काठमाडौँ । दाङको तुलसीपुरमा पार्किङ गरिराखेको भारतीय नम्बर प्लेटको कारभित्र मृत फेला परेका तीन बालकहरूको पहिचान खुलेको छ । उनीहरू सबै तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ बरुवा गाउँका रहेका छन् । 

मृतक बालकहरू  तुलसीपुर उपमहानगरपालिका–६ गाइडर बस्ने भीमबहादुर परियारका १० वर्षीय छोरा, सन्तोष परियारका ७ वर्षीय छोरा  र किरण परियारका ७ वर्षीय छोरा  रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शवलाई परीक्षणका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा पठाइएको छ ।  वैशाख १६ गते देखी ती बालकहरू हराएको भन्दै अभिभावकले इलाका प्रहरी कार्यालय तुलसीपुरमा निवेदन दर्ता गराएका थिए । तर उनीहरू १८ गते एक कारमा मृत फेला परेपछि प्रहरीले शव निकाल्न विशेष टोली बोलाएको थियो । 

शव रहेको गाडी ३३ वर्षीय यादव गैरेको रहेको छ र उनलाई प्रहरीले पक्राउ पनि गरेको छ । तर ती बालकहरूको त्यस्तो हविगत कसले  के कारणले गर्यो  भन्ने अझै प्रहरीले पत्ता लगाउन सकेको छैन । मृतकका परिवारले भने हत्या भएको भन्दै छिटोभन्दा छिटो हत्यारा पत्ता लगाउन प्रहरीलाई आग्रह गरिरहेका छन्  ।  प्रहरीका अनुसार कार धनी यादवप्रसाद गैह्रेलाई नियन्त्रणमा लिएपछि अनुसन्धान जारी छ ।