काठमाडौं । नेपालमा आज एकैदिन ७ हजार २ सय ११ जनामा कोरोना पुष्टि भएको छ । जुन हालसम्मकै सबैभन्दा बढी हो । कोरोनाको पहिलो लहरमा समेत यत्तिका धेरै संक्रमित एकैदिन नभेटिएका स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारी बताउँछन् ।

आज १६ हजार १ सय ४७ जनाको पिसिआर गर्दा ७ हजार १ सय ३७ जना र ६२३ जनाको एन्टीजेन गर्दा ७४ जनामा कोरोना पुष्टि भएको हो। यो आंकडासंगै देशमा सक्रिय संक्रमितको सङ्ख्या ४८ हजार ७ सय ११ जना पुगेका छन् ।

सक्रिय संक्रमित बढेसंगै देशमा अस्पतालमा भर्ना हुने बिरामीको सङ्ख्या पनि बढेको तर अस्पतालहरुले धान्न नस्कने अवस्थामा पुगेको डा. अधिकारी बताउँछन् । उनि भन्छन्, ‘यति धेरै सक्रिय संक्रमित पुगेका छन्, अब पनि हामी आफैंले ख्याल गरेनौं भने जोगिन गाह्रो छ ।’ मान्छेदेखी मान्छे डराउनुपर्ने अवस्था आइसकेको डा. अधिकारी बताउँछन् ।

डा. अधिकारीका अनुसार अहिले लकडाउनमा कडाइ गर्ने भन्दा पनि मान्छे आफैं सचेत भए सरकारले हात उठाउन नपर्ने बताउँछन् ।’अस्पतालमा बेड छैन भनेर सरकारले हात उठाएको होइन’ डा. अधिकारी भन्छन्, ‘सर्बसाधारणलाई देशका अस्पतालको स्थिति बताएर सचेत हुन भनिएको हो ।’

२७ जना कोरोना संक्रमितको मृत्यु

त्यस्तै केहिदिन यतादेखी मृत्यु हुनेका संख्यामा पनि ह्वात्तै बढेको छ । गत २४ घण्टामा मात्रै देशभर २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या ३ हजार ३ सय २५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शनिबार १९ जना संक्रमितको मृत्यु भएको थियो। 

देशभर ४७७ जना आइसियु र १३१ जना संक्रमित भेन्टिलेटरमा उपचाररत

देशभर ६०८ कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

देशभर रहेका ४८ हजार ७११ सक्रिय संक्रमित मध्ये  ६०८ संक्रमितको आइसियु र भेन्टिलेटरमा उपचार भइरहेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार ४७७ जना आइसियु र १३१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

उपत्यकामा १६० जना आइसियु र ५२ जना भेन्टिलेटरमा
सबैभन्दा धेरै संक्रमित रहेको काठमाडौं उपत्यकामा अस्पताल अनुसार सशस्त्र प्रहरी बल अस्पताल, बलम्बुमा १२ जना आइसियु र ६ जना भेन्टिलेटर, वीरेन्द्र अस्पताल छाउनीमा ५ जना आइुिसयु, वीर अस्पतालमा ७ जना आइसियु र १ जना भेन्टिलेटरमा र शुक्रराज ट्रपिकल तथा सरुवा रोग  अस्पतालमा ९ जना आइसियु र ११ जना भेन्टिलेटर उपचाररत छन्।

त्यसैगरी,  त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा ३५ जना आइसियु र ७ जना भेन्टिलेटरमा, पाटन अस्पतालमा ९ जना आइसियु र ९ जना भेन्टिलेटरमा, निजामती अस्पतालमा १४ जना आइसियुमा, भक्तपुर अस्पतालमा ४ जना आइसियु र २ जना भेन्टिलेटरमा, ग्राण्डी अस्पतालमा १३ जना आयसियु र ५ जना भेन्टिलेटरमा, ह्याम्स अस्पतालमा १८ जना आइसियु र ५ जना भेन्टिलेटरमा, नेपाल मेडिसिटी अस्पतालमा २६ जना आइसियु र ६ जना भेन्टिलेटरमा र स्टार अस्पतालमा ५ जना आइसियु र १ जना भेन्टिलेटरमा उपचाररत छन्।

भोलिदेखि थप कडाइ 

काठमाडौं जिल्ला प्रशासन कार्यालयले भोलिदेखि निषेधाज्ञामा थप कडाइ गर्ने भउको छ । आइतबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बैठकले बिहान १० बजेसम्म मात्रै अत्यावश्यकका पसल खोल्न पाउने तर बेलुका खोल्न नपाउने निर्णय गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार भोलीबाट सडकमा अनावश्यक हिँडडुल गर्नेलाई तथा मास्क नलगाउनेलाई जरिवाना समेत तिराइने भएको छ ।