने भनेको भोकसँग हो, रोगसँगै होइन । उनी खुलामञ्च छेउ बसेर सरकारसँग पुकार माग्छन् ‘हे सरकार म यो कोरोनासँग डराउँदिन ! तिमी प्रति आस पनि छैन । लकडाउन खोल्देउ। तिम्रो  जयजयकार गर्छु । 

पाँच घण्टादेखि वीर अस्पतालबाट कोही बिरामी आउँछ र ओसारौँला भनेर बसेका उनी लखतरान देखिन्थेँ । घरीघरी लामो सास फेर्थे । अनि फेरि रिक्सामा एकातिर ढल्काएको जिउ अर्कोतिर ढल्काउँदै आकाश नियाल्थे । अस्ति-अस्ति ‘हाइ वे’ रोडमा कुदाउन पाइदैंन थियो । अहिले खुला छ । कुदाउन पाइन्छ  ।-तर चरो मुसो केही छैन ।  ‘उफ्! तिम्रो  लीला’ उनी सानो स्वरमा यही भनिरहेको सुनिए । 
पहिलो पटक साइकलको सिटमा बस्दा ८ /९ वर्षका थिए उनी। त्यो बेला रहरले साइकल कुदाउँथे  ।  अहिले कहरले । खुट्टा देखाउँदै उनी भन्छन्, ‘साइकलको प्याडल घुमाउँदा-घुमाउँदा यी हेर न – खुट्टै सुन्निइसक्यो । तर पनि एक छाक खान पुग्दैन । कँहि कतै खान पाए भने आदि खान्छु बाँकी रहेको बुढीलाई लग्दिन्छु । आँसु मिश्रित भावमा उनी भन्छन् ।

काठमाडौँमा कोरोनाले समातेको एक वर्ष भएको छ । त्यत्ति नै पुगेको छ – उनको परिवारले पुरै छाक नखाएको । ‘घर भाडा, तिर्दातिर्दै पैसा सकिन्छ । दिनमा ४०० देखी ५०० हुन्छ । त्यसले औषधि यताउति गर्दा इति बच्छ । त्यसमाथि फलाममा पनि कोरोना हुन्छ भन्ने थाहा पाएकाहरू रिक्सा चढ्दैनन् उनी आफ्नो दुख सुनाउँछन्, ‘पहिला त फाट्ट-फुट्ट कुइरेहरु ग्राहक हुन्थेँ अहिले त्यो पनि छैन । नेपालीहरू महँगो भयो भनेर चढ्दैनन् ।  ट्राफिकहरूले पनि नहिँड्नु भन्छन् । हामी कहाँ गएर कमाई खानु ? प्रश्न गर्छन् तर उत्तर छैन ।  

हाम्रो कुराकानी सुनेर मुस्कुराइरहेका नजिकैका काइला तामाङ पनि जोडिन आइपुग्छन् । छातावाला रिक्सामा उपरखुट्टी लाएर बसेका उनी आफ्ना कुरा राख्न रिक्सा अलि छेउ ल्याइपर्योउँछन् । अनि भन्छन् -मनि बोल्ने हो । कुरा सकिन नपाउँदै मानबहादुर बिचमै भन्छन्, ‘बोल-बोल आजै हो बोल्ने दिन । श्रमिक दिवस रे आज । उमेरले ६५ नाघेका काइला तामाङ कान सुन्दा रहेनछन् । मान बहादुरलाई दोहोर्योएर सोधे के हरे आज ?  मानबहादुरले चिच्याउँदै उनले सुन्ने गरी भने “श्रमिक दिवस।” उताबाट उत्तर केही आएन टाउको हल्लाए मात्रै । एक छिन मौनता छायो अनि काइला ढाका टोपी टक्टकाउदैं बोले “यही देशमा हुँदो रछ, अनेक थरी कहिले लकडाउन कहिले “श्रमिक दिवस ।”

ग्राहक कुर्दै उनीहरु

काइला तामाङ  ३५ वर्ष देखी राजधानीमा रिक्सा चालक रहेछन् । उनले राजधानीका गल्ली-गल्लीका मान्छे चिनेका छन् । भन्छन् ‘मैले यो ठमेलका साहुदेखी गार्डसम्म चिनेको छु तर अहिले चाहिने बेला मलाई कसैले चिनेनन् ।’ काभ्रेबाट काठमाडौँ झरेको थियो उनको परिवार । रिक्सा चलाएरै खर्च टार्छन् । अब रिक्सा पनि चलाउन नपाउने भएपछि उनी पनि मानबहादुर जस्तै दिनभर यताउति  टलिन्छन् अनि रिक्सामै सुत्छन् । ‘धन्न मेरा छोराछोरीलाई विदेशीले पढाउन लगेको छ’ उनी भन्छन्, ‘नभए मैले कहाँबाट पाल्नु यस्तो बेलामा । उनी निकै थकित देखिन्थे  । बिहानभरि च्यासलदेखी न्युरोडसम्म मान्छे पाइने आसमा डुलेका रे ।  उनको शारिरिक बल सक्यो तर ग्राहक पाउने आत्मविश्वास सकिएन । अनि आए वीर अस्पताल छेउ । ‘जेठो बाठो अस्पतालमा ग्राहक पाइन्छ कि भन्ने आस छ हिँड्दै कुरा गरेका उनले भने, ‘हेरौँ के हुन्छ ?’

रिक्साको भाडा एक मोहोर हुँदा देखी काम गर्न थालेका काइला आज बढेर तीन सय देखी आठ सय सम्म पुगिसक्दा पनि उनमा जोस उत्तिकै छ । रिक्सा चढेको भाडा मोहोर रुपैयाँ, सय हुँदै हजार पुग्न लागिसक्यो यस्तो अवस्था कहिल्यै आएको थिएन , काइला भन्छन्, ‘ यो महामारिले हाम्रा ग्राहक नै भाँडिदियो ।’ 
‘गत वर्षको लकडाउनमा पनि हिँडियो पुलिस र कुकुर भन्दा केही थिएन । रिक्सालाई धाप मार्दै काइला जन्गीन्छ्न्  ‘अहिले यही बस्ने ठाउँबाट कोरोना सर्छ भनेर कोही बस्दैनन् । गाह्रो छ । ‘


टुरिस्ट हरुचाँहि बस्दैनन् हो भन्ने जिज्ञासामा उनी थप्छन्, टुरिस्टहरू भए पो बस्नु । आएकाहरू पनि भागिसके ।’ उनको रिक्सामाथि एउटा छाता पनि राखिएको छ । पानी आउँछ । भनेर सुरक्षाका लागी पुर्वतयारी गरेका थिए उनले ।

तर… यस्तै पुर्वतयारी सरकारले गर्न सकेन ।  पोहोर साल हजारौँ जनताहरू दुख पाएर सरकारसँग गरेको चित्कार  सुनेन । कोरोना महामारीपछि यस्ता श्रमिकहरूको बिचल्लीका बारेमा सोचेन । सोच्यो त केवल सत्ता अनि ‘भ्यु टावर’ बनाउने सपना । यस्ता रिक्सा चालकहरूलाई भ्यु टावर र धरहरासँग मतलब छैन । सायद चढ्न पनि पाउँदैनन् । उनीहरू आफैँ प्रस्ट छन् कि त्यो धरहरामा उनीजस्ता चालक कमै जान्छन् । त्यो केवल सजावटको मूर्ति मात्र हो । तर अहिलेको आवश्यकता भनेको यी चालक जस्ता सयौं मजदुरहरूको बारेमा सोच्नु पर्ने हो । यिनीहरूको चित्कार सुन्नु पर्ने हो । काइला, मानबहादुर जस्ता व्यक्तिहरू  मात्रै हुन् जो आफ्नो परिश्रमले यो देशको सेवा गर्छन् । तर यो देशले उनीहरूलाई के दियो ? – लकडाउन । महँगी । र मुख्य कुरा उनीहरूले बोलेको कुरै सुनेन । मानबहादुर, काइलालाई केही चाहिँदैन ।  बस उनीहरूलाई एक छाक  खान र शान्तिसँग बाँच्न पाए पुग्छ । तर विडम्बना उनीहरूको लागी नत नगरपालिकाले केही सहयोग गरेको छ । न केन्द्रमा रहेका मन्त्रीको ध्यान पुग्न सकेको छ । 

काइला र मानबहादुर जस्ता सयौं रिक्सा चालकहरू यताउति भौंतारिरहन्छन् पेटका खातिर । तर जताततै निराशा भेट्छन् । गाउँबाट सानैमा भागेर आएका काइला भन्छन्, “आँट र आत्मबलले केही गरेर खान काठमाडौँ छिरे । बुझ्ने भएपछि राजतन्त्रको देखे  । गणतन्त्र देखे  । जनआन्दोलन देखे । अहिले प्रजातन्त्र  । लोकतन्त्र पनि देखे । लामो सुस्केरा हाल्दै उनले सुनाए, ‘तर खै सुख नपाइने भैयो नानी । हाम्रा लागी जुनै तन्त्र आए पनि एउटै हो । कसैले बुझ्दैनन् ।”
जिन्दगीभर रिक्सा भगाएका काइला जिन्दगीसँग भाग्न नसकेको दुखेसो गर्छन् । सानो स्वरमा उनी सुनिए, ‘न देशबाट भाग्न सकियो न यहाँ बसेको शासनबाट । झन् मारमा परियो ।’

उनको भनाइमा ‘हो’ मा ‘हो’ मिलाउँदै  मानबहादुर पनि भन्छन्, ‘काइला हामी बाँचौँ वा मरौँ यो देशलाई मतलब छैन । हाम्रो  पहिचान भनेको केवल रिक्सा चालक मात्रै हो ।  त्यहाँ भन्दा माथि केही छैन । यसो भनिरहँदा उनी केही खरो सुनिए । मानबहादुर रिक्सामाथि जोड गरेर थचक्क बसे अनि फेरि गुनगुनाउने सिलसिला जारी राख्दै प्रकाश सपुतको नयाँ गीत आफ्नै भाका हालेर गाए, सक्नेले गर नसक्ने प’र । …तर……. लामो लेग्रो  ताने। मतिर प्रश्नले भरिएको आँखाले पुलुक्क हेरे।   फिस्स हाँस।  अनि मनदेखि सुसाए -” मेरो पनि हैन र…? यो देश मेरो पनि हैन र ! 

उनको भनाइमा ‘हो’ मा ‘हो’ मिलाउँदै  मानबहादुर पनि भन्छन्, ‘काइला हामी बाँचौँ वा मरौँ यो देशलाई मतलब छैन । हाम्रो  पहिचान भनेको केवल रिक्सा चालक मात्रै हो ।  त्यहाँ भन्दा माथि केही छैन । यसो भनिरहँदा उनी केही खरो सुनिए । मानबहादुर रिक्सामाथि जोड गरेर थचक्क बसे अनि फेरि गुनगुनाउने सिलसिला जारी राख्दै प्रकाश सपुतको नयाँ गीत आफ्नै भाका हालेर गाए, सक्नेले गर नसक्ने प’र । …तर……. लामो लेग्रो  ताने। मतिर प्रश्नले भरिएको आँखाले पुलुक्क हेरे।   फिस्स हाँस।  अनि मनदेखि सुसाए -” मेरो पनि हैन र…? यो देश मेरो पनि हैन र ! (” मेरो पनि हैन र…?? यो देश मेरो पनि हैन र !! )